४३१ स्थानीय तहमा पुग्यो ब्रोडब्याण्ड इन्टरनेट

काठमाडौं । हालसम्म देशका ६१.४८ प्रतिशत स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट पुगेको छ । ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित परियोजनाको प्रगति विवरण बिहीबार सार्वजनिक भएको हो ।
ग्रामीण क्षेत्रमा ब्रोडब्याण्ड पहुँच विस्तार तथा अप्टिकल फाइबरको सूचना महामार्ग निर्माणका लागि नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गरेको थियो । जसअन्तर्गत सञ्चालित विभिन्न ब्रोडब्याण्ड इन्टरनेट परियोजनामा देशभरका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था आदिमा ब्रोडव्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउन थालिएको हो ।
त्यसका लागि प्राधिकरणले विभिन्न १८ वटा प्याकेजमा काम अघि बढाएको थियो । जसमध्ये ११ वटा प्याकेज अन्तर्गत ४१ जिल्लामा नेटवर्क तथा कनेक्टिभिटी जडान भई सेवा समेत सञ्चालनमा आइसकेको प्राधिकरणले जनाएको छ । साथै वटा प्याकेजमा नेटवर्क तथा कनेक्टिभिटी जडानको लागि सेवा प्रदायक छनौट कार्य सम्पन्न भएर नेटवर्क निर्माण कार्य चालु रहेको उल्लेख छ ।
विवरण | स्थानीय निकाय | वडा कार्यालय | माध्यामिक विद्यालय | स्वास्थ्य संस्था | कुल साइट |
अनुमानित साइट | ७०१ | ५९५२ | ५५९७ | ४३५१ | १६६०१ |
सम्झौता भएका साइट | ५७४ | ४८०४ | ४४८७ | ३५८१ | १३४६५ |
सम्पन्न साइट | ४३१ | ३६१२ | २९४८ | ५४६ | ९५३७ |
बाँकी साइट | २७० | २३४० | २६४९ | १८०५ | ७०६४ |
जडान सम्पन्न % | ६१.४८ | ६०.६८ | ५२.६७ | ५८.५२ | ५७.४५ |
कार्यप्रगति % | ७५.०९ | ७५.१८ | ६५.७ | ७१.१ | ७०.८३ |
प्राधिकरणका अनुसार नेटवर्क निर्माण सम्पन्न भएका परियोजनामा ब्रोडब्याण्ड इन्टरनेट सेवाको गुणस्तर र मापदण्ड तोकिए अनुसार रहे/नरहेको विषयमा परीक्षण तथा अनुगमन गर्ने कार्य भइरहेको छ ।
नियामकले उपलब्ध गराएको प्रगति विवरण अनुसार १८ वटा प्याकेजले समेटिएका कूल सात सय १ स्थानीय तहालसम्म ६१.४८ प्रतिशत अर्थात ४ सय ३१ स्थानीय तहमा इन्टरनेट जडानको काम सम्पन्न भएको छ ।
यस अवधीमा ३ हजार ६ सय १२ वडा कार्यालय, २ हजार ९ सय ४८ माध्यामिक विद्यालय, २ हजार ५ सय ६४ स्वास्थ्य संस्था गरी कुल ९ हजार ५ सय ३७ स्थानमा इन्टरनेट जोडान भएको छ । जसअनुसार परियोजनाको काम ७५.०९ प्रतिशत सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।