close

फेसबुकका ५० प्रतिशत कर्मचारी सधैंका लागि वर्क फ्रम होममा ! के सोच्दैछन्, मार्क जुकरबर्ग ?

टेकपाना टेकपाना

जेठ ९, २०७७ १८:१५

फेसबुकका ५० प्रतिशत कर्मचारी सधैंका लागि वर्क फ्रम होममा ! के सोच्दैछन्, मार्क जुकरबर्ग ?

काठमाडौं । कोभिड १९ अर्थात कोरोनाभाइरसको महामारीले विश्व अर्थतन्त्रलाई कति छिटो पुनःसंरचना गरिरहेको छ भन्ने कुरा फेसबुकको हालैको एउटा कदमले पुष्टि गर्छ । फेसबुकले बिहीबार आफ्ना अधिकांश कर्मचारीहरुलाई अब स्थायीरुपमा घरबाट नै काम गर्न अनुमति दिने घोषणा गरेको छ ।

फेसबुकले अमेरिकास्थित आफ्ना कार्यालयहरुमा अधिकांश त्यस्ता कर्मचारीहरु भर्ति गर्दैछ, जो रिमोट वर्कका लागि योग्य छन् । यस्तै कम्पनीले आफ्नै कर्मचारीहरुबाट वर्षको अन्त्यसम्ममा रिमोट वर्कका लागि दरखास्त दिन माग समेत गरेको छ ।

‘रिमोट वर्कको मामिलामा यति ठूलो स्तरमा यो कदम उठाउने हामी विश्वकै पहिलो कम्पनी बन्दैछाैं,’ फेसबुक कम्पनीका सीईओ मार्क जुकरबर्गले भर्जसँगको अन्तर्वातामा भनेका छन् । ‘हामीले यो काम होसियार र जिम्मेवार भएर गर्नुपर्ने हुन्छ ।

यसकारण हामीले होसियारीपूर्वक यो निर्णय लिएका छाैं । आगामी पाँचदेखि दश वर्षसम्ममा वा दश वर्षको करीबमा हाम्रा कम्पनीका आधा कर्मचारीहरुलाई स्थायीरुपमा रिमोट वर्क सम्भव हुनेछ ।’

विश्वभर रहेका ७० वटा कार्यालयहरुमा फेसबुकका ४८ हजारभन्दा धेरै कर्मचारीहरु कार्यरत छन् । यो महामारी सुरु भएदेखि यति आक्रमक शैली र संख्यामा रिमोट वर्कको थालनी गर्ने फेसबुक आफ्ना कर्मचारीलाई स्थायी रुपमा वर्क फ्रम होममा राख्ने विश्वको पहिलो कम्पनी बनेको छ ।

गत हप्ता ट्वीटरले आफ्ना अधिकांश कर्मचारीहरुलाई वर्क फ्रम होमको विकल्प दिने घोषणा गरेको थियो । त्यसलगत्तै कोइनबेसले पनि बुधबार सोही किसिमको घोषणा गरेको थियो । यस्तै सोपिफाईका सीईओ तोबी लुट्केले पनि बिहीबार आफ्नो कम्पनी पनि अस्थायीरुपमा रिमोट वर्क प्रणालीमा स्थानान्तरण हुने बताएका थिए ।

यस्तै गूगलका सीईओ सुन्दर पिचाईले गत हप्ता थप कर्मचारीलाई रिमोट वर्कको अनुमति दिने बारे विचार गरिरहेको र वर्षको अन्त्यसम्म अधिकांश कर्मचारीहरुलाई घरमै बसेर काम गर्न अनुमति दिने बताएका थिए । 

फेसबुकको यो पछिल्लो निर्णयले विश्वका प्रभावशाली कम्पनीको संस्कृतिमा व्यापक परिवर्तन आएको देखिन्छ । यो कदमले कम्पनीको ठूलो खर्चलाई कटाैती गर्नेछ ।

तर कोभिड १९ संक्रमणकाल पश्चात कर्मचारीहरुलाई कम्पनीको मूख्यालयमा समय समयमा विभिन्न भेला सम्मेलन गराउनु पर्ने हुँदा नयाँ खर्च शिर्षक सृजना हुने जुकरबर्गले बताएका छन् । 

घरबाट काम गर्नका लागि आवश्यक हुने उपकरणहरुको आविष्कार हुन अझैं बाँकी छ । तर जुकरबर्गले यति चाँडै रिमोट वर्कलाई लिएर आफ्नो धारणा कसरी परिवर्तन गरे ?

द भर्जले फेसबुक कम्पनीको उक्त घोषणाको पूर्वसन्ध्यामा सीईओ मार्क जुकरबर्गसँग गरेको कुराकानीको सम्पादित अंश ।

फेसबुक कम्पनीले यो नयाँ सिस्टम कसरी कसरी कार्यान्वयन गर्दैछ ?

हामी भोलिबाट रिमोट वर्कको लागि भर्ति सुरु गर्दैछाैं । अहिले सबैजना घरबाट राम्रैसँग काम गरिरहेका छन् र यसको सम्भावनालाई बुझ्न सजिलो छ ।

साथै हामीले हाम्रा अन्य कर्मचारीहरुलाई पनि वर्क फ्रम होमका लागि आवेदन दिन भनेका छाैं । यदि उनीहरु अहिले नै रिमोट वर्क चाहँदैनन् भने उनीहरुले यो वर्षको अन्त्यसम्म त्यस्तो निर्णय लिनसक्छन् ।

तर कोभिड १९ को महामारी लामो समयसम्म रहिरह्यो भने यो कार्यशैलीको समय अझै थप हुन्छ । दीर्घकालमा गएर हामीले हाम्रा अधिकांश कर्मचारीहरुलाई रिमोट वर्कमै सिफ्ट गराउने योजना बनाएका छाैं ।

तर यसका लागि हामीले अनुभवी र योग्य कर्मचारीलाई मात्र अनुमति दिनेछाैं । नयाँ कर्मचारीहरु भने कार्यालयमै आउनु पर्नेछ । प्रशिक्षित हुनुपर्नेछ । 

विगतलाई हेर्दा तपाईंले आफ्ना कर्मचारीहरुलाई कार्यालय वरपर बस्ने वातावरणका लागि पर्याप्त तलब दिनुभयो । यसर्थ कम्पनीका लागि कर्मचारीहरु नजिक हुन आवश्यक थियो । तर पछिल्ला केही महिनामा तपाईंले त्यस्तो के देख्नु भयो जसले गर्दा तपाईंको धारणामा परिवर्तन आयो ?

यसमा केही कुराहरु छन् । पहिलो कुरा भनेको हामी रिमोट प्रविधि र वस्तुहरुको माझ काम गरिरहेका छाैं । हामी निजी सञ्चार सामग्रीदेखि कार्यालयको काममा आवश्यक कर्पोरेट सञ्चार सामग्री, रिमोट उपस्थितिको पोर्टल सबै कुराहरुलाई समेटेर नयाँ फिचर रोल आउट गर्दैछाैं ।

यसबाहेक रिमोट वर्कमा खटिएका कर्मचारीहरुका लागि एआर, भीआर जस्ता अत्याधुनिक स‍ामग्रीहरु पनि हामी कर्मचारीहरुलाई उपलब्ध गराउँदैछाैं ।

भीआर, एआर र भिडियो च्याट जस्ता प्रविधि र क्षमताले लेस भएपछि कर्मचारीहरुमा जहाँसुकैबाट इच्छाअनुसार सबै काम गर्ने क्षमता अभिवृद्धि हुन्छ । यिनै कुराहरुले समयसँगै रिमोट वर्कमा सिफ्ट हुने गरी विश्वकै धारणा परिवर्तन गरिदिएको छ । 

निःसन्देह यी सबै नाटकीय परिवर्तन ल्याउने एउटै तत्व कोभिड १९ नै हो । यसबीच जति समय रिमोट वर्कको अभ्यास गरियो, त्यसको अनुभव सोचिएको भन्दा धेरै राम्रो थियो ।

अर्को एउटा व्यवहारिक कारणले पनि अहिले मानिसहरु चाहेर पनि कार्यालय जान सकिरहेका छैनन् । सामाजिक दूरी अपनाउँदा कार्यालयमा जनघनत्व २५ प्रतिशतमा सीमित भएको छ । यस कारण कतिपय मानिसहरु कार्यालय फर्केर जान सकिरहेका छैनन् ।

तर हामी यो कदम विधिवत् ढंगले सुरु गरिरहेका छाैं । सबै कर्मचारीलाई सजिलै रिमोट वर्कको अनुमति दिइने छैन ।

यदि कम्पनीभित्र तपाईंको निश्चित तह छ, पर्फमेन्स रेटिङ ठिक छ अनि रिमोट वर्कलाई सपोर्ट गर्ने प्रकृतिको जिम्मेवारी वा टिममा हुनुहुन्छ भने र तपाईंले वर्क फ्रम होमको अनुमति पाउनु भयो भने मात्रै अस्थायीरुपमा रिमोट वर्कर बन्न सक्नुहुन्छ । समयसँगै सिक्दै र अनुभव लिँदै हामी यो प्रावधानमा थप कर्मचारीहरुलाई सिफ्ट गराउने छाैं । 

तपाईंले भन्नु भयो आधा जति फेसबुकका कर्मचारीहरुले वर्क फ्रम होम गर्नसक्छन्। तर तपाईंहरु यो स्थितिसम्म कसरी आइपुग्नु भयो ?

वास्तवमा यो हाम्रो कुनै लक्ष्य होइन । यो एउटा अनुमान जस्तै हो । यहाँ पुग्नु अघि हामीले सर्वेक्षणहरु गर्याैं र मानिसहरुलाई उनीहरुको इच्छा सोध्याैं ।

हाम्रा कर्मचारीमध्ये २० प्रतिशतले आफूहरु फूल टाइम रिमोट वर्क गर्ने कुरामा अत्यधिक उत्साहित रहेको उत्तर दिए । अर्का २० प्रतिशतले पनि रिमोट वर्कमा एक किसिमको रुची देखाए ।

वर्क फ्रम होमको समय कटेर सबै कर्मचारी कार्यलयमा फर्किने समय हुँदैगर्दा हामीसँग ४० प्रतिशत यस्ता कमर्चारीहरु थिए जो रिमोट वर्कप्रति उत्साहित थिए । 

ती ४० प्रतिशत सबैले घरबाटै काम गर्छन् भन्ने थिएन । र ती ४० प्रतिशतममध्ये कतिपय यस्ता थिए, जो रिमोट वर्क सपोर्ट नगर्ने टिममा थिए ।

यसकारण मैले के सोचेँ भने आगामी पाँचदेखि दश वर्षसम्ममा हामी २० प्रतिशत त्यस्ता नयाँ कर्मचारीहरुलाई भर्ति गराउने छाैं, जो रिमोट वर्क चाहन्छन् र त्यसका लागि योग्य छन् ।

यस्तै हाम्रा हालका कर्मचारीहरु जो रिमोट वर्क चाहन्छन्, त्यसलाई सपोर्ट गर्ने टिम भित्र छन् र योग्य छन् भने त्यस्ता २० देखि ३० प्रतिशत संख्याका कर्मचारीहरुलाई रिमोट वर्कमा सिफ्ट गराउने छाैं । यसरी कूल ५० प्रतिशत कर्मचारीहरु हामी आगामी दश वर्षसम्ममा पुर्‍याने छाैं । 

गूगलका सीईओ सुन्दर पिचाईले महामारी अघिसम्म काम गरिरहेका कर्मचारीले उक्त भवन छोडेर जाँदा के हुन्छ भन्ने कुरा आफूले अझैं सोचिरहेको बताएका थिए । तपाईं चाहिँ कसरी एक्लै आफूले ब्रेन स्ट्रोमिङ गरेर सृजनशील काम गर्नसक्नुहुन्छ ?

यो एउटा ठूलो प्रश्न हो । एउटा सकारात्मक आश्चर्य के छ भने कतिपय कर्मचारीहरु अपेक्षा गरिएभन्दा राम्रा र उत्पादनशील भएका छन्  

कतिपयले सबैकुरा भताभुङ्ग हुने अनुमान गरेका थिए । तर त्यस्तो केही भएको छैन । वास्तवमा धेरैजनाले अहिले आफूहरु थप उत्पादनशिल भएको बताइरहेका छन् । 

तर तपाईंले सोधेको ठूलो प्रश्न एउटा दीर्घकालको कुरा हो । यो एउटा सामाजिक सम्पर्क हो । एउटा संस्कृति र सृजनशीलता हो ।  यसका लागि धेरै उपकरणहरु तयार गर्न आवश्यक हुन्छ ।

यिनै कारणले म सबै कर्मचारीले तत्कालै घर बसेर काम गर्नुपर्छ भन्दिनँ । अहिले हामी कोभिड १९ र सामाजिक दूरीका कारण टाढा बसेर काम गर्न बाध्य भएका छाैं । तर निकट भविष्यमा यो अझै धेरै हुनेछ । 

जब मैले यो रिमोट वर्क संस्कृतिको बारेमा सोचेँ तब मलाई एउटा कुरालाई लिएर चिन्ता बढ्यो त्यो के हो भने जो मानिसहरु आफ्ना करियरप्रित संवेदनशील छैनन्, जसलाई धेरै प्रशिक्षण, निगरानी र सञ्जालको आवश्यकता छैन उनीहरुका लागि रिमोट वर्क सम्भवत राम्रो नै छ । तर तपाईंले नयाँ तथा अनुभव नभएका कर्मचारीहरुलाई रिमोट वर्कको सुविधा नदिने कुरा गर्नु भयो । त्यस्तो किन ?

यसको कारण भनेको उनीहरु कहिल्यै यस्ता कम्पनीमा काम गरेका हुँदैनन् र उनीहरुमा त्यस्तो अनुभव पनि हुँदैन । उनीहरुले कसरी काम गर्ने भनेर सिक्न कार्यालयमै आउनुपर्छ ।

जब मैले यस्तो नीतिमा जानु अघि रिमोट वर्क गरिरहेका कम्पनीहरुलाई सोधेँ, तब मैले एउटा रोचक कुरा थाहा पाएँ । त्यो के भने उनीहरुले नयाँ कलेज ग्रेडका कर्मचारीहरुलाई कहिल्यै भर्ति गर्दैनन् ।

उनीहरुले भर्खरै कलेज छोडेका विद्यार्थीहरुलाई भर्ति नगर्ने बताएका थिए । तर नयाँ विद्यार्थीहरुलाई भर्ति गर्नु हाम्रो रणनीति नै हो । हामीले वर्षैपिच्छे हजाराैं त्यस्ता कलेज ग्रेडका विद्यार्थीहरुलाई काममा राखिरहेका छाैं र त्यसलाई निरन्तर जारी राख्ने छाैं ।

तर रिमोट वर्कमा नयाँ कर्मचारीहरुसँग काम गर्न ठूलो चुनाैती छ । यसकारण हामी उनीहरुलाई कार्यालय ल्याउन चाहान्छाैं । यो हाम्रो दीर्घकालीन सोच नै हो ।

कोभिड १९ को समयमा अघि बढ्न धेरै नै चुनाैतीपूर्ण छ । यसअवधिमा हाम्रा कम्पनीमा रहेका हजाराैं इन्टर्न कर्मचारीहरुको कार्यक्षमतामा ह्रास आएको छ ।

उनीहरु रिमोटमा बसेर काम गरिरहेका छन् । उनीहरुले कसरी काम गर्दा रहेछन् भनेर हेर्नु हाम्रो लागि रोचक प्रयोग भयो । हामीले नयाँ इन्टर्नहरुबाट धेरै कुरा सिक्याैं । 

फेसबुकका कर्मचारीहरुलाई यसरी टाढा राखेर काम गराउनुको पछाडि त्यस्ता के फाइदाहरु तपाईंले देख्नु भयो ?

हामीले जति सक्यौं, त्यति खुल्ला रुपमा काम गर्दाको फाइदा धेरै हुन्छ । यसको फाइदा कर्मचारी भर्तिमा मात्र होइन, कर्मचारीको कार्य प्रकियाको पक्षमा पनि देख्न सकिन्छ ।

धेरै राम्रा कर्मचारीहरुले हाम्रो कम्पनी छोडेर जान्छन् । जसलाई हामी राख्न चाहन्छाैं । यसको कारण भनेको उनीहरु त्यस्तो ठाउँमा जान चाहन्छन्, जहाँ हामीले सपोर्ट गर्न सक्दैनाैं ।

यसकारण रिमोट वर्कले त्यस्ता कर्मचारीहरुलाई सहज वातावरण बनाइदिन मद्दत गर्दछ र हामी दुवै पक्षलाई फाइदा पुग्छ । 

अर्को कुरा के छ भने यो रिमोट वर्क संस्कृतिमा सिफ्ट हुँदै गर्दा हाम्रा केही भावी प्रविधिलाई अत्याधुनिक बनाउन मद्दत गरेको छ । काम गर्दैगर्दा हामी भिडियो च्याट मार्फत दिनभर लाइभ हुन्छाैं । तर भीआर र एआरले यसलाई थप बढावा दिएको छ ।

यो प्रविधिभित्र अहिले कम्पनीका धेरै काम र कर्मचारीहरु छन् । तर कतिपय कर्मचारीहरु यसभन्दा बाहिर पनि छन् । अब यो चाँडै परिवर्तन हुँदैछ । यो कुराबाट म एकदमै धेरै उत्साहित छु । 

मैले यहाँ छुटाउन नहुने कुरा भनेको कम्पनीभित्र विविधता छ । जुन फाइदाको कुरा पनि हो । यहाँ विभिन्न समुदायका, विभिन्न पृष्ठभूमिका र विभिन्न ठाउँबाट कर्मचारीहरु आएका छन् ।

विश्वभरका लागि समान अवसर दिन आवश्यक छ । मानिसहरुलाई अवसर खोज्दै सहर आउन बाध्य बनाउनुको साटो अवसरलाई विस्तार गर्नु फाइदाजनक हुनेछ ।

यसको अर्को ठूलो वातावरणीय पक्ष पनि छ । मानिसहरु धेरै हिँडडुल र यात्रा गरिरहेका छन् । कोभिड १९ सुरु भएयता प्रदुषणमा व्यापक कमी आएको छ । यसकारण म ट्राफिकमा बसेर काम गर्नुभन्दा भर्चुअल रियालिटी प्रयोग गरेर टाढाबाटै काम गर्न रुचाउँछु । 

विश्वले रिमोट वर्कको अभ्यास गरेको यो सबैभन्दा लामो समय हो । वर्क फ्रम होमलाई लिएर तपाईंको आफ्नो धारणा कसरी विकास भयो त ?

टाढा बसेर मैले पनि काम गरेको यो सबैभन्दा लामो समय हो । मैले सोचेको भन्दा यो धेरै उत्पादनमुखी हुन गयो । मैले मानिसहरुबाट यो समय सुनिरहेको एउटा कुरा के छ भने, धेरैले आफूलाई यो बेला कार्यालयमाभन्दा धेरै उत्पादनशील भइरहेको पाएका छन् ।

तर यसअघि यसरी नै रिमोट वर्क गर्दाको अनुभवभन्दा यो बेलाको अनुभवमा कम उत्पादनमुखी भएको अनुभव उनीहरुले सेयर गरे । यसको कारण भनेको घरमा रहेको प्रतिकूल वातावरण नै हो ।

कोभिडका कारण सबै तनावमा छन् । बच्चाहरुको हल्लाखल्लाले एउटा मैत्रीपूर्ण र स्थिर वातावरण कर्मचारीहरुले पाइरहेका छैनन् । 

तपाईंले सिर्जनशीलताको विषयमा जुन कुरा गर्नु भयो, त्यसमा एउटा कुरा धेरैलाई थाहा छैन । हामीले विगत दश वर्षमा बनाएको संस्कृति र दिशाबाट हामी जसरी फरक धार समाइरहेका छाैं, अबको दिनमा परिवर्तन गर्दै अगाडि जान त्यति नै अप्ठ्यारो हुनसक्छ ।

तर मेरो अहिलेसम्मको अनुभवले यो त्यति धेरै अप्ठ्यारो हुन्न जस्तो लाग्छ । हामीले दिशा परिवर्तन गरिसकेका छाैं र धेरै प्रविधि विकास गरिसकेका छाैं । यो समय धेरै प्रविधि र अन्वेषणहरु विकास भएर हामी सामू आइपुगेका छन् ।

यसकारण कम्पनीलाई नयाँ संस्कृतिमा ढालेर लानसक्ने कुरामा म मेरो नेतृत्व क्षमताप्रति आशावादी छु । तर अरु कुरा समयसँगै देखिँदै जान्छ । धेरै कुरा हामीलाई थाहा नभएका कुराहरु पनि छन् ।

भविष्यमा कुनै दिन कोभिड १९ को भ्याक्सिन पत्ता लाग्नेछ । त्यो बेला वर्क फ्रम अफिस भर्सेस वर्क रिमोटमा तपाईं व्यक्तिगतरुपमा आफूलाई कता देख्नुहुन्छ ?

यो राम्रो प्रश्न हो । मेरो अवस्था सामान्य छैन । मैले मानिसहरुलाई भेट्न यात्राहरु गरिरहनुपर्छ । व्यवसायिक साझेदार र सरकारी अधिकारी र कार्यालयमा आउने विभिन्न मानिसहरुलाई भेटिरहनुपर्छ । यसकारण मैले चाहे पनि पूर्ण रुपमा रिमोट वर्क गर्न सम्भव छैन । 

म कर्मचारीहरुसँग सधै जोडिन चाहन्छु । यसकारण हामीले विकास गरिरहेका अत्याधुनिक प्रविधिहरुको म प्रयोग गर्नेछु ।

आगामी दिनमा मैले मेरो धेरै समय टाढा रहेर बिताउने योजना बनाउने विचार गरेको छु । तर मेरो भूमिकामा रहेका कसैले त्यसो गर्दा कस्तो देखिन्छ भन्ने कुरामा पनि म विचार गर्दैछु ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३