close

फाइभजीले कसरी काम गर्छ ?

टेकपाना टेकपाना

जेठ १, २०७७ ९:११

फाइभजीले कसरी काम गर्छ ?

काठमाडौं । हाम्रा लागि फाइभजी प्रतिक्षाकै विषय हो । ढिलो चाँडो हामी पनि फाइभजी युगमा प्रवेश गर्दै छौं । भविष्यमा आउने उपकरणहरु पनि फाइभजीलाई विशेष ध्यानमा राखेर विकसित हुने निश्चित प्रायः छ ।

विभिन्न मोबाइल निर्माताहरु फाइभजीलाई ध्यानमा राखेर फोनका नयाँ मोडेलहरु निर्माणमा जुटिसकेका छन् । मूख्यतः तीन प्रकारका रेडियो सिग्नल मार्फत फाइभजी सेवा उपलब्ध गराइन्छ ।

जसमा लो, मिड र हाई गरी तीन प्रकारका फाइभजी फ्रिक्वेन्सी बाण्ड छन् । ब्याण्डअनुसारका आ– आफ्नै विशेषताहरु रहेका छन् । तीनै प्रकारका ब्याण्डमा सेवा प्रदान गर्ने उद्देश्यका साथ मोबाइल क्यारियरले काम गरिरहेका छन् ।

लो ब्याण्ड

यसमा फाइभजीले कम गति क्षमता भए पनि धेरै क्षेत्रफल ओगट्ने सामर्थ्य राख्छ । एउटा लो ब्याण्ड टावरले सयौँ स्क्यावर माइलमा ३० देखि २५० एमबीपीएस गतिको डेटा सेवा प्रदान गर्न सक्छ । विशेषगरी समग्र राष्ट्रमा सेवा प्रदान गर्ने उद्देश्यका साथ लो ब्याण्ड फाइभजीको प्रयोग गरिन्छ ।

यसको सहायताले विकट स्थानमा समेत तुलनात्मक रुपमा कम गतिमा भएपनि फाइभजी नेटवर्क विस्तार गर्न सकिन्छ । स्वभाविक रुपमा यसको गति हाल विद्यमान औषत फोरजी नेटवर्कको तुलनामा भने तीव्र नै हुनेछ ।

मिड ब्याण्ड

मध्यम कभरेजका साथ लो ब्याण्ड फाइभजीको तुलनामा अझ तीव्र गति प्रदान गर्ने क्षमता यसमा हुन्छ । मिड ब्याण्ड टावरले केही माइल क्षेत्रफलमा १०० देखि ९०० एमबीपीएसको गतिमा सेवा प्रदान गर्न सक्छ ।

मिड ब्याण्ड फाइभजी हाल प्रयोग हुँदै आइरहेको फोरजी झैँ देशभरका प्रमुख महानगरका प्रयोगकता लागि उपयुक्त हुन्छ । जनघनत्व अत्यधिक रहेका स्थानका केही सेवा प्रदायकले भने राष्ट्रब्यापी रुपमै मिड ब्याण्ड फाइभजी कमरेज उपलब्ध गराउने प्रयास गर्न सक्छन् ।

हाई ब्याण्ड

यो ब्याण्डमा १ देखि ३ जीबीपीएस सम्मको गति प्रदान गर्न सक्ने क्षमता हुन्छ । तर, हरेक हाई ब्याण्ड टावरले करिव १ माइल क्षेत्रफलसम्म मात्र सेवा प्रदान गर्न सक्छ ।

विशेषगरी अत्यधिक जनघनत्व भएका सहरी क्षेत्रमा रहेका सम्मेलन केन्द्र तथा रंगशालाहरुमा यो ब्याण्ड उपयुक्त मानिन्छ । विभिन्न परीक्षणहरुमा हाई ब्याण्ड गति तीन जीबीपीएससम्म पुगेको बताइएको छ ।

यो औषत फोरजी कनेक्सनको तुलनमा ८० गुणा फास्ट हो । अझ भविष्यमा हुँदै जाने विकासले यो दर अझै बढ्न सक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१