close

आज विश्व दूरसञ्चार दिवस, यसकारण छ ऐतिहासिक

टेकपाना टेकपाना

जेठ ४, २०७७ १४:२४

आज विश्व दूरसञ्चार दिवस, यसकारण छ ऐतिहासिक

काठमाडौं । आज विश्वभर ५१ औँ विश्व दूरसञ्चार तथा सूचना समाज दिवस । कनेक्ट २०३०: दीगो विकास लक्षका लागि आईसीटी भन्ने नाराका साथ यस पटकको विश्व दूरसञ्चार दिवस अन्तराष्ट्रिय दूरसञ्चार संगठन (आईटीयू) का १९३ सदस्य राष्ट्रमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

आईटीयू स्थापना भएको दिन मे १७ लाई आधार मानेर सन् १९६९ देखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो । विश्वको हरेक कुनालाई जोडेर सबै फरक संस्कृतिबीच सम्बन्ध स्थापित गराउने दूरसञ्चारको महत्व र शक्तिको सम्झनामा यो दिन मनाउने गरिन्छ ।

यो दिवसलाई संयुक्त राष्ट्रसंघकको महासभाले मनाउन सुरु गरेको हो । सन् २०१५ अघि यो दिनलाई विश्व दूरसञ्चार दिवसको रुपमा मात्र मनाउने गरिन्थ्यो । तर पछि संयुक्त राष्ट्रसंघले यसमा सूचना समाज दिवसको नाम समेत थपेको छ ।

सञ्चारको प्रयोग र प्रविधिबाट सम्भव भएको सकरात्मक परिवर्तनहरुको चर्चा गर्न यो दिवस मनाइँदै आएको छ । 

कोभिड-१९ अर्थात कोरोनाभाइरस जस्तो विश्व महामारीको अहिलेको अवस्थामा हरपल सचेत तथा जानकार रहनका लागि सूचना प्रविधि सबैभन्दा महत्वपूर्ण माध्यम बनेको छ । यो जटिल घडीमा भाैतिक अनुपस्थितिको माझ आफ्ना प्रियजन तथा साथीभाइहरुको अवस्थाबारे थाहा पाउने एउटै निर्विल्प माध्यम दूरसञ्चार नै हो । 

सन् १८६५ मा स्थापना भएको आइटीयूले विश्वभर दूरसञ्चार विकासका लागि आवश्यक रणनीति, फ्रिक्वेन्सी व्यवस्थापन जस्ता विषयमा सदस्य राष्ट्रलाई यसले सहयोग गर्दै आएको छ ।

स्थापानाको सुरुवाति चरणमा दूरसञ्चारको विस्तार र पहुँचमा केन्द्रीत हुँदै आएको दिवसमा पछिल्लो समय भने पहुँचसँगै त्यसको गुणस्तरलाई बढी प्रथामिकताका साथ हेरिन थालेको छ । विश्व परिवेशमा इन्टरनेट र टेलिफोनको पहुँचले सिर्जना गरेको डिजिटल डिभाइड अर्थात विभेदलाई कसरी निर्मूल पार्ने भन्ने विषयमा समेत आईटीयू क्रियाशिल रहेको छ ।

युनेस्कोले समेत प्रत्येक वर्ष यो दिवसलाई विशेष नाराका साथ मनाउने गरेको छ । यो वर्ष विश्वले एउटा प्राणघातक जीवाणूको सामना गरिरहेको छ । यसकारण मानव जीवन रक्षामा केन्द्रीत हुँदै दीगो विकासको महत्वलाई नाराको रुपमा राखिएको हो ।

आगामी केही वर्षमा दीगो विकास लक्ष्य पुरा गर्न अत्याधुनिक प्रविधिको प्रयोगमा यो दिनले जोड दिएको छ । आर्थिक, वातावरणीय तथा सामाजिक दीगो विकासको लक्ष्यलाई पुरा गर्न संयुक्त राष्ट्रसंघले पाँचओटा लक्ष्य निर्धारण गरेको छ । जसमा वृद्धि, समावेशिता, दीगो, अन्वेषण र साझेदारी रहेका छन् । 

दिवसको अवसरमा आइटीयूका महासचिव हावलिन झाओले विश्वलाई सन्देश दिएका छन् । उनले विश्वभरका अर्बाैं मानिसहरुलाई जोड्ने सूचना प्रविधि अहिलेको लागि एउटै आशाको स्तम्भ भएको बताएका छन् ।

आइटीयूले यो संकटलाई व्यवस्थापन तथा निवारण गर्न संयुक्त राष्ट्रसंघका एजेन्सी र सूचना तथा सञ्चार प्रविधि समुदायहरुसँग काम गरिरहेको उनले जानकारी दिए ।

‘नवीन प्रविधिहरु फाइभजी र बिग डेटादेखि क्लाउड कम्प्युटिङ र आर्टिफिसियल इन्टेलिजेन्स, यी सबै शक्तिशाली हतियार हुन् । जसले कोभिड-१९ जस्ता महामारी र अन्य चुनाैतीसँग लड्न विश्व जगतलाई ठूलो सहयोग पुर्‍याएको छ,’ सन्देशमा उनले भनेका छन् । 

The critical challenges facing humanity and our planet are not unbeatable. In the race to achieve the SDGs by the end…

Posted by ITU on Saturday, May 16, 2020

‘कसैलाई पछाडि नछोड्नुको अर्थ कसैलाई पनि अफलाइन नछोड्नु हो,’ महासचिवको सन्देशमा अगाडि उल्लेख छ । विश्व दूरसञ्चार दिवस र सूचना समाज दिवसले कोभिड-१९ लाई पराजय गर्न र २०३० को दीगो विकास लक्ष्य हासिल गर्न डिजिटल प्रविधिमा अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकतामा उनले जोड दिएका छन् ।

आइटीयूको पछिल्लो तथ्याङ्क अनुसार हालसम्म विश्वको कूल जनसंख्या मध्य ५३.६ प्रतिशत इन्टरनेटको पहुँचमा रहेका छन् । टेलिफोन सेवाको पुहँच सिम सब्सक्रिप्सनको आधारमा जनसंख्या भन्दा बढी पुगिसकेको छ । जसको उदाहरण नेपाल आफै पनि हो ।

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांङ्क अनुसार नेपालमा हाल इन्टरनेट पहुँच कूल जनसंख्याको ७१.७६ प्रतिशतमा पुगेको छ । सिम कार्ड सब्स्क्राइबर त झन् कूल जनसंख्याभन्दा ३९.१७ प्रतिशत बढी छ ।

सन् १९१३ मा पहिलो पटक काठमाडौंमा टेलिफोन लाइन जोडिएको परिवेशबाट आजसम्म आइपुग्दा यो क्षेत्रमा धेरै नै परिवर्तन भएको छ । अहिलको विषम परिस्थितिमा दूरसञ्चार क्षेत्रले महत्वपूर्ण भुमिका निर्वाह गरेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल बताउँछन् ।

खनाल भन्छन, ‘सेवाप्रदायकहरुले आफ्नोतर्फबाट निर्वाह गर्नुपर्ने काम गरिरहेको भए पनी सरकारबाट अहिलको जटिल अवस्था समेत उनीहरुले केही पाउन सकेका छैनन् । बैंकले अन्य क्षेत्रलाई ब्याजमा छूट दिने भनिरहँदा दूरसञ्चार क्षेत्र त्यसमा समेटिन सकेकको छैन ।’

यो क्षेत्रलाई कसरी समेट्न सकिन्छ र सेवाप्रदायक कम्पनीहरुले कस्तो समस्या भोगिरहेका छन् भन्ने विषयमा अनलाइन सेमिनारमार्फत सरकारसँगै आईटीयूलाई समेत जानकारी गराउने कार्यक्रम रहेको खनालले बताए ।

गत वर्ष संयुक्त राष्ट्रसंघले ‘ब्रिजिङ द स्ट्याण्डराइजेसन ग्याप’ को नारा लिएको थियो । जसले नवीनतम् प्रविधिको प्रयोगबाट समानता कायम गरी दीगो विकासको लक्ष्य पुरा गर्ने उद्देश्य बोकेको थियो ।

सन् १८६५ मे १७ मा पेरिसमा पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ कन्भेन्सनमा हस्ताक्षर भएको थियो । यसै कन्भेन्सनमा टेकेर अन्तर्राष्ट्रिय दूरञ्चार युनियन आइटीयूको स्थापना भएको थियो । नोभेम्बर २००५ मा भएको सूचना समाजको विश्व सम्मेलनले संयुक्त राष्ट्रसंघीय महासभालाई मे १७ लाई विश्व सूचना समाज दिवसको रुपमा घोषणा गर्न आग्रह गर्‍यो ।

त्यसपश्चात संयुक्त राष्ट्र संघको महासभाले मार्च २००६ मा (ए/आरईएस/६०/२५२) रेजोलुसन मार्फत मे १७ लाई विश्व सूचना समाज दिवसको रुपमा समेत मनाउने घोषणा गरेको हो । विश्व दूरसञ्चारले आज विश्वलाई कृषि युगदेखि सूचनाको युगसम्म ल्याइपुर्‍याएको छ ।

दिवसको अवसरमा कसले के भने ?

‘आजको सूचना समाज विकास भएको जग भनेकै प्रभावकारी दूरसञ्चार सञ्जाल हो’- तलाल अबु घजाले

‘हामी अहिले ई-कमर्शको युगमा छाैं । यसकारण दूरसञ्चार क्षेत्रको नेतृत्व पनि महत्वपूर्ण हुन आवश्यक छ’- माइकल ओलेक्से

‘स्मार्ट विजनेसले श्रममा हुने खर्चलाई मात्र हेर्दैन । उसले बजार पहुँच, यातायात, दूरसञ्चार पूर्वाधार र जनशक्तिको शिक्षा र सीपको स्तरलाई पनि हेर्छ, पूँजी र नियमनकारी बजारको विकासलाई हेर्छ’- जेनेट नेपोलिटानो 

‘सामाजिक सञ्जाल तथा डिजिटल मिडिया र दूरसञ्चारबाट आज हामीले ठूला मेगाफोन र एम्प्लिफिकेसन पाएका छाैं’

-माइक डेविन

‘जब मानिसहरु कुराकानी, टेक्स्ट वा ब्राउजिङ गरिरहेका हुन्छन्, तब तत्कालको समयमा दूरसञ्चार नेटवर्कहरुले विभिन्न बहावहरु पछ्याइरहेका हुन्छन् र त्यसलाई गूगल ट्राफिक कन्जेसन म्यापको रुपमा क्रिस्टलाइजिङ गरिरहेका हुन्छन्’

– कार्लो रेट्टी

‘हामी बाचेँको अहिलेको समाज विज्ञान र प्रविधिमा पूर्णरुपमा निर्भर छ । तर यहाँ अधिकांशलाई विज्ञान र प्रविधिको बारेमा राम्ररी थाहा छैन’

– कार्ल सेगन

‘सिकारको समाजमा बालबालिकाहरु धनुष र बाणसँग खेल्थे तर अब सूचनाको समाजमा बालबालिकाहरु सूचनासँग खेल्छन्’

– हेनरी जेन्किन्स

‘सूचनाको युगमा धेरै डेटा भएको कारण सहजता सम्बन्धी ज्ञानको महत्व बढिरहेको छ’

– जोन नेइसबिट

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३