close

अवैधरुपमा नेटफ्लिक्स र अमेजन प्राइम भिडियो बिक्री गर्दै दराज

टेकपाना टेकपाना

जेठ ६, २०७७ १३:२१

अवैधरुपमा नेटफ्लिक्स र अमेजन प्राइम भिडियो बिक्री गर्दै दराज

काठमाडौं । नेपालको अनलाइन शपिङ साइट दराजले गैरकानूनी रुपमा अन्तर्राष्ट्रिय डिजिटल सामग्री बिक्री गरेको पाइएको छ । नियामकको अनुमति बिना विभिन्न बिक्रेताले कम्पनीको साइटबाट त्यस्ता सामग्री बिक्री गर्ने गरेको देखिएको हो ।

नेपाल राष्ट्र बैंकको अनुमति बिना अन्तर्राष्ट्रिय डिजिटल सेवाको भुक्तानी गैरकानूनी मानिन्छ । तर दराजले भने पछिल्लो समय अमेजन प्राइम भिडियो, नेटफ्लिक्स, गूगल प्ले गिफ्टकार्ड, एडोब एक्रोब्याट, विभिन्न अनलाइन गेम जस्ता सामग्रीको खुल्ला रुपमा बिक्री तथा प्रवर्द्धन गर्दै आएको छ ।

उसले आफ्नो फ्ल्याश सेलमा समेत यस्ता सामग्री प्रवर्द्धन गरिरहेको छ । नेपालकै ठूलो ईकमर्शको रुपमा रहेको दराजले आफ्नो प्लेटफर्ममा गैरकानूनी रुपमा सामग्री बिक्री गर्न दिने मात्र होइन त्यसका लागि भिषा तथा मास्टरकार्डबाट सोझै भुक्तानी समेत प्राप्त गर्ने गरेको छ ।

दराजको वेबसाइट

यद्यपी डिजिटल भुक्तानी सेवाप्रदायकलाई भने कम्पनीले आफ्नो प्लेटफर्ममा जोडिसकेको छैन । प्राप्त भुक्तानी उसले आफ्नो कमिसन कटाएर बिक्रेतालाई नै फिर्ता दिने गरेको छ । बिक्रेताले यस्ता सेवा तथा सामग्री अनौपचारिक माध्यमबाट भुक्तानी गरी आयात गर्ने गरेका छन् ।

ती बिक्रेताले त्यस्ता सामग्री बिक्री वापत प्राप्त आम्दानी विदेशी कम्पनीलाई पठाउन नेपाल राष्ट्र बैंकको अनुमति समेत लिएका छैनन् । अवैध रुपमा यस्ता सामग्री बिक्री गर्नेमा दराज मात्रै एक्लो कम्पनी भने होइन । हाम्रो बजार लगायतका केही अन्य ईकमर्शले समेत यसरी गैरकानूनी रुपमा डिजिटल सामग्री बिक्री तथा प्रवर्द्धन गर्दै आएका छन् ।

यस विषयमा दराजका प्रतिनिधिले आवद्ध हुने बिक्रेताले निर्धारित सम्पूर्ण शर्त तथा प्रक्रिया पुरा गर्नुपर्ने नियम रहेको बताए । ‘यद्यपी कुनै बिक्रेताले त्यस किसिमका कुनै गैरकानूनी गतिविधि गरेको पाइएमा दराजले आवश्यक कदम चाल्नेछ,’ ती प्रतिनिधिले भने ।

हाम्रो बजारमा बिक्रीका लागि राखिएका नेटफ्लिक्सका सामग्री

त्यसो त यस्ता सामग्रीहरु डिजिटल भुक्तानी सेवाप्रदायकले समेत आफ्नो प्लेटफर्मबाट सहजै बिक्री गर्न सक्छन् । तर, नेपाल राष्ट्र बैंकको नियमनमा रहेका कारण यस्ता कम्पनीहरुले त्यस किसिमको भुक्तानी अझैंसम्म स्वीकार गरेका भने छैनन् ।

राष्ट्र बैंकको भुक्तानी विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्र केन्द्रीय बैंकको अनुमति बिना विदेशी सेवाको बिक्री गर्न नपाइने बताउँछन् । ‘यसमा राज्यको करको कुरा पनि आउँछ,’ उनी भन्छन्, ‘अनुमति नलिई यसरी भइरहेका गतिविधि उपर राष्ट्र बैंकले कानूनी कारबाही अगाडि बढाउँछ ।’

यसरी गरिएको कारोबारमा कर छली तथा विदेशी मुद्रा अपचलनको मुद्दा चलाउन सकिने कार्यकारी निर्देशक मिश्रको भनाई छ । ‘नेपाल राष्ट्र बैंकको स्वीकृति नलिई विदेशी मुद्राको कारोबार गर्न पाइँदैन, यदि त्यसो भएको रहेछ भने विदेशी मुद्रा अपचलनको मुद्दा चलाउँछौं ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३