close

कोरोना ट्रेसिङ एप डाउनलोड: भारतमा १० करोड, नेपालको कति ?

टेकपाना टेकपाना

जेठ २, २०७७ ११:३८

कोरोना ट्रेसिङ एप डाउनलोड: भारतमा १० करोड, नेपालको कति ?

काठमाडौं । यसबेला विश्वभरका धेरैजसो मुलुक कोरोनाभाइरसको फैलावटलाई ट्रयाक गर्ने एप तयार पार्न तछा‍डमछाड गरिरहेका छन् । यसबीच भारत सरकारको एपले भने डाउनलोडमा अप्रत्याशित सफलता हाँसिल गरिरहेको छ ।  

यो एपलाई लिएर गोपनीयता सम्बन्धि चिन्ताहरु पनि व्यक्त भएका थिए । भारतको कन्ट्याक्ट ट्रयाकिङ एप आरोग्य सेतु सार्वजनिक भएको ४१ दिनमा प्रयोगकर्ताको संख्या १० करोड पुगिसकेको छ ।

नीति आयोग थिंक ट्यांकका एक प्रतिनिधिका अनुसार यी १० करोड प्रयोगकर्ताहरु वास्तविक प्रयोगकर्ताहरु नै हुन्, जसले एप डाउनलोड गर्ने मात्र होइन प्रयोग समेत गरिरहेका छन् ।

एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध यो एपबाट प्रयोगकर्ताले आफू संक्रमित भए/नभएको स्वयम् विश्लेषण गर्न सक्छन् । यसका लागि प्रयोगकर्ताहरुले एपबाट सोधिने प्रश्नहरुको जवाफ दिनुपर्ने हुन्छ ।

यदि कोही प्रयोगकर्ता संक्रमितको सम्पर्कमा पुगेको भए पनि यो एपले अलर्ट वा नोटिफिकेसन दिन्छ । यूएसएसडी सिस्टमबाट यो फिचरले फोनमा काम गरिरहेको हुन्छ ।  

यो एपले भारतमा भइरहेको परीक्षणहरुको अपडेट दिनुका साथै कोरोना महामारीबाट सुरक्षित रहने टिप्सहरु पनि दिने गर्दछ । तर गोपनीयता अधिकारकर्मी तथा सुरक्षा अनुसन्धानकर्ताहरुले यो एपमाथि चिन्ता व्यक्त गरेका छन् ।

यो एपले प्रयोगकर्ताको लोकेसन डेटा स्टोर गर्छ । प्रयोगकर्ताले यसमा साइनअप गर्दाकै बखत त्यस्ता विवरणहरु राखेका हुन्छन् । साथै यो रोगको लक्षण देखिएकाहरुको पनि यसमा सबै विस्तृत विवरणहरु राखिएका हुन्छन् ।

तर भारत सरकारले भने यसलाई एपको फिचर भन्दै गोपनीयताबारे उठेका प्रश्नहरुलाई दबाउने प्रयास गरेको छ । एप्पल र गूगल जस्ता मोबाइल कम्पनीहरुले गर्ने ट्रयाकिङ सिस्टमभन्दा आरोग्य सेतुको केन्द्रीकरणको तरिका धेरै फरक छ ।

आरोग्य सेतु ओपन सोर्स होइन । यसर्थ कुनै पनि स्वतन्त्र अनुसन्धानकर्ताले यसको कोड अडिट गरेर त्यसमा भएका कमी कमजोरीहरुलाई पत्ता लगाउन सक्दैनन् ।

भारतको विद्युत तथा सूचना प्रविधि मन्त्रालयका सचिव अजय प्रकाश सावनीका अनुसार आरोग्य सेतुमा भएको कमजोरी अरुले पत्ता लगाउन सक्ने भयकै कारण यसको सोर्स कोड त्यहाँको सरकारले सार्वजनिक नगरेको स्पष्ट हुन्छ । 

उनले भने, ‘यदि मैले यो सोर्स कोडलाई सार्वजनिक गरें भने ५० हजाराै‌ मानिसहरुले यसको आलोचना गर्न सुरु गर्नेछन् । हामी उनीहरु सबैलाई प्रतिक्रिया दिइरहन सक्दैनाैं । तर अब हामीले देशका केही शिर्ष साइबर सुरक्षा विज्ञहरुमाझ यो सोर्स कोड सार्वजनिक गर्ने छाैं ।’

यो कन्ट्याक्ट ट्रयाकिङलाई लिएर अन्य चिन्ताका विषय पनि सतहमा आएका छन् । सिंगापुरले ट्रेस टुगेदर नामक एउटा कन्ट्याक्ट ट्रयाकिङ एपमा प्रयोग गरिरहेको छ । रोग नियन्त्रणका लागि प्रयोगमा ल्याइएको यो एप लकडाउन बाध्यकारी बनाउने कार्यका लागि भने प्रयोग गरेको छ ।

तर दिल्लीमा रहेको एउटा डिजिटल अधिकार समूह इन्टरनेट फ्रिडम फाउण्डेसनका अनुसार आरोग्य सेतुले भने ट्रयाकिङ सुविधाको प्रयोग अन्य प्रयोजनका लागि समेत गर्न थालेको छ ।  उसले अन्य नियम कानूनमा नागरिक बाँधिएको छ वा छैन भन्ने कुरा पनि यो एपबाट निगरानी गरिरहेको छ ।

यसअघि प्रयोगकर्ताले स्वेच्छिक रुपमा डाउनलोड गर्न सक्ने भनिएको यो एप अहिले भारतीय रेलवे सेवामा यात्रा गर्न चाहने सबैले अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने भएको छ ।

नयाँ दिल्ली नजिकको नोयडामा स्थानीय प्रशासनले गत महिनाबाट यो एप डाउनलोड गरेको नपाइए जरिवाना तथा जेल सम्मको सजाय हुने व्यवस्था लागु भएको छ । 

नेपाल सरकारले समेत गएको २७ वैशाखदेखि कोरोना ट्रेसिङ एप प्रयोगमा ल्याएको छ । तर एप सार्वजनिक भएको एक सातामा यसको डाउनलोड भने भर्खर एक हजार पुरा भएको छ । आईओएस एप स्टोरमा भने उक्त एप अझैं उपलब्ध हुन सकिरहेको छैन ।

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१