close

खानेपानीलाई प्रविधिमैत्री बनाउने ‘वाटरमार्क’

टेकपाना टेकपाना

जेठ ५, २०७७ ११:२४

खानेपानीलाई प्रविधिमैत्री बनाउने ‘वाटरमार्क’

काठमाडौं । पछिल्लो समय अनलाइन भुक्तानी नेपालको हरेक क्षेत्रमा विस्तार भइरहेको छ । हवाइजहाजको टिकेटदेखि गाइगोठबाट दूघ संकलनसम्मको पैसा अनलाइनबाटै पैसा तिर्न सम्भव भएको छ ।

कोरोनाभाइरसका कारण लकडाउन सुरु भएसँगै अझ यसको प्रयोगमा उल्लेख्य वृद्धि भएको छ । नयाँनयाँ अनलाइन प्लेटफर्म सार्वजनिक हुने क्रम समेत जारी छ । सामाजिक दूरी कायम गर्नुपर्ने बाध्यताका कारण घरमै बसेर सामान मगाउने, बिजुलीको बिल तिर्ने, इन्टरनेट तथा टेलिभिजनको शूल्क तिर्ने लगायतका विभिन्न कार्यमा अनलाइन भुक्तानी प्रयोग भइरहेको छ ।

त्यतिमात्रै नभएर ससाना खानेपानी समितिको बिल समेत अनलाइनबाटै तिर्न क्रम समेत विस्तार भइरहेकै छ । यसको सुरुवात नौलो भने होइन । विगत पाँच वर्षदेखी ‘वाटरमार्क’ को सहयोगमा विभिन्न खानेपानी समितिले आफ्ना उपाभोक्तालाई अनलाइनबाटै शूल्क तिर्न मिल्ने सुविधा दिँदै आएका छन् ।

पक्कै पनि हामी धेरैसँग खानेपानी समितिको कार्यालयमा लाइन बसेर पैसा तिरेको अनुभव छ । निलो, हरियो रंगका साना ग्राहक कार्ड बोकेर पैसा तिर्ने लाइन बस्नुपर्ने वाध्यताको अन्त्य गर्ने कोसिसको रुपमा पाँच वर्षअघि दियालो टेक्नोलोजीले ‘वाटरमार्क’ प्रयोगमा ल्याएको थियो ।

पोखराको लेखनाथ खानेपानी समितिबाट भएको उक्त सुरुवात अलि असहज थियो । लेखनाथ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका कार्यालय प्रमुख शिव अमात्य सुरुवात सिस्टम नै बन्द गर्नुपर्ने हो कि भन्ने अवस्थामा आफूहरु पुगेको बताउँछन् ।

‘खानेपानीमा अनलाइन पेमेन्ट लागु गर्ने नेपालकै पहिलो समिति बन्दा उपाभोक्तालाई यसमा आकर्षित गर्न निकै कठिन भयो,’ उनी भन्छन् । तर, बिस्तारै उपभोक्ता अनलाइनमै भर पर्न थाले । अहिले १२ हजारभन्दा बढी उपभोक्ता रहेको उक्त खानेपानी समितिमा ६० प्रतिशतभन्दा बढीले अनलाइनबाटै खानेपानीको बिल तिर्दै आएका छन् ।

असार २०७२ देखि लेखनाथमा सेवा सुरु भए यताको पाँच वर्षमा ३६ जिल्लाका १२० भन्दा बढी साना खानेपानी समिति अहिले वाटरमार्कमा जोडिएको दियालोका सीईओ पीआर खनाल बताउँछन् । उनी भन्छन्, ‘ती समितिहरुमा कूल ३ लाखभन्दा बढी उपभोक्ता छन् । त्यसमध्ये ५५ प्रतिशत अर्थात एक लाख ६५ हजारभन्दा बढीले अनलाइनबाटै बिल भुक्तानी गर्दै आएका छन् । अझैपनि बाँकी उपभोक्तालाई अनलाइन भुक्तानीमा सहभागी गराउने कोसिस जारी नै छ ।’

लकडाउनको समयमा यो प्रयास साह्रै उपयोगी सावित भएको छ । घरमै बसेर सेवा लिन/दिन सकिने भएपछि अहिलेको जटिल अवस्थाले यसको आवश्यकता र महत्वलाई झन् बढाएको छ । प्रविधिमा जोडिन धेरैलाई कर लागेको छ ।

यसको अर्थ यसअघि हामीले प्रविधिलाई आत्मसाथ गरिरहेका थिएनौं भन्ने पनि होइन । धेरैमा प्रविधिप्रतिको विश्वासको कमी थियो । कतै प्रयोग गर्दा गलत हुने हो की वा आफूले तिरेको पैसा ठाउँमा नपुग्ने हो कि भन्ने जस्ता अनेकाैं अविश्वास मिश्रित आशंका धेरैको मनमा थिए ।

तर, परिस्थितिले त्यस्तो आशंकालाई धेरै हदसम्म परिवर्तन गर्न सघाएको छ । अहिले प्रविधिनै निर्विकल्प माध्यम बनेको छ । अनलाइनबाट शूल्क भुक्तानी नगर्ने हो भने सेवा नै नलिइ बस्नु पर्ने अवस्था आएको छ । यसको मतलव अनलाइन भुक्तानी सेवा प्रयोग गर्नुको अनिवार्य शर्त जस्तै बनेको छ ।

प्रतिफल स्वरुप सामान्य अवस्थामाभन्दा अहिले अनलाइन भुक्तानीमा उल्लेख्य वृद्धि भएको छ। पछिल्लो दुई महिनामा अनलाइन खानेपानीको भुक्तानी गर्नेको संख्या ३० प्रतिशत बढेको दियालोका सीईओ खनाल बताउँछन् ।

घरघरमा गएर मिटर रिडिङ गरेर आएपछि आफूहरुले म्यासेजमार्फत उपभोक्ताको मोबाइलमा खानेपानीको बिल रकम जानकारी गराउने गरेको नवलपरासीस्थित कावासोती खानेपानी समितीका प्रबन्धक बाबुराम ज्ञावाली बताउँछन् ।

मासिक रुपमा खानेपानी बिल भुक्तानी

‘त्यसैको आधारमा ईसेवाबाट अनलाइन भुक्तानी गर्न सकिने सुविधा उपलब्ध छ,’ उनी भन्छन्, ‘शूल्क भुक्तानी प्राप्त भएको जानकारी पनि म्यासेजमार्फत नै दिने गरेका छौं ।’ यसले ग्राहकलाई अनलाइनबाट पैसा तिर्ने विषयमा अझ ढुक्क बनाएको ज्ञवालीको अनुभव छ ।

दियालोका सीईओ खनाल आफूहरु प्रविधिको प्रयोगमार्फत मानिसहरुको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यका साथ सिस्टमको विकासमा जुटेको बताउँछन् । ‘वाटरमार्क खानेपानी समितिहरूका लागि पूर्ण सिस्टम बनेको छ,’ उनी भन्छन् ।

अनलाइनबाट महशुल भुक्तानी गर्नेदेखि कार्यालय प्रयोजनसम्म प्रयोग गर्न मिल्ने गरी वाटरमार्क सफ्टवेयर विकास गरिएको छ । मिटर रिडिङका लागि ‘मिटरमार्क’ नामक मोबाइल एप समेत बनाइएको छ ।

‘सरकारले लाखौँ तिरेर खानेपानी चुहाँवटको जानकारी कसरी राख्ने र त्यसलाई कसरी कम गर्ने भनेर समितिहरुलाई तालिम दिन्छ । तर, हामीले पानी चुँहावट भएको प्रतिवेदन दिने सिस्टम नै इन्टिग्रेट गरिदिएका छौं,’ खनाल भन्छन् ।

पानी चुहाँवट सिस्टम

खनालका अनुसार वाटरमार्कभित्र लेखा तथा जिन्सी व्यवस्थापन, बजेट तथा लक्ष्य, स्थिर सम्पति/ह्रास कट्टी, बायोमेट्रिक हाजिरी, मानव संसाधन व्यवस्थापन, खानेपानीको ल्याव परीक्षण तथा परीक्षणको प्रतिवेदन सार्वजनिक लगायतको व्यवस्था सिस्टमभित्रै छ ।

कतिपय समितिले उपभोक्तालाई मोबाइल एप समेत उपलब्ध गराएका छन् । उक्त मोबाइल एपबाट समेत खानेपानीको बिल तिर्न सकिन्छ । क्लाउडमा आधारित यो सफ्टवेयर सुरक्षाको हिसावले पनि मजबुत रहेको खनालको दाबी छ ।

यो सफ्टवेयर प्रयोग गर्नेमा रुपन्देही सबैभन्दा अगाडि छ । जहाँ १३ भन्दा बढी उपभोक्ता समितिले यसको प्रयोग गर्दै आएका छन् । नवलपरासी र चितवनमा पनि यो सिस्टमको प्रयोग उदाहरणीय रुपमा भइरहेको खानल बताउँछन् ।

यसले समिति र उपभोक्ता दुवैको पैसा र समयको बचत गरेको छ । यसरी अनलाइनबाटै सबै कार्य सम्भव हुँदा सबैभन्दा ठूलो सन्तुष्टि उपभोक्तालाई मिलेको लेखनाथ खानेपानीका प्रमुख अमात्य सुनाउँछन् ।

उनी भन्छन्, ‘उपभोक्ताहरु बिल तिर्न कार्यालय आउँदा लाग्ने गाडी भाडा जोगिएको छ । त्योभन्दा पनि महत्वपूर्ण कुरा समयको बचत भएको छ । यसरी बजेको समय उनीहरुले आफ्ना अन्य काममा लगाउन पाइरहेका छन् ।’

यसले उपभोक्ता समितिलाई समेत निकै सहज भएको छ । घरघरमा बिल बोकेर जाने, बिल काट्ने, अफिसको ढड्डामा चढाउनुपर्ने झन्झटको अन्त्य भएको छ । मिटर रिडरले अपलोड गरेको जानकारी सिधै कार्यालयको सिस्टममा जोडिन्छ । यसो हुँदा पाँच दिन लाग्ने काम थोरै जनशक्तिको भरमा एकै दिनमा सम्भव भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३