close

इन्टरनेट उपकरणको चरम अभाव, मर्मतसम्भार नहुँदा प्रयोगकर्ताको गुनासो बढ्यो

टेकपाना टेकपाना

जेठ ११, २०७७ १३:१५

इन्टरनेट उपकरणको चरम अभाव, मर्मतसम्भार नहुँदा प्रयोगकर्ताको गुनासो बढ्यो

काठमाडौं । दुई महिना लामो लकडाउनका कारण बजारमा इन्टरनेट उपकरणको अभाव हुन थालेको छ । सेवाप्रदायकहरुसँग भएको स्टक रित्तिएसँगै इन्टरनेट सेवाको मर्मत सम्भारमै समस्या देखिन थालेको हो ।

इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुका प्रमुख कार्यकारी अधिकृत विनयमोहन साउदले लामो समयको लकडाउनका कारण उपकरण आयात नहुँदा आफूहरुसँग रहेको स्टकसमेत सबै सकिएको बताए । ‘अहिले हामीलाई राउटर, सेटटप बक्स, डिस्ट्रिब्युसन केबल, लगायतका उपकरण अभाव हुन थालेको छ,’ उनले भने ।

सेवाप्रदायकहरुले समस्या बेहोर्न थालेको लकडाउनयता मात्रै होइन । इन्टरनेट सेवाका लागि आवश्यक उपकरण तथा सामग्री सबैजसो चीनबाटै आयात हुने गरेका छन् । नेपालमा लकडाउन सुरु हुनु अघि कोरोना भाइरसको उद्गम स्थल चीन लकडाउनमा रहेको थियो ।

नेपाल लकडाउनमा गइसकेपछि मात्र चीनको लकडाउन खुलेका कारण लामो समयदेखि उपकरण आयात हुन नसकेको प्रमुख कार्यकारी अधिकृत साउदको भनाई छ । अगाडि उनले भने, ‘यसबाट नयाँ कनेक्सन मात्रै नभएर भइरहेका कनेक्सनको मर्मत सम्भार समेत प्रभावित भएको छ ।’

नेपालकै ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकका सीईओ केशव नेपालले लकडाउन सुरु भएयता उपकरण आउन नसकेको बताए । ‘हामीसँग पनि अब एक महिना जतिको स्टक मात्र बाँकी छ,’ उनले भने, ‘प्रयोगमा नरहेका इन्टरनेट लाइन र उपकरणलाई पुनः प्रयोग गरेर भए पनि समस्यालाई टार्ने प्रयास गरिरहेका छौं । एयरलिफ्ट मार्फत थप सामान ल्याउने प्रयास समेत जारी छ ।’

अर्को इन्टरनेट सेवाप्रदायक कम्पनी भायनेटका संस्थापक तथा प्रबन्ध निर्देशक विनय बोहराले समेत उपकरण अभावले समस्या पैदा भएको बताए । ‘उपकरण अभावले गर्दा मर्मत सम्भार निकै नै चुनौतिपूर्ण भएको छ,’ उनले भने, ‘जसका कारण इन्टरनेट सेवामा प्रयोगकर्ताको असन्तुष्टि पनि बढेको छ ।’

नियामक नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले औपचारिक तथा अनौपचारिक गुनासो आउने क्रम बढेको बताए । उनले भने, ‘उपभोक्ताबाट लाइन काटिएको, इन्टरनेट स्लो भएको र समयमा मर्मत सम्भार नभएको जस्ता गुनासो आउन थालेका छन् ।’

लामो समयदेखि अर्डर गरेका सामान चीन तथा हङकङमै रोकिएको सेवाप्रदायकहरुको गुनासो छ । तर दूरसञ्चार सेवाको नियमन तथा सहजीकरणको काम गर्दै आइरहेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भने सेवाप्रदायकको तर्फबाट त्यस किसिमको कुनै अनुरोध नै नआएको बताए ।

उनले भने, ‘मेडिकल सामग्री र औषधी सबै चार्टर विमानबाटै आइरहेका छन् । सेवाप्रदायकहरुले पनि त्यसैगरी विमान चार्टर गरेर आवश्यक उपकरण ल्याउन सक्छन् । त्यसका लागि उहाँहरुबाट कुनै किसिमको अनुरोध आएको खण्डमा सहजीकरणका लागि हामी तयार नै छौं ।’

अध्यक्ष खनालले एकल कम्पनीको रुपमा विमान चार्टर गर्न मुस्किल भएको खण्डमा इन्टरनेट सेवाप्रदायक नेपाल (आइस्पान) मार्फत संयुक्त रुपमा आउन सुझाव समेत दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३