close

विद्यार्थीका लागि एनसेलले ल्यायो मोबाइल क्लास डेटा प्याक

टेकपाना टेकपाना

बैशाख ३१, २०७७ २०:५१

विद्यार्थीका लागि एनसेलले ल्यायो मोबाइल क्लास डेटा प्याक

काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले विद्यार्थीहरुका लागि मोबाइल क्लास डेटा प्याक सार्वजनिक गरेको छ । कम्पनीले लुककै जेठो विश्वविद्यालयको रुपमा रहेको त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा यस्तो डेटा प्याक ल्याएको हो ।

कम्पनीले लकडाउनका कारण घरमै बसिरहेका विद्यार्थीको अनलाइन शिक्षाका लागि आवश्यक इन्टरनेट सेवालाई ध्यानमा राख्दै बुधबारबाट १६ जीबीको प्याक सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत विद्यार्थीले १९१.५४ रुपैयाँमा प्याक खरीद गर्न सक्नेछन् ।

मोबाइल क्लास डेटा प्याकको समय अवधि ७ दिनको रहनेछ । मोबाइल क्लास प्याक अन्तर्गत विद्यार्थीले ४ जीबी अल टाइम डेटा (थ्रिजी, फोरजी) र २ जीबी भिडियो डेटाको रुपमा उपयोग गर्न सक्नेछन् ।

विद्यार्थीले ४ जीबीको अल टाइम डेटा प्याक कुनै पनि नेटवर्कमा प्रयोग गर्न सक्नेछन् भने २ जीबी भिडियो प्याक अन्तर्गत युट्युव, आइफ्लिक्स तथा अन्य गूगल सर्भिसहरु प्रयोग गर्न सक्नेछन् ।

यो प्याकमा माइक्रोसफ्ट टिम्स प्रयोग गर्नका लागि १० जीबी डेटा छुट्याइएको छ । विद्यार्थीले माइक्रोसफ्ट टिम्स मार्फत शिक्षकसँग अनलाइन कक्षामा सहभागी हुन वा आफ्ना साथीसँग समूहमा अध्ययन गर्न सक्ने छन् ।

यो प्याक खरीद गर्न विद्यार्थीले *१७१२३*२०# डायल गर्नुपर्नेछ । अंग्रेजीको सानो अक्षरमा edu टाइप गरी १७१२३ मा एसएमएस पठाएर समेत यो प्याक सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ ।

नेपालको राष्ट्रिय विश्वद्यिालयसँगको सहकार्यमा विद्यार्थीहरुको अनलाइन अध्ययनका निम्ति यो विशेष डेटा प्याक मार्फत सहयोग गर्न पाएकोमा कम्पनीले खुशी व्यक्त गरेको छ ।

अनलाइन सिकाईका लागि तयार पारिएको यो डेटा प्याकले विद्यार्थीलाई आफ्ना शिक्षक र कक्षाका साथीभाइसँग सम्पर्कमा रहन र अनलाइनमार्फत अध्ययन गर्ने कार्यमा ठूलो योगदान पुर्‍याउने एनसेलको विश्वास छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१