close

सामाजिक सञ्जाल नै चलाउँदैनन् सञ्चारमन्त्री, तर यी मन्त्री छन् निकै ‘एक्टिभ’

टेकपाना टेकपाना

जेठ ९, २०७७ १२:४५

सामाजिक सञ्जाल नै चलाउँदैनन् सञ्चारमन्त्री, तर यी मन्त्री छन् निकै ‘एक्टिभ’

काठमाडौं । कोरोना महामारीको यो समय सूचना प्रवाह निकै महत्वपूर्ण हुन्छ । अझ सरकारका निर्णय र निर्देशन समयमै जनतासम्म पुर्याउनु त यो सबै झनै आवश्यक छ ।

सरकारले मन्त्रिपरिषदले गरेका निर्णय हरेक बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट सार्वजनिक गर्दै आएको छ । पछिल्लो समय आवश्यकता अनुसार मन्त्रिपरिषद बैठक बसेकै दिन पनि निर्णयहरु सार्वजनिक हुँदै आएका छन् ।

यो त भयो औपचारिक सूचना प्रवाहको सरकारी मोडल ।

मन्त्रालयगत कुनै नयाँ निर्णय भएमा सम्बन्धित मन्त्रीहरु आजकल सामाजिक सञ्जालको प्रयोग गरेर पनि सूचना प्रवाह गरिरहेका भेटिन्छन् । खासमा यो नौलो प्रयोग पनि होइन ।

लकडाउनको यो समय हामीले हाम्रा मन्त्रीहरुको सामाजिक सञ्जालको सक्रियता बुझ्ने प्रयास गर्यौ । यसो गर्दा धेरै मन्त्रीको उपस्थिति फेसबुकमा रहेको देखियो ।

हुन त फेसबुक नेपालमा सबैभन्दा बढी प्रयोग हुने सामाजिक सञ्जाल पनि हो । कतिपयको सक्रियता ट्विटरमा पनि देखियो । यहाँ हामी सामाजिक सञ्जाल प्रयोगमा मन्त्रीहरुको स्वभाव प्रस्तुत गर्दैछौं ।

जो अति सक्रिय छन्

सामाजिक सञ्जालमा निकै सक्रिय मन्त्रीहरुमा पर्छन् संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई र परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली । मन्त्री भट्टराई फेसबुक ट्वीटर दुवैमा उत्तिकै सक्रिय छन् ।

पर्यटन मन्त्री योगेश भट्टाराई

हरेक दिन जसो राजनीति, सरकारका नयाँ निर्णय अथवा मन्त्रालयसँग सम्बन्धित जानकारी र सँगै तस्विर पोस्ट गरिरहेका भेटिन्छन् उनी । फेसबुकमा उनको व्यक्तिगत अकाउन्ट र पेज पनि छ ।

ट्विटरमा उनी आफूसँग सम्बन्धित विषयमा आएका प्रश्नको मेन्सन गरेर जवाफ पनि दिन्छन् । मन्त्री ज्ञवाली ट्विटरमा अलि बढी नै सक्रिय छन् । सरकारका नयाँ निर्णय सम्बन्धी समाचारहरु ट्विट गर्न उनी सबैभन्दा अगाडि छन् ।

परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली

मन्त्रालयसँग सम्बन्धित विषयमा पनि उनी प्रयोगकर्ताको उत्तर पनि दिइरहेका भेटिन्छन् । कोरोना महामारीका कारण स्वास्थ्य सम्बन्धी जानकारी प्रवाह गर्नु यसबेला सबैभन्दा महत्वपूर्ण विषय पनि हो ।

त्यसैले पनि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल पछिल्लो समय फेसबुक ट्वीटर दुवैतिर सक्रिय भेटिन्छन् । उनको फेसबुक पेज समेत छ ।

जो सामान्य सक्रिय छन्

मन्त्रीहरु गिरीराजमणी पोखरेल, बिना मगर, पार्वत गुरुङ्ग, पद्मा अर्याल, लेखराज भट्ट र वसन्तकुमार नेम्वाङ

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुन, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ, खानेपानी मन्त्री विना मगर, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री बसन्त कुमार नेम्वाङ सामाजिक सञ्जालमा बेलाबेला उपस्थिति देखाउँछन् ।

यसमध्ये पनि मन्त्री पुन प्रयोगका हिसाबले अलि सक्रिय छन् । उनी ट्वीटरमा पनि सूचना सम्प्रेषण गरिरहेका भेटिन्छन् । फेसबुक पेजमार्फत मन्त्रालयसँग सम्बन्धित समाचार उनी सेयर गर्छन् ।

नेपालको नयाँ नक्सा सार्वजनिक भएपछि मन्त्री अर्यालले फेसबुक र ट्वीटरतिरै सक्रियता बढाइरहेको देखिन्छ । मन्त्रीहरु पोखरेल र गुरुङ फेसबुक पेजमार्फत मन्त्रालय सम्बन्धी सूचना र समाचार शेयर गरिरहेका भेटिन्छन् । मन्त्री मगर पारिवारिक तस्विरहरु पनि फेसबुक र ट्वीटरमा पोस्ट गर्छिन् ।

जो कम सक्रिय छन्

मन्त्री जगत विश्वकर्मा र रामेश्वर राय यादव

युवा तथा खेलकुद मन्त्री जगतकुमार विश्वकर्मा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव एकदमै कम मात्र सक्रिय छन्, सामाजिक सञ्जालमा ।

जसको अकाउन्ट छ, तर एक्टिभ छैन

गृह मन्त्री रामबहादुर थापा आफ्नो अन्तरमूखी स्वभावले परिचित छन् । जस्तोसुकै परिस्थितिमा पनि खासै नबोल्ने उनको बानी छ । उनी सामाजिक सञ्जालमा पनि त्यस्तै छन् । धेरै अघि बनाएको उनको नामको फेसबुक पेज छ, तर खासै कन्टेन्ट छैन ।

मन्त्रीहरु रामबहादुर थापा, हृदयेश त्रिपाठी र शिवमाया तुम्बाहम्फे

सार्वजनिक लेखा समितिको सदस्यका रुपमा हृदयेश त्रिपाठीले बोलेको विषय निकै चासोको रुपमा रहन्थ्यो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भइसकेपछि उनको सार्वजनिक चर्चा त्यति सुनिएको छैन ।

उनी फेसबुकमा पनि त्यति सुनिन्नन् । उनको व्यक्तिगत अकाउन्ट अरु प्रयोगकर्ताले ट्याग गर्ने अकाउन्टमा सीमित छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाम्फे एक समय निकै चर्चामा रहिन् । उनको फेसबुक अकाउन्ट त छ, तर चर्चा नै हुने गरी सक्रिय भने छैन ।

जो सामाजिक सञ्जाल नै चलाउँदैनन्

अहिलेको समयमा फेसबुक नचलाउनु आफैमा अनौठो विषय बनिसकेको छ । तर सरकारका सूचना आधिकारिक रुपमा सार्वजनिक गर्ने जिम्मा पाएका सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडा भने सामाजिक सञ्जालबाट टाढा छन् ।

अर्थमन्त्री युवराज खतिवडा

मुख्य रुपमा अर्थ मन्त्री रहेका खतिवडा अघिल्ला मन्त्री गोकुल बाँस्कोटाले राजिनामा दिएपछि सञ्चार तथा सूचना मन्त्रीको जिम्मेवारी समेत सम्हालिरहेका छन् । यो त्यहि मन्त्रालय हो, जसले इन्टरनेट र दूरसञ्चारसँग सम्बन्धित कानून निर्माण र नियमनमा महत्वपूर्ण भूमिका राख्छ ।

अझ यतिबेला सरकारको प्रवक्ताका रुपमा पनि छन्, मन्त्री खतिवडा । तर खतिवडा चल्तीका कुनै सामाजिक सञ्जाल प्रयोग भने गर्दैनन् । उनी इन्टरनेटको प्रयोग हुने भाइबर भने प्रयोग गर्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३