close

नेपालको फिक्स्ड इन्टरनेट दक्षिण एसियाकै दोस्रो सस्तो

टेकपाना टेकपाना

जेठ ७, २०७७ १८:४१

नेपालको फिक्स्ड इन्टरनेट दक्षिण एसियाकै दोस्रो सस्तो

काठमाडौं । नेपाली प्रयोगकर्तामाझ यहाँ उपलब्ध इन्टरनेट महङ्गो भएको गुनासो अझै पनि उस्तै छ । खासगरी निजी क्षेत्रले उपलब्ध गराइरहेको फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेटको शूल्कमा प्रयोगकर्ताको असन्तुष्टि सुनिन्छ ।

तर दूरसञ्चार क्षेत्रको विश्वकै सर्वोच्च संस्था अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन (आईटीयू)ले भने फिक्स्ड ब्रोडब्यान्डबापत नेपालले लिइरहेको शूल्क दक्षिण एसियाली देशमध्येमा सस्तो रहेको देखाउँछ ।

आईटीयूले हालैमात्र सार्वजनिक गरेको ‘मेजरिङ डिजिटल डेभलपेन्टः आईसीटी प्राइस टे«न्ड्स २०१९’ नामक प्रतिवेदनले दक्षिण एसियाली मुलुकमध्ये श्रीलङ्कापछि फिक्स्ड ब्रोडब्यान्डमा नेपालको शूल्क कम रहेको देखाएको छ ।

सन् २०१८ को प्रति व्यक्ति आयलाई आधार मानेर तयार गरिएको मूल्य सूची अनुसार नेपालमा फिक्स्ड ब्रोडब्यान्ड शूल्कको दर २.३ प्रतिशतमात्र छ । सरकारले पाँच बर्ष अघि सार्वजनिक गरेको ब्रोडब्यान्ड नीतिले पनि नेपालमा ब्रोडब्यान्ड ईन्टरनेको मूल्य प्रतिव्यक्ति आयको पाँच प्रतिशतमा सिमित गर्ने लक्ष्य राखेको थियो । यस हिसाबले सरकारको उक्त लक्ष्य पुरा भएको देखिन्छ ।

प्रतिवेदनमा फिक्स्ड ब्रोडब्यान्डको उक्त मूल्य भने १५ जीबी डेटाको मात्र रहेको उल्ल्लेख गरिएको छ । यो सूचीमा नेपाल सस्तो ब्रोडब्यान्ड उपलब्ध गराउने देशमध्ये ७० औं स्थानमा परेको छ । दक्षिण एसियाली देशमा नेपालभन्दा अघि रहेको श्रीलङ्का २६ औं स्थानमा छ । श्रीलङ्कमा फिक्स्ड ब्रोडब्यान्डको मूल्य प्रति व्यक्ति आयको जम्मा एक प्रतिशत छ । यो अनलिमिटेड सेवाको मूल्य हो ।

नेपाल पछि बंगलादेश ८० औं, भुटान ८१ औं, भारत ८५ औं र माल्दिभ्स ८८ औं स्थानमा छन् । पाकिस्तान र अफगानिस्तानमा फिक्स्ड ब्रोडब्यान्डको मूल्य निकै चर्को देखिन्छ । सूचीको १३६ औं र १४३ औं देशमा रहेका यी दुई देशको ब्रोडब्यान्ड मूल्य प्रति व्यक्ति आयको क्रमश : १०.६ र १५.१ प्रतिशत रहेको छ ।

विश्वभर सबैभन्दा सस्तो फिस्क्ड ब्रोडब्यान्ड शूल्क भएको देशमा मकाउ पहिलो स्थानमा छ । मकाउमा प्रति व्यक्ति आयको ०.३ प्रतिशत मूल्यमै अनलिमिटेड ब्रोडब्यान्ड प्रयोग गर्न सकिने प्रतिवेदनले देखाएको छ । मकाउपछि कुवेत, हङकङ, चीन, संयुक्त अरब इमिरेट्स(दुबई) क्रमशः दोस्रोदेखि पाँचौं स्थानमा छन् ।

बुरुन्डी विश्वकै महंगो फिक्स्ड ब्रोडब्यान्ड भएको देशमा परेको छ । यहाँका प्रति व्यक्ति आयको ९६४.३ प्रतिशतसम्म त्यस्तो इन्टरनेट प्रयोगका लागि मूल्य तिर्नुपर्ने अवस्था छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३