close

भियतनाम, इन्डोनेसिया, मलेसिया र सिंगापुरपछि थाइल्याण्डले बनायो राष्ट्रिय फाइभजी समिति

टेकपाना टेकपाना

जेठ ८, २०७७ १८:१८

भियतनाम, इन्डोनेसिया, मलेसिया र सिंगापुरपछि थाइल्याण्डले बनायो राष्ट्रिय फाइभजी समिति

काठमाडौं । थाइल्याण्डमा २६ सदस्यीय राष्ट्रिय फाइभजी समिति गठन भएको छ । प्रधानमन्त्री प्रायुट चान ओ चाको अध्यक्षतामा उक्त २६ सदस्यीय राष्ट्रिय फाइभजी समिति गठन भएको हो । 

डिजिटल अर्थतन्त्रको रोडम्यापमा फाइभजी विकासका लागि समन्वय गर्न यो समिति गठन गरिएको बताइएको छ । राष्ट्रिय प्रशारण तथा दूरसञ्चार कमिसन एनबीटीसीका लागि राज्य संयन्त्रबाट यो समितिमा प्रयोग नभएका स्पेक्ट्रम रेञ्जका लागि अक्सन गर्ने अधिकार निहित हुनेछ ।

तर समितिले स्पेक्ट्रम अक्सनमा हस्तक्षेप नगर्ने तथा लाइसेन्सको मूल्य निर्धार्ण नगर्ने अधिकारीहरुले बताएका छन् । गत मे १३ मा प्रधानमन्त्री प्रायुटले उक्त समिति गठन गर्ने कार्यविधिमा हस्ताक्षर गरेका थिए ।

फाइभजी विकास सहयोगका लागि उक्त संस्थाले  सम्बन्धित संस्थाहरुबीच समन्वय बढाउन भूमिका निर्वाह गर्नेछ । उपप्रधानमन्त्री सोमकिड जाटुश्रीपितक, प्रावित वाङसुवन र विसानु क्रिय नागम उक्त कमिटीको उपाध्यक्षको रुपमा रहने छन् ।

यस्तै डिजिटल अर्थतन्त्र तथा समाज मन्त्रालयका सचिव उक्त समितिको निर्देशक तथा सचिवको भूमिकामा रहनेछन् । एनबीटीसीका महासचिव टाकोर्न तान्तासिथले उक्त समितिले विभिन्न मन्त्रालयका प्रतिनिधिहरुको सहभागीतामा फाइभजी अपनाउने तथा पूर्वाधार विकासका लागि स्पष्ट रोडम्यापलाई प्रवर्द्धन गर्ने बताएका छन् ।

यसअघि एनबीटीसीले प्रधानमन्त्रीलाई पत्रमार्फत अत्यावश्यकता औँल्याउँदै त्यस किसिमको समिति गठन गर्न प्रस्ताव गरेको थियो । थाइल्याण्डका छिमेकी मुलुकहरु  भियतनाम, इन्डोनेशिया, मलेसिया र सिंगापुरमा समेत यस्तै किसिमका फाइभजी समितिहरु गठन भइसकेको बताइएको छ । 

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३