close

टोर के हो र यसको प्रयोग कसरी गर्ने ?

टेकपाना टेकपाना

जेठ ११, २०७७ ९:५६

टोर के हो र यसको प्रयोग कसरी गर्ने ?

काठमाडौं । इन्टरनेटमा गोपनीयता तथा सुरक्षाको विषयमा तपाईंले भर्खरै थाहा पाउँदै हुनुहुन्छ भने टोरको विषयमा तपाईंले नसुन्नु भएको हुनसक्छ ।

यो एउटा इन्टरनेट कनेक्टेड सफ्टवेयर हो, जसको आफ्नै इन्टरनेट ब्राउजर थियो । टोरले विश्वसनीय इन्क्रिप्सन तथा प्रयोगकर्तालाई इन्टरनेट ट्रयाकबाट बचाउने एउटा राम्रो सफ्टवेयरको छवी बनाएको छ ।

के हो त टोर ?

१९९० को मध्यतिर अमेरिकी नौसैनिक आफ्नो संवेदनशील गोप्य जानकारीहरुको लागि सञ्चार गर्ने एउटा सुरक्षित माध्यमको खोजी गरिरहेका थिए । त्यतिखेर नौसैनिकको रिसर्च ल्यावमा एकजना गणितविद् तथा दुई कम्प्युटर वैज्ञानिकले ‘अनियन राउटिङ’ नामको एउटा प्रविधि विकास गरे ।

त्यो एउटा नयाँ प्रविधि थियो, जसले इन्टरनेट ट्राफिकलाई विभिन्न गोपनीयताको तहले सुरक्षा प्रदान गर्दथ्यो । सन् २००३ पछि उक्त अनियन राउटिङ प्रोजेक्टलाई टोरको छोटो नाम दिइयो ।

त्यस बेलासम्म यो सर्वसाधारणको पहुँचमा पुगिसकेको थियो । यसको युजर नेटवर्क पनि व्यापक बनिसकेको थियो । 

आज विश्वका हजाराैं स्वयम्‌सेवकहरुले तपाईंको इन्टरनेट ट्राफिकको ‘नोड्स’ र ‘रिलेज’ बनेर टोर नेटवर्क बनाउन आफ्ना कम्प्युटर इन्टरनेटमा जोडिरहेका छन् । 

आधारभूत रुपमा बुझ्दा टोर एउटा इन्टरनेट कनेक्टेड नेटवर्क हो, जसको आफ्नै इन्टरनेट ब्राउजर छ । एकपटक टोर ब्राउजर प्रयोग गरेर इन्टरनेटमा कनेक्ट भएपछि तपाईं टोर नेटवर्कभित्र प्रवेश गर्नुहुन्छ ।

तब तपाईंको इन्टरनेट ट्राफिक टोरको सूचना पहिचान गर्ने पहिलो लेयरबाट अलग्गिन्छ । त्यसपछि रिले नोड्सबाट बाउन्स हुँदै त्यो इन्टरनेट ट्राफिक जान्छ । यसरी तपाईंको डेटा एउटा प्याज जस्तै लेयर नै लेयर हुँदै इन्क्रिप्ट र गोप्य हुन पुग्छ ।

अन्तिममा तपाईंको ट्राफिकले एक्जिट नोड्सलाई हिट गर्छ र तपाईंले टोर नेटवर्क छोडेर ओपन वेबमा प्रवेश पाउनुहुन्छ । जतिखेर तपाईं टोर नेटवर्कभित्र छिर्नुहुन्छ, त्यस बखत कसैले पनि तपाईंको इन्टरनेट गतिविधिलाई ट्रयाक गर्न सक्दैन ।

अनि जब तपाईं एक्जिट नोड हुँदै टोर नेटवर्कबाट बाहिरिनु हुन्छ, तब विश्वको कुन कुनाबाट तपाईंले वेबसाइट भिजिट गर्दै हुनुहुन्छ भन्ने कुरा थाहा पाउन सकिँदैन । साथै यसले तपाईंलाई थप गोपनीयता र सुरक्षा समेत प्रदान गर्दछ । 

टोर कसरी प्रयोग गर्ने ?

साधारण वेब ब्राउजिङमा टोरको प्रयोग गर्न सजिलो छ । अफिसियल साइटमा गएर टोर ब्राउजर डाउनलोड गर्नुहोस् । (टोर डाउलोड गर्न यहाँ क्लिक गर्नुहोस् ) त्यसपछि इन्स्टलेसनका लागि दिइएको इन्स्ट्रक्सन फलो गर्नुहोस् । 

जब तपाईं पहिलोपटक टोर खोल्नुहुन्छ, तब यो सजिलै कनेक्ट हुन्छ । तर यदि तपाईं टोर प्रतिबन्ध लगाइएको मुलुकमा बस्नुहुन्छ भने यसले तपाईंको कनेक्सनलाई कन्फिगर गर्न आग्रह गर्छ । 

अन्य सामान्य ब्राउजर प्रयोग गरेजस्तै टोर पनि प्रयोग गर्न सजिलो छ । तपाईंले यसबाट आफ्नो ब्राउजर सेक्युरिटी सेटिङ पनि रिभ्यू गर्न सक्नुहुन्छ । यदि तपाईं अझै धेरै सेक्युरिटी चाहनुहुन्छ भने सेटिङलाई डिफल्ट सेलेक्सनमा छोडिदिनुहोस् ।

यदि तपाईंको टोर ब्राउजर सामान्य अवस्थामा भन्दा पनि स्लो छ भने ‍तपाईंले हेर्न चाहेको वेबसाइटसम्मको क्विकर कनेक्सन पथ चेक गरेर यसलाई फास्ट बनाउन सक्नुहुन्छ ।

टोर ब्राउजरको माथी दायाँ कुनामा तीन लाइनको मेनु आइकन देख्न सक्नुहुन्छ । त्यहाँ न्यू टोर सर्किट फर दिस साइट सेलेक्ट गर्नुहोस् ।

गोपनीयतामा केन्द्रीत ब्रेभ ब्राउजरमा समेत प्राइभेट विण्डोभित्र हुँदा टोरबाट ट्राफिक रुट गर्ने अप्सन हुन्छ । (ब्रेभ डाउलोड गर्न यहाँ क्लिक गर्नसहोस् )

के टोरका नकरात्मक असर पनि छन् ?

टोर स्वयम्‌सेवीहरुले चलाएको नेटवर्क हो । यसमा स्पीडको गुनासो आउन सक्छ । तपाईंको ट्राफिक एउटा नोडदेखि अर्को नोड हुँदै जाने हुँदा धेरै स्पीड क्षय हुनसक्छ ।

विशेषगरी नेटफ्लिक्स जस्ता भिडियो स्ट्रिमिङ प्लेटफर्म हेर्दै गर्दा, आईपी फोन कलहरुमा भ्वाइस ओभर दिदाँ वा जूम एपमा भिडियो कल गर्दा तपाईंले ड्रप महसुस गर्न सक्नुहुन्छ । वास्तवमा टोर अडियो वा भिडियो अनुभवका लागिबनाइएको प्रविधि नै होइन ।

टोरबाट फाइल टोरेन्टिङ गर्दा तपाईंको गोपनीयता खतरामा हुनसक्छ । यस किसिमका जोखिमका कारण टोरको प्राइभेसी सेटिङमा बाइ डिफल्ट प्लग ईनहरु डिसेबल हुन्छन् । 

यदि तपाईं सामान्य किसिमको इन्टरनेट सर्फिङ गर्न चाहनुहुन्छ र सामान्य प्रयोगकर्ता हुनुहुन्छ भने टोर तपाईंको लागि विकल्प होइन । यसले तपाईंको स्पीडलाई स्लो बनाउँछ र यसमा धेरै मिडियाहरु इम्बेड हुने हुँदा यो उपयुक्त नहुन सक्छ ।

तर यदि तपाईं गोपनीयता र सुरक्षाबारे निकै गम्भीर हुनुहुन्छ र कुनै पनि निश्चित विषयमा इन्टरनेट सर्च गर्दै हुनुहुन्छ, तर तपाईसँग भीपीएन छैन भने यो तपाईंका लागि राम्रो विकल्प बन्नसक्छ ।

टोरले भीपीएनमा काम गर्नसक्छ ?

टोर र भीपीएन कनेक्सनबीचको सहकार्यलाई कन्फिगर गर्न कुनै कुनै बेला अप्ठ्यारो पर्न सक्छ । यदि दुवैलाई मिलाएर सेट गर्न सकिएन भने टोर र भीपीएन दुवैले तपाईंको गोपनीयताको रक्षा गर्न सक्दैनन् ।

यसकारण यी दुवै सफ्टवेयरलाई एकसाथ प्रयोग गर्नु अघि यी राम्ररी थाहा पाइराख्न जरुरी छ । तर यी दुवैलाई मिलाउन सक्नुभयो भने यो एकदमै उपयोगी र प्रभावकारी हुन्छ ।

टोरले तपाईंको इन्टरनेट ट्राफिकलाई सुरक्षा दिन्छ भने आफ्नो डिभाइसको ब्याकग्राउण्डमा प्रयोग भइरहेका हरेक एपको इन्टरनेट ट्राफिकलाई तपाईले भीपीएनको माध्यमबाट इन्क्रिप्ट गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३