close

साइबर आक्रमण बढेपछि कानून बनाउँदै सरकार

टेकपाना टेकपाना

जेठ २, २०७७ १६:२६

साइबर आक्रमण बढेपछि कानून बनाउँदै सरकार

काठमाडौं । सरकारले साइबर सुरक्षाका लागि आवश्यक निर्देशिका जारी गर्ने भएको छ । पछिल्लो समय नेपालमा बढ्दै गएका साइबर आक्रमणका घटनालाई मध्यनजर गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले  आवश्यक कानून जारी गर्ने भएको हो ।

कोरोनाभाइरसका कारण लकडाउन सुरु भएसँगै नेपालमा दुई वटा ठूला साइबर आक्रमणका घटना भएका छन् । जसमा इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेट प्राली र अनलाइन खाना डेलिभरी गर्ने कम्पनी फूडमाण्डुको डाटा चोरी गरी ह्याकरले सार्वजनिक गर्ने काम गरेका छन् । 

यसरी एकपछि अर्को गर्दै साइबर आक्रमणका घटना बढ्न थालेपछि प्राधिकरणले निर्देशिका जारी गर्न लागेको हो । त्यसका लागि निर्देशक विजयकुमार रोयको संयोजकत्वमा गएको २४ वैशाखमा एउटा छुट्टै कमिटी गठन गरिएको छ ।

उक्त कमिटीमा इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान), टेलिकम सेवा प्रदायकका प्रतिनिधी, प्रहरी प्रधान कार्यालय साइबर ब्युरो र सूचना प्रविधि विभागका प्रतिनिधी रहेका छन् ।

रोयकाअनुसार उक्त कमिटीले साइबर सुरक्षाको विषयमा सेवा प्रदायकले अपानाउनु पर्ने मापदण्ड समेत तयार पार्नेछ ।

‘हालसम्म सेवा प्रदायक आफैले जे गरिरहेका छन्, त्यतिमात्रै छ,’ उनले भने, ‘साइबर सुरक्षा र प्रयोगकर्ताको डेटा सुरक्षाका लागि सेवा प्रदायकले के गर्ने भन्ने खालको कुनै स्पस्ट आधार छैन । त्यसैले पनि मापदण्डको आवश्यकता भएको हो ।’ 

साइबर सुरक्षा मापदण्ड तयार भएपछि यसको पालना गर्न नियामकले सेवा प्रदायकलाई निर्देशन दिन सक्नेछ । निर्देशन दिँदा पालना नगरेको अवस्थामा कारबाही गर्ने आधार समेत निर्देशिकाले तयार पार्नेछ । 

लकडाउनको समयमा सेवा प्रदायक कम्पनी भायनेटको डेटा चोरी भए पछि प्राधिकरणले डेटा सुरक्षित राख्न र चोरी भएको डेटा प्रयोग नगर्न आग्रह गर्नेभन्दा थप कारबाही गर्न सक्ने ठाउ भएन । त्यसैले पनि अबका दिनमा निर्देशिकाको आवश्यकता महसुस गरेर त्यसको प्रक्रिया अघि बढाइएको रोयले बताए ।

उनका अनुसार, कमिटीका लागि आइस्पान, साइबर ब्युरो र सूचना प्रविधि विभागबाट प्रतिनिधीको नाम प्राप्त भइसकेको छ । बाँकी रहेका टेलिकम सेवा प्रदायकबाट प्रतिनिधीको नाम आएसँगै कमिटीले आफ्नो कार्य थाल्नेछ । 

कमिटीले अन्तर्राष्ट्रिय मापदण्ड अध्ययन गरी नेपालमा कसरी त्यसलाई कार्यान्वयनमा ल्याउने, कुन–कुन विषयलाई अपनाउने, साइबर सुरक्षाको वार्षिक अडिट तयार पारेर बुझाउनु पर्ने लगायतका विषयहरु समेट्ने विषयमा प्रतिवेदन तयार पार्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१