close

अमेजनमार्फत रिलिज हुँदै भारतीय ७ चलचित्र, सिनेमाहलहरुको आपत्ति

टेकपाना टेकपाना

जेठ ३, २०७७ १३:१

अमेजनमार्फत रिलिज हुँदै भारतीय ७ चलचित्र, सिनेमाहलहरुको आपत्ति

काठमाडौं । लकडाउनका कारण सिनेमाहलमा प्रदर्शन रोकिएका सात भारतीय चलचित्रलाई अमेजनले आफ्नो प्राइम भिडियोमा स्ट्रिमिङ तथा प्रसारण गर्ने भएको छ । ई-मा विश्वकै दिग्गज कम्पनी अमेजनले यी फिल्महरु तीन महिनासम्म आफ्नो प्लेटफर्ममा प्रदर्शन गर्ने भएको हो । 

यसै महिनादेखि सुरु हुने ट्रिमिङका लागि अमेजनले अहिले एएमसी थिएटर चेन खरिदका लागि वार्ता जारी राखेको खबरहरु आइरहेका छन् । यसबीच शुक्रबार कम्पनीले सात भारतीय फिल्महरुको प्राइम भिडियोमा प्रिमियर सो गर्न लागेको बताएको हो ।

कम्पनीले स्ट्रिमिङ गर्ने फिल्महरुमा अमिताभ बच्चन तथा आयुष्मान खुर्राना अभिनित फिल्म ‘गुलाबो सिताबो’ र विद्या बालनको प्रमुख भूमिकामा रहेको फिल्म ‘शकुन्तला देवी’ रहेका छन् ।

यस अलावा विभिन्न पाँच भाषाका फिल्महरु समेत प्रदर्शन हुनेछन् । तर सब्स्क्राइबरहरुले यी फिल्महरुका लागि अतिरिक्त शूल्क तिर्नुपर्ने छैन ।

लकडाउनका कारण अहिले भारतका साढे नौ हजारभन्दा धेरै सिनेमाघरहरु बन्द छन् । भारतभर १५ सय सिनेमाघर सञ्चालन गर्ने भारतका दुई ठूलो थिएटर चेनहरु पीभीआर र आईएनओएक्स अमेजनको यस्तो कदमबाट चिन्तित छन् । 

अमेजनको त्यस्तो कदममाथि आपत्ति जनाउँदै आइएनओएक्सले विज्ञप्ती जारी गरेको छ । अमेजनको त्यस्तो क्रियाकलापले फिल्म क्षेत्रको पारस्परिक साझेदारीको वातावरणलाई खलल पुर्‍याएको विज्ञप्तीमा उल्लेख छ ।

फिल्म निर्माता कम्पनीहरुका लागि अमेजन अल्पकालिन साझेदार बन्न सक्ने तर दीर्घकालीन सहयात्री बन्न नसक्ने विज्ञप्तीमा भनिएको छ ।  आईएनओएक्सले आफ्नो अधिकारहरु संरक्षण गर्दै अमेजनविरुद्ध कानूनी उपचार खोज्ने समेत बताएको छ । 

गत वर्षदेखि भारतमा टिकेट बेच्न सुरु गरेको अमेजनले आईएनओएक्सलाई परम्परागत पुरानो झ्याले सिस्टम भन्दै व्यापारमा चुनाैती दिने प्रयास गर्दै आइरहेको छ ।

पछिल्लो डेढ वर्षमा अमेजनले फिल्म स्टुडियोहरुसँग सम्झौता गर्दै फिल्महरुको सिनेमा हलमा हुने रिलिजलाई साँघुरो बनाउने प्रयास गरेको छ । अमेजनको यस्तो व्यापार भारतमा करिब तीन महिना जति चलेको थियो । 

आईएनओएक्स र पीभीआर मात्र यो अवस्थाबाट गुज्रिरहेका छैनन् । गत महिना एएमसी थिएटरले खुल्लारुपमै युनिभर्सल पिक्चर्सले निर्माण गरेका फिल्म आफ्ना सिनेमाहलहरुमा प्रदर्शन नगर्ने बताएको थियो ।

युनिभर्सल पिक्चर्सले गत महिना ‘ट्रोल्स वर्ल्ड टूर’ फिल्मलाई अमेजनबाट स्ट्रिमिङ गर्ने सम्झौता गरेको थियो । अमेजनले प्राइम भिडियोका भारतीय सब्स्क्राइबरहरुबाट वार्षिक १३ डलर शूल्क लिने गरेको छ ।

अमेजनले ती भारतीय फिल्महरुलाई आफ्नो प्लेटफर्मबाट दुई सयभन्दा धेरै मुलुक तथा क्षेत्रका चार हजार सहरहरुमा एकैपटक पुर्‍याउने बताएको छ ।  तर कम्पनीले भारत लगायतका अन्य ठाउँमा रहेका आफ्ना प्राइम भिडियो सब्स्क्राइबरको संख्या भने खुलाएको छैन । 

अमेजन प्राइम भिडियोले हाल भारतमा डिज्नी, हटस्टार, नेटफ्लिक्स र अन्य तीन दर्जन त्यस्ता सेवाहरुसँग प्रतिस्पर्धा गरिरहेको छ ।

गुलाबो सिताबो फिल्मका सहायक निर्माता रोन्नी लाहिरीले आफ्नो प्रोडक्सन हाउसले अमेजनबाट अथाह पैसा नपाएको तर यो दुवैको जित जितको अवस्था भएको दाबी गरेका छन् । 

लाहिरी भन्छन्, ‘हामीले दोस्रो विश्व युद्धपछिको एक युगमा एकपटक आउने अवस्थाको सामना गरिरहेका छाैं । यो परिवर्तनको समय हो । सुरुवातमा मानिसहरुलाई अप्ठ्यारो हुन्छ । तर सबैले यसको अभ्यास गर्नुपर्छ ।

यसरी नै मानव सभ्यता विकास भएको हो । हामीले एक क्षण पनि यसको अभ्यास गरेनाैं भने हामी समाप्त हुनेछौं । यसकारण अवस्था सामान्य होस् भनेर पर्खनुको साटो तपाईंले यसका विकल्पहरु खोजी गर्नुपर्ने हुन्छ ।’

एजेन्सीको सहयोगमा । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३