close

उबरले कामबाट निकाल्यो आफ्ना ६७ सय कर्मचारी

टेकपाना टेकपाना

जेठ ६, २०७७ १९:४०

उबरले कामबाट निकाल्यो आफ्ना ६७ सय कर्मचारी

काठमाडौं । राइड शेयरिङ सर्भिस उबरले आफ्ना ६७ सय कर्मचारीहरुलाई कामबाट निकालेको छ । कम्पनीले दुई चरणमा गरी ती कर्मचारीलाई कामबाट विदा गरेको हो । 

साथै उसले आफ्ना ४५ ओटा कार्यालय समेत बन्द गरेको छ । अब उबरले ढुवानी अटोमेटिक भेहिकल प्रविधिको क्षेत्रमा अघि बढ्नेबारे सोच बनाएको द वाल स्ट्रिट जर्नलमा खबर छ ।

उबरका सीईओ दारा खोसरोसहानीले ती कर्मचारीहरुलाई पत्र लेख्दै कम्पनीलाई बचाउनका लागि त्यस्तो कठिन निर्णय लिनु परेको बताएका छन् । उबरले सेवाबाट निकालिने सम्पूर्ण कर्मचारीहरुलाई कूल साढे १४ करोड डलर भुक्तानी गर्नेछ । 

साथै ४५ ओटा कार्यालय बन्द गर्नका लागि आठ करोड डलर भुक्तानी गर्नेछ । एक हप्ता अघि उबरले एक अर्ब डलर खर्च जोगाउन आफ्ना ३७ सय कर्मचारीहरुलाई कामबाट निस्कासन गरेको कम्पनीले दोस्रो चरणमा ३ हजार कर्मचारी निकालेको हो ।  

कोभिड १९ को महामारी यता उबरले आफ्ना २५ प्रतिशत कर्मचारीहरुलाई कामबाट निकाला गरिसकेको छ । 

कोभिड १९ को महामारीका कारण उबरको राइड शेयरिङ सेवा ८० प्रतिशतले घटेको छ । तर उबरको फूड डेलिभरी भने अहिले आक्रमकरुपमा विस्तार भइरहेको छ । त्यसो त कम्पनीले चालू वर्षको पहिलो चाैमासिकमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५२ प्रतिशतको वृद्धि हासिल गर्दै ४ अर्ब ६८ करोड डलरको आम्दानी गरेको छ । 

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३