close

नयाँ युगमा प्रवेश गर्दै चीन-अमेरिका व्यापार युद्ध

टेकपाना टेकपाना

जेठ ७, २०७७ ११:३४

नयाँ युगमा प्रवेश गर्दै चीन-अमेरिका व्यापार युद्ध

काठमाडौं । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आए यता चीन र अमेरिकाबीच व्यापार युद्ध सुरु भयो । अमेरिकाले चिनियाँ कम्पनी ह्वावे र जेडटीईलाई धराशायी बनाउने उद्देश्यका साथ नयाँ ट्यारिफ नीति ल्यायो ।

क्वालकम र एनएक्सपीको विरुद्ध चीनले त्यसको प्रतिक्रिया दियो, अमेरिकी स्टार्टअप तथा दूरसञ्चार पूर्वाधार क्षेत्रमा चिनियाँ लगानीको विषयमा थप नयाँ रोक लगायो । कोभिड १९ का कारण विश्व अर्थतन्त्र धरापमा परिरहेको बेला दुई मुलुकबीचको तनाव केही समयका लागि स्थगित भएको देखिएको थियो ।

यो महामारी सुरु हुनु अघि यी दुई मुलुकबीच भएको समझदारीहरुले छुट्टै दिशा पकड्न थालेको थियो । थोरै समयमा समाधानतिर उन्मुख भइरहेको अमेरिका र चीनबीचको व्यापारमा फेरी दरार पैदा भएको छ ।

केही दिन यता तीनओटा त्यस्ता संवेदनशील समाचारहरु सार्वजनिक भए, जसले अमेरिका चीनको व्यापारको भविष्यलाई नयाँ आकार दिदैँछन् । यसले बाहिर सतहमा जे देखिए पनि भित्र धेरै किसिमका खिचडी पाकिरहेको स्पष्ट संकेत गर्दछ ।

पहिलो कुरा, अमेरिकी अर्थमन्त्रालयले ट्रम्प प्रशासनको हवाला दिँदै ह्वावेमाथि रणनीतिक सेमी कण्डक्टर अमेरिकी सफ्टवेयर तथा हार्डवेयरहरु प्रयोगमा प्रतिबन्ध लागु गर्ने तयारी भइरहेको घोषणा गरेको छ ।

नेतृत्वदायी चिनियाँ कम्पनीलाई उसको बजार तथा प्राविधिक क्षमता बढाउनबाट रोक्न अमेरिकाले यो कदम चालेको हो । यस्तै केही दिन अघि मात्र अमेरिकी प्रशासनले ह्वावे र जेडटीईमाथिको निर्यात प्रतिबन्धलाई बढाउने घोषणा गरेको थियो । 

ट्रम्प प्रशासनले सत्ता सम्हालेको पहिलोदिन देखी नै चीनविरुद्ध यहि नीति अख्तियार गर्दै आएको छ । अमेरिकाको अर्थमन्त्रालयले अप्रत्यक्ष रुपमा आफूहरुले चिनियाँ कम्पनीमाथि सूक्ष्म र रणनीतिक रुपमा प्रहार गरिरहेको बताएको थियो । 

दोस्रो कुरा भनेको ताइवानको सेमिकण्डक्टर निर्माता कम्पनी टीएसएमसीले पनि गए राती एउटा महत्वपूर्ण घोषणा गरेको छ । अमेरिकाको एरिजोना राज्यमा  १२ अर्ब डलरको ताइवानी कम्पनी स्थापना गर्न लगानी गर्ने टीएसएमसीले घोषणा गरेको छ ।

टीएएएमसी आफैमा विश्वको सबैभन्दा ठूलो चिप निर्माता कम्पनी हो । साथै यो कम्पनीले विश्वकै एड्भान्स चिपहरु निर्माण गर्दै आएको छ । टीएसएमसीको विज्ञप्तीमा उक्त कम्पनीले निर्माण सम्पन्न भएको केही वर्षमा विश्वकै एड्भान्स फाइभ नानोमिटर चिप लञ्च गर्ने उल्लेख छ । 

टीएसएमसी कम्पनीको पछिल्लो घोषणा सार्वजनिक हुनुभन्दा केही हप्ता अघि वासिङ्टनमा ह्वावेका लागि टीएसएमसीले बनाउँदै आएका चिपहरु बन्द गर्नु पर्ने विषय उठेको थियो । तर त्यस्तो कदमले आफ्नो नाफा र आगामी दिनमा अनुसन्धान तथा विकासमा गर्नु पर्ने लगानीलाई ठूलो धक्का दिने टीएसएमसीले बताउँदै आएको छ । 

तेस्रो कुरा फेरी नयाँ खबर आएको छ । उक्त खबर अनुसार ताइवानको एउटा हार्डवेयर एसेम्बलिङ कम्पनी फक्सकनको नाफामा कोभिड १९ को महामारीका कारण ९० प्रतिशतले गिरावट आउनुका साथै उसको स्मार्टफोन निर्यात पनि घटेको छ ।

यो कम्पनी पनि अमेरिका र चीनबीचको व्यापार युद्धका कारण भित्रभित्रै पिल्सिरहेको छ ।  यो कम्पनीले पनि अमेरिकाको विसकन्सिनमा १० अर्ब डलरको म्यानुफ्याक्चरिङ बनाउने प्रयास गरको थियो । तर यो असफल भयो । 

यसबीच अमेरिका र चीनको तनावलाई समाधान गर्न ल्याइएको व्यापार सम्झौतामाथि पनि अहिले आशंका बढेको छ । यो सबै कुरा एक रातभरीमा नै भयो । धेरै व्यक्तिगत डेटाहरुले अमेरिका चीनको व्यापार युद्धको ढाँचा पहिचान गर्न गाह्रो हुने देखाउँछ ।

नीतिहरु कहिले कडा त कहिले खुकुलो बनिरहेका छन् । तर भित्रीरुपमा यी दुवै मुलुक आपसको व्यापार निरन्तर कायम रहोस् भन्ने चाहन्छन् । ताकी आफ्नो आर्थिक वृद्धिलाई व्यवस्थापन गर्न सकियोस् । 

यी दुवै देशबीच व्यापार असमझदारी हुँदै गर्दा एउटा मुलुकलाई आवश्यक विषय अर्कोसँग छ । चीन निर्माण र वृद्धि गर्न चाहन्छ भने अमेरिका डिजाइन र खरिद गर्न चाहन्छ । 

तर वितेको केही महिनामा अमेरिकी राष्ट्रपति चुनावको पूर्वसन्ध्यामा देखा परेको कोभिड १९ को महामारीले यो अंकगणितलाई परिवर्तन गरिदिएको छ । जनस्तरको प्रतिक्रियाले चीनप्रति अमेरिका थप सावधान भएको र त्यहाको मत दुई भागमा विभाजित भएको देखिन्छ ।

अहिले अमेरिकी अर्थतन्त्रमा यति धेरै तीब्र छटपटाहट छाएको छ कि कराेडाैं मानिसहरुले रोजगारी गुमाएका छन् । आर्थिक वृद्धि रोक्किएको छ ।

यसकारण केही विषयमा अमेरिका थप चनाखो रहेर कडा परीक्षण गरी संरक्षणवादको नीति अपनाउन थाल्यो भने उसको वित्तीय गणितमा ठूलो असर पर्ने देखिन्छ । 

आगामी दिन थप जटिल बन्ने देखिदैछ । यसकारण दुवै तर्फबाट वार्ता सुरु गर्ने रुची नदेखिए पनि केही समयमा पुन वार्ता हुने निश्चित छ । 

अबको समयमा हेर्न लायक रोचक आयाम भनेको ताइवान बन्दैछ । जुन रणनीतिक महत्वको चिप उद्योगको घर हो । टीएसएमसीले चीनसँग छुट्टिने अमेरिकी प्रस्ताव स्वीकार गरेको घोषणा गरेको छ ।

तर उसले ताइवानको सुरक्षामा अमेरिकासँग जोडिएर काम गर्ने प्रयास पनि सँगसँगै अघि बढाएको छ । ताइवानी कम्पनीहरु र त्यहाँको राजनीतिले आफ्नो प्रविधि अन्य मुलुकलाई सुम्पिन अस्वीकार गरेको छ ।

बरु विश्वलाई चिप उद्योगबाट आफूप्रति निर्भर बनाएर मूख्यभूमी चीनको आफूमाथिको हस्तक्षेपलाई रोकथाम गर्ने उसको चाहना छ । यदि पेन्टागनले आफैं चिप निर्माण गर्न सकेन भने ऊ आफ्नो रक्षाका लागि अगाडि आउने अपेक्षा ताइवानको छ । 

टीएसएमसीले अमेरिकी कम्पनी निर्माण गर्ने तत्परता देखाइरहँदा पनि उसको रचना भने कमजोर हुने छैन । वास्तवमा यसले अमेरिका र ताइवानबीचको सम्बन्धलाई थप बलियो बनाउने छ । अझै धेरै रोजगारी, धेेरै व्यापार, धेरै सहयात्रा र अन्तत: एकअर्काको महत्वको थप गहीरो अनुभूति ।

तर प्रश्न एउटै छ कि कहिलेसम्म ट्रम्प प्रशासनले ताइवानको रणनीतिलाई सहायता दिइरहन सक्छ ? ताइवान विश्व स्वास्थ संगठनमा पुनः आवद्ध हुन इच्छुक छ । जहाँ उसले २०१६ सम्म पर्यवेक्षकको भूमिका निर्वाह गरेको थियो ।

अमेरिका र ताइवानको यो गठबन्धन कत्तिको गहीरो होला ? चिनियाँ विरोधको बावजूद ताइवानको पुनः प्रवेशलाई सहयोग गर्न अमेरिका आफ्नो कूटनीतिक फ्रेमवर्कभन्दा बाहिर जाला त ?

अब हेर्न बाँकी यही छ । तर आज के स्पष्ट छ भने अमेरिका र चीनलाई दशकाैं देखि एकसाथ बाधेर राखेको सेमिकण्डक्टर, इन्टरनेट पूर्वाधार र प्रविधि सम्बन्ध अब बाँकी छैन । सप्लाई चेन र व्यापारको नयाँ युगमा यो वृहत उद्योगमा नयाँ अवधारणाका लागि ठाउँ खुल्ला छ ।

एजेन्सीको सहयोगमा । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३