close

कोरोनाबारे जानकारी दिने हाम्रो स्वास्थ्य एप अब एन्ड्रोइड र आईओएसमा

टेकपाना टेकपाना

जेठ ३, २०७७ १५:३७

कोरोनाबारे जानकारी दिने हाम्रो स्वास्थ्य एप अब एन्ड्रोइड र आईओएसमा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस (कोभिड-१९) लाई लक्षित गर्दै तयार पारेको मोबाइल एप एन्ड्रोइड तथा आईओएस दुबैमा उपलब्ध भएको छ । यस अघि छुट्टै वेब लिङ्कमा उपलब्ध उक्त एप अब दुबै प्लेटफर्ममा उपलब्ध भएको हो ।

 मन्त्रालयले कोरोनाभाइरसको सम्पुर्ण जानकारी दिने उद्देश्यका साथ यो मोबाइल एप तयार पारेको थियो । कोरोनाबाट संक्रमित व्यक्तिको पहिचान गर्न र त्यस्ता व्यक्तिको नजिक रहेका अस्पताल समेत खोज्न मिल्ने गरी मोबाइल एप बनाइएको मन्त्रालयले जनाएको छ ।

उक्त एपमार्फत प्रयोगकर्ताले विभिन्न ठाउँहरुमा रहेका अस्पताल र आइसोलेसन स्थानहरुको जानकारी समेत प्राप्त गर्न सक्नेछन् । यदि कसैलाई कोरोनाको आशंङ्का लागेमा एउटा अस्पतालमा कोरोना जाँचको सुविधा छैन भने अर्को कुन अस्पताल जाने भन्ने सुझाव पनि यो एपले दिनेछ ।

एपमा हालसम्म कति नमूना परीक्षण भए, रिजल्ट कस्तो आयो लगायतका जानकारी समेत राखिएको छ । त्यसभन्दा पनि महत्वपूर्ण कुरा व्यक्ति आफैले पनि कोरोनाको सम्भावित लक्षण छ भने त्यहाँ आफूलाई देखिएको लक्षण उल्लेख गरेर स्वमूल्यांकन गर्न समेत सकिन्छ ।

यसका साथै एपमा उमेर समूह अनुसार कस्तो अवस्था छ भनेर हेर्न सकिने सुविधा पनि छ । स्वास्थ्य मन्त्रालयले जारी गरेका सम्पूर्ण सूचना यही एपबाट प्राप्त गर्न सकिन्छ । यसले समग्रमा कोरोनको संक्रमण रोकथाम गर्न मद्दत गर्ने मन्त्रालयको विश्वास छ ।

एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् । ‘हाम्रो स्वास्थ्य’ वेब पोर्टल बाट समेत एप डाउनलोड गर्न सकिन्छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३