close

ग्राहक ‘ठगी’ प्रकरणमा एनसेलमाथि छानविन सुरु

टेकपाना टेकपाना

बैशाख ३०, २०७७ १७:२१

ग्राहक ‘ठगी’ प्रकरणमा एनसेलमाथि छानविन सुरु

काठमाडौं । ग्राहकको जानकारी बिनै दैनिक पैसा काटिरहेको विषयमा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले अनुसन्धान सुरु गरेको छ । ग्राहकलाई थाहै नदिई दैनिक ब्यालेन्स काट्दै एनसेल शिर्षकमा टेकपानामा सोमबार समाचार प्रकाशित भएसँगै नियामकले छानविन थालेको हो ।

‘ठगी’को अनुसन्धानका लागि नियामक प्राधिकरणको टोली मंगलबार एनसेल मुख्यालय भैंसेपाटी पुगेको छ । टेकपानामा प्रकाशित समाचारकै आधारमा विशेष टोली गठन गरेर अध्ययन सुरु गरिएको प्राधिकरणका निर्देशक विजयकुमार रोयले बताए ।

उनले भने, ‘टोलीले आवश्यक छानविन गरी प्रतिवेदन तयार पार्नेछ ।’ यो समाचार तयार भइरहँदा उपनिर्देशक रोजाकिरण बासुकलाको नेतृत्वमा रहेको प्राधिकरणको टोली एनसेल मुख्यालयमै रहेकाे जानकारी प्राप्त भएकाे छ ।

मंगलबारबाट एनसेलले ठगी गरेको भन्दै विभिन्न व्यक्तिबाट प्राधिकरणमा उजुरी आउने क्रम समेत सुरु भएको रोयले जानकारी दिए । उनले अरु यस्तै किसिमको समस्या परेको भए प्राधिकरणमा उजुरी दर्ता गराउन आग्रह समेत गरेका छन् ।

प्राधिकरणमा ईमेल मार्फत उजुरी दर्ता गराउन सकिन्छ । यदि दूरसञ्चार कम्पनीका विषयमा तपाईंका पनि कुनै गुनासा तथा उजुरी छन् भने यहाँ क्लिक गरी नियामक समक्ष उजुरी गर्न सक्नुहुन्छ ।

*सच्याइएकोः समाचारमा समावेश ‘प्राधिकरणको अनुसन्धान टोली छानविनका लागि एनसेल मुख्यालयमा पुगेको’ विषय त्रुटीपूर्ण रहन गएको पाइएकाले क्षमाप्रार्थी छौं । अनुसन्धान टोली प्रमुखले भर्चुअल मिटिङबाट सोधपुछको काम भएको जानकारी गराएका छन् । स.

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१