२०७९, २७ श्रावण शुक्रबार   |  
Friday 12th August 2022

यसकारण सबै बालबालिकालाई सिकाउन जरुरी छ, कोडिङ ल्याङ्ग्वेज

काठमाडौं । विश्वभर अहिले सबै जानकारीहरु डिजिटल स्वरुपमा  परिवर्तन भइरहेका छन् । यसलाई एउटै शब्दमा डिजिटलाइजेसन भनिन्छ । यसले सार्वजनिक तथा निजी क्षेत्रको उत्पादकत्वलाई बढाएको छ । 

परिणामस्वरुपमा विश्वका सबै मुलुकहरु अहिले डिजिटल अर्थतन्त्रमा प्रतिस्थापन हुन अग्रसर छन् । यो नयाँ  किसिमको अर्थतन्त्रको उदय हुँदै गर्दा कम्प्युटर प्रोग्रामिङ जस्तो विशेष सीपको समेत आवश्यकता खट्किएको छ । 

प्रोग्रामिङ भनेको अंकहरुको भाषा हो, जसलाई कोड भनिन्छ । 

कोडले मानिसहरुलाई इन्स्ट्रक्सन लेख्न सिकाउँछ । जसलाई कम्प्युटरले बुझ्ने गर्छ र त्यसै आधारमा काम गर्छ । यसको उद्देश्य भनेको एउटा वेब पेजबाट एउटा इमेज वा एउटा सफ्टवेयर बनाउनु हो । 

कोडिङ भाषाको जन्म १९४० को दशकमा भएको हो । यो सिक्नलाई जटिल थियो र यसका लागि गणितको अत्याधुनिक ज्ञान आवश्यकता थियो । १९९० मा आइपुग्दा विश्वविद्यालय, व्यवसायीय संस्थाहरु इन्टरनेटमा जोडिन थाले । उच्च स्तरको कोडिङ भाषा प्रयोग गर्नका लागि कम्प्युटिङ स्पीड र मेमोरीमा सुधार भयो । 

विस्तारै कोडिङ ल्याङ्ग्वेजका ट्युसनहरु अनलाइनमा पाइन थाले । ओपन सोर्स प्लेटफर्ममा पनि यो उपलब्ध हुँदै गयो । मानिसहरुले यसलाई सजिलै सिक्न थाले । आजको समयमा आइपुग्दा कोडिङ ल्याङ्ग्वेज जाभास्क्रिप्ट बच्चाहरुले पनि सजिलै सिक्न सक्ने भएका छन् । 

अबको समयमा डिजिटल प्रविधिबाट कोही पनि टाढा बस्न सक्दैन । अहिलेको समयमा यो हरेक क्षेत्रमा प्रयोग भइरहेको छ । अस्पतालहरुका उपकरण, रिमोट एजुकेसन, डेलिभरी, मार्केटिङ, क्रिएटिभ आर्ट, शान्ति वा कृषि उत्पादकत्व सुधार सबैमा प्रयोग भइरहेको छ । 

कोडिङ ल्याङग्वेजले त्यस्ता सफ्टवेयरहरु विकास गर्दछ, जसले विभिन्न किसिमका समस्या तथा चुनौतीहरुको समाधान गर्न सक्छ । उदारहणका लागि अहिले बैंक अकाउन्ट नहुने मान्छेहरुले पनि कोडिङकै कारणले मोबाइल फोनको प्रयोग गरेर आफ्नो पैसा राख्ने, पठाउने र सापटी लिने गर्न सक्छन् । देश विकास गर्नलाई यो एउटा मह्वपूर्ण सीप हो । 

बितेका चार दशकमा, प्राथमिक तहका विद्यार्थीहरुले कोड सिक्दा पर्नसक्ने असरबारे विभिन्न अध्ययनहरुमा विश्लेषण गरिएको छ । विशेषगरी ६ देखि १३ वर्ष उमेर समूहबीचका बालबालिकाहरुमाथि यो अध्ययन गरिएको थियो । प्रत्येक अध्ययनमा बालबालिकहरुको भविष्यको लक्ष्य जुनसुकै भए पनि कोडिङ ल्याङग्वेज उनीहरुका लागि लाभदायक भएको पाइएको थियो । 

कम्प्युटर भाषा

कोडिङ आफैंमा एउटा नयाँ र फरक भाषा हो । हामी सबैलाई थाहा छ, वयस्कहरुले भन्दा बालबालिकाहरुले छिटो नयाँ भाषा सिक्न सक्छन् । यसकारण बालकालबाट नै कोडिङ सिकाउनु उपयुक्त तरिका हो । 

अष्ट्रेलिया, फिनल्याण्ड, इटाली र इङल्याण्ड जस्ता विभिन्न मुलुकहरुमा पाँचदेखि १६ वर्ष उमेर समूहका बालबालिकाहरुका लागि कोडिङ पाठ्यक्रम नै विकास गरिएको छ । 

कोडिङ भाषाले जिरो र वान अंकसँग काम गर्छ । यो नम्बरको लहरले अल्फाबेटलाई प्रतिनिधित्व गर्छ । त्यसपछि यो शब्द र वाक्यमा अनुवाद हुन्छ र कम्प्युटर तथा प्रोसेसरले यसबाट विशेष कामहरु गराउन सक्छ । उदाहरणका लागि स्क्रीनमा एउटा तस्वीर प्रिन्ट गर्नुहोस्, कम्प्युटरमा सेभ भएको एउटा डक्युमेन्टलाई ओपन गर्नुहोस् वा केही म्युजिकहरु प्ले गर्नुहोस् । 

हामीकहाँ विभिन्न किसिमका कोडिङ भाषाहरु छन् । कतिपय बुझ्न एकदमै सजिला छन् र बालबालिकाहरुले पनि त्यसलाई चाँडै सिक्न सक्छन् । स्क्र्याच जस्ता भिजुअल प्रोग्रामिङ ल्याङ्ग्वेजहरु बालबालिकाहरुका लागि बनाइएका हुन् । जसमा उनीहरुले तस्वीर, संकेत र चित्रहरु हेरेर कोड सिक्न सक्छन् । बालबालिकाहरु लागि बनाइएका अन्य प्रोग्रामिङ ल्याङग्वेज भनेका पाइथन, रुबीगो हुन् । 

अधिकांश ल्याङ्ग्वेजहरु कमाण्डका श्रृङ्खला लेख्न तथा वेब एप्लिकेसनहरु बनाउन प्रयोग हुन्छन् । 

कोडिङको फाइदा 

भविष्यमा कोडिङको क्षेत्रमा जानका लागि मात्र होइन, अन्य न्युमेरिक साइन्सको तुलनामा कोडिङ ल्याङग्वेजले बालबालिकाहरुको सिर्जनशीलतालाई समेत बढाउँछ । 

उदारहणका लागि अफ्रिकामा गणित पढाउन अझैं रटेर सिक्ने विधि अपनाउने गरिन्छ । रट्ने सिकाई एउटा असान्दर्भिक शिक्षण विधि हो, जसले बालबालिकाहरुको सिर्जनशीलतालाई दबाउने काम गर्दछ । 

रट्ने विधि सुँगा रटाइमा आधारित सिकाई हो । अनुसन्धानकर्ताहरुका अनुसार यो रोट लर्निङ विधि एकदमै निस्प्रभावकारी छ । किनभने यसबाट विद्यार्थीहरुले आफूले सिकेको कुरा कुन ठाउँमा प्रयोग गर्ने भन्ने कुरा सिक्न पाउँदैनन् । 

तुलनात्मकरुपमा कोडिङ भाषाले तार्किक सोचाईको विकास गर्दछ । साथै यो विशेष किसिमको समस्या समाधान गर्नतर्फ केन्द्रीत हुन्छ । यसले बालबालिकाहरुलाई एउटै अवस्थालाई समेत विभिन्न कोणबाट विश्लेषण गर्न सिकाउँछ र सिर्जनशील समाधानका उपायहरु खोज्न मद्दत गर्छ । उनीहरुले यो आइडियलाई परीक्षण समेत गर्न सक्छन् । यदि त्यसले काम गरेन भने के कुरामा चुक्यौं भनेर समीक्षा गर्न पनि सक्छन् ।

केही अध्ययनहरुले कोडिङले भावी दिनमा रोजगारीका लागि आवश्यक सहकार्य र सञ्चारका आवश्यक सीपहरुको पनि विकास गर्न मद्दत गर्दछ ।

कोडिङको पहुँच

कम्प्युटर तथा स्मार्टफोन जस्ता ब्रोडब्याण्ड तथा डिजिटल डिभाइसहरु कोड सिक्नका लागि महत्वपूर्ण उपकरणहरु हुन् । कोडिङ सिक्नका लागि यी उपकरण साथमा हुन जरुरी छ । यसका लागि सरकारले ब्रोडब्याण्डमा लगानी बढाउनुपर्छ । ताकी उच्च गतिमा उच्च गुणस्तरीय डेटा प्रशारण हुन सकोस् । यस्ता कार्यमा सरकारले अनुदान पनि उपलब्ध गराउनुपर्छ । साथै सबै बालबालिकाहरुका लागि घरमै बसेर वा विद्यालयबाट कोडिङ सिक्न पाउने वातावरण मिलाउन सरकारले सूचना तथा सञ्चार प्रविधि-आईसीटी उपकरणमा कर कटौती गर्नु पर्छ । 

केन्या, इथोपिया, घाना र रुवाण्डा जस्ता धेरै अफ्रिकी मुलुकहरुले आईसीटी क्षेत्रलाई सुधार गर्न तथा ब्रोडब्याण्ड क्षमता बढाउन विभिन्न कदम उठाइरहेका छन् ।

तर यस्ता विषयमा जानकार मानव जनशक्ति तथा संसाधनहरु पर्याप्त मात्रामा उपलब्ध नभएसम्म सबै विद्यालयमा कोडिङको पाठ्यक्रम विकास गर्न त्यति सजिलो भने छैन । विद्युत, संसाधन, कम्प्युटर तथा यो प्रविधि जानेका शिक्षकहरुको देशमा अझै अभाव छ । 

तर बालबालिकाहरुले कोड सिक्ने अन्य अनौपचारिक माध्यमहरु समेत छन् । बूट क्याम्प, कोडल्याब, होलिडे कोडिङ क्याम्प र आफ्टर स्कूल कोडिङ ग्रुप आदीबाट बालबालिकाहरुले अनौपचारिक रुपमा कोडिङ सिक्न सक्छन् । केन्यामा बालबालिकाहरुका लागि स्वतन्त्र मोडुलर कोडिङ प्रोग्रामहरु सञ्चालन भइरहेका छन् । यसअलावा विभिन्न अनलाइन लर्निङ टूलहरु पनि छन् । जस्तै म्यासाच्युसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजीको ओपनकोर्स वेयरकोडएकेडेमी

कोडिङ अब कम्प्युर वैज्ञानिकहरुको मात्र विषय रहेन । सबै किसिमको पेशा तथा व्यवसायमा यसको आवश्यकता छ । त्यसैले अन्य विषय जस्तै यसलाई पनि कलिलै उमेरदेखि बालबालिकाहरुलाई सिकाउनुपर्छ । 

युनिभर्सिटी अफ नैरोबीका प्रोफेसर बिटेञ्ज एन्डेमोको यो आलेख द कन्भर्सेसनबाट अनुवादित गरिएको हो । यो आलेख अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस् । 

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team