close

वीरगन्जका पत्रकारलाई न्याय दिन माग गर्दै ह्याकरद्धारा ‘सरकारी डेटा’ लिक

रन्जन कोइराला रन्जन कोइराला

जेठ ५, २०७७ १२:२१

वीरगन्जका पत्रकारलाई न्याय दिन माग गर्दै ह्याकरद्धारा ‘सरकारी डेटा’ लिक

काठमाडौं । ट्वीटरमा लानपान ख्याह नामक ह्याकरले वीरगन्जमा पत्रकारहरुमाथि दुर्व्यवहार भएको भन्दै सरकारको डेटा लिक गरिरहेको छ । पछिल्लो केही दिनदेखी सक्रिय उक्त ट्वीटर ह्याडलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय सरुवारोग केन्द्रको सिस्टममा भएको तथ्याङ्क लिक गरेको हुनसक्ने देखिएको छ ।

ह्याकरले राष्ट्रिय सरुवा रोग केन्द्रको साइटको स्क्रीन सट सहित जानकारी सार्वजनिक गरिरहेको छ । तर, उक्त डेटामा भने स्मार्ट टेलिकमका ग्राहकको मोबाइल नम्बर र नाम रहेका छन् ।

यस विषयमा स्मार्ट टेलिकमका प्रमुख प्रशासन अधिकृत सजिन राजभण्डारीले भने कम्पनीको सर्भरमा ह्याकरको कुनै किसिमको पहुँच नरहेको बताए ।

‘ह्याकरले हाम्रा ग्राहकको डेटा सार्वजनिक गरेपछि हामी निरन्तर रुपमा हाम्रो सिस्टम परीक्षणमा जुटेका छौं,’ उनले भने, ‘सिस्टममा अहिलेसम्म कसैले आक्रमण गरेको छैन । ग्राहकको नाम र नम्बर भएकाले यी डाटा ह्याकरले बजारमा रहेका विभिन्न सेवा केन्द्रबाट लिएको हुन सक्ने देखिन्छ । यदि हाम्राे सर्भरबाट डाटा लिक भएको भए ग्राहककाे थप जानकारी पनि सँगै सार्वजनिक हुन्थ्याे होला ।’

तर, ह्याकरले एकपछि अर्को गर्दै १० हजार पाँच सय प्रयोगकर्ताको जानकारी सार्वजनिक गरिसकेको छ । पहिलो पटक ह्याकरले शनिबार बिहान मिडियम मार्फत पाँच सय जनाको नाम र नम्बर सार्वजनिक गरेको थियो ।

सोही दिन राती थप पाँच हजारको डेटा सार्वजनिक भएपछि मिडियममा रहेको ह्याकरको अकाउण्ट सरकारले ब्लक गरिदिएको ह्याकरको दाबी छ । मिडियममा रहेको अकाउण्ट ब्लक भएसँगै उसले ‘टोर’ मार्फत आइतबार राती पुनः पाँच हजार जनाको जानकारी सार्वजनिक गरेको छ ।

टोरमा ह्याकरले सरकारलाई पत्र लेख्दै भनेको छ, ‘यो कथा करिब एक हप्ता अगाडि शुरु भएको हो । मिडिया पास हुँदाहुँदै पुलिसले पत्रकारलाई नराम्रोसँग कुटपिट गरी पक्राउ गर्‍यो । पत्रकार पक्राउ भएसँगै अरु साथीहरु एसपीलाई भेट्न प्रहरी कार्यालय गए । तर एसपीले पत्रकारको कुरा सुन्न चाहेनन् । किनभने एसपीले प्रहरीबाट गल्ती भएको भन्ने राम्रोसँग बुझेका थिए ।’

यसरी पत्रकारलाई बेवास्ता गर्दा प्रहरीको अवस्था झनै नराम्रो भएको र वीरगन्जका दुई जना पत्रकारले जे भए पनि त्यसको विरोध गर्ने निर्णय गरेको पत्रमा उल्लेख छ ।

जसमा दाबी गर्दै अगाडि भनिएको छ, ‘बिरोध सुरुभएसँगै सत्तामा रहेका भ्रष्ट व्यक्तिहरु यो घटना प्रती क्रोधित भएर यसलाई रोक्न लागेका छन् । यसलाई रोक्ने उपाय आन्दोलनकारी दुई पत्रकारलाई अलग गर्नु थियो । त्यसैले उनीहरूले रिपोर्टमा हेरफेर गरेर दुवै पत्रकारमा कुनै लक्षण नहुँदानहुँनै रिपोर्टमा कोरोनाभाइरस पोजेटिभ रहेको भनी रिपोर्ट सार्वजनकि गरियो ।’

ह्याकरले प्रमाणको लागि भन्दै बिरोध गरेको भिडियो क्लिप समेत सार्वजनिक गरेको छ । ‘अर्को दिन पत्रकारका परिवारको पनि जाँच भयो । तर, शनिबार आएका रिपोर्ट अनुसार सम्पूर्ण परिवारमा कोरोना नेगेटिभ देखियो,’

उसले पत्रमा लेखेको छ, ‘यतिमात्र होइन ती पत्रकारसँग नियमित सम्पर्कमा रहेका अन्य पत्रकारहरूको रिपोर्ट पनि नेगेटिभ आएको छ । यसले ती दुई पत्रकारको रिपोर्टमा हेरफेर भएको प्रमाणीत हुन्छ । त्यसको मसँग सबै प्रमाण छ ।’

ह्याकरले उक्त नेगेटिभ रिपोर्टको प्रमाण समेत पेश गरेको छ । यसरी सरकारको विरोध गर्दै डेटा सार्वजनिक गरिरहेकाले यो डेटा सरकारको सर्भरबाटै लिक भएका हुने सक्ने आँकलन गर्न सकिन्छ ।

यसअघि सरकारले कोरोनाको ट्रयाकिङका लागि भन्दै नेपाल दूरसञ्चार प्राधिकरणमार्फत सेवाप्रदायकबाट ग्राहकको तथ्याङ्क संकलन गरेको थियो । सोही संकलित डेटा मध्यबाट यो जानकारी लिक भएको हुनसक्ने देखिन्छ । उता ह्याकरले आफ्नो माग सम्बोधन नभए अझै थप डेटाहरु लिक गरिदिने चेतावनी दिँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३