close

नेपालको मोबाइल ईन्टरनेट दक्षिण एसियाकै महङ्गो मध्येमा

टेकपाना टेकपाना

जेठ ८, २०७७ ९:३९

नेपालको मोबाइल ईन्टरनेट दक्षिण एसियाकै महङ्गो मध्येमा

काठमाडौं । प्याक प्रयोग नगरी मोबाइल डेटा चलाउनु नेपाली प्रयोगकर्ताका लागि अझै पनि महङ्गो काम हो । मोबाइल डेटा चलाएको केही समयमै स्वात्तै पैसा घटेको अनुभव ति प्रयोगकर्ताका लागि कुनै नयाँ अनुभव होइन । बरु बाध्यता हो ।

नहोस पनि किन विश्वकै महङ्गो मोबाइल इन्टरनेट भएको मुलुकमध्येमा जब नेपाल पर्छ । अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन(आईटीयू)को मोबाइल डेटा तथा भोइसको मूल्य सम्बन्धि पछिल्लो प्रतिवेदनले विश्वका १८३ देशमध्ये नेपाल १११ औं स्थानमा पर्छ । सूचीको अघिल्तिर सस्तो मोबाइल डेटा सुविधा रहेको देशहरुको नाम छ । जति पछि त्यति नै महंगो मोबाइल इन्टरनेट भएका देशको नाम उल्ल्लेख छ ।

यो सूचीलाई अझ छोट्याएर दक्षिण एसियाली मुलुकमा नेपालको अवस्था दाँजौं । यसो गर्दा नेपाल दक्षिण एसियामा सबैभन्दा महङ्गो मोबाइल डेटा भएको देशको सूचीमा दोस्रो स्थानमा पर्छ । नेपाल अघि अफगानिस्तान छ जहाँ मोबाइल डेटा प्रयोगकर्ताले प्रति व्यक्ति आम्दानीको ९.२ प्रतिशतसम्म खर्च गर्नुपर्छ ।

नेपालमा भने यहाँका प्रयोगकर्ताले प्रति व्यक्ति आयको २.८ प्रतिशतसम्म शूल्क मोबाइलमा इन्टरनेट चलाउन खर्चिनुपर्छ । दक्षिण एसियामा सबैभन्दा सस्तो मोबाइल डेटा श्रीलङ्कामा छ जहाँको दर प्रतिव्यक्ति आयको ०.६ प्रतिशत मात्र छ ।

श्रीलङ्का विश्व सूचीमा पनि २९ औं स्थानसहित अगाडि नै छ । त्यसपछि ३७ औं स्थानमा रहेको पाकिस्तानमा ०.७ प्रतिशत, ४९ औं स्थानमा रहेको भारतमा ०.९ प्रतिशत, ६८ औं स्थानमा रहेको भुटानमा १.१ र ९१ औं स्थानमा रहेको बंगलादेशमा प्रति व्यक्ति आयको १.९ प्रतिशतसम्म मोबाइल डेटाको मूल्य छ ।

विश्वमै सबैभन्दा सस्तो दरमा मोबाइल डेटा प्रयोग गर्न सकिने देश बनेको लक्जेम्बर्ग । जहाँ प्रति व्यक्ति आयको ०.२ प्रतिशत मोबाइल डेटा दर रहेको छ । सबैभन्दा महंगो मोबाइल डेटा भएको देशमा परेको कंगोमा प्रयोगकर्ताले प्रति व्यक्ति आयको ६१.२ प्रतिशत मोबाइल डेटाको लागि खर्चिनुपर्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३