close

यी नेपाली ट्राभल भ्लगर, जसले लकडाउनमा घुमाउँछन् देश-दुनियाँ

टेकपाना टेकपाना

जेठ १२, २०७७ १२:५१

यी नेपाली ट्राभल भ्लगर, जसले लकडाउनमा घुमाउँछन् देश-दुनियाँ

काठमाडौं । लकडाउनमा घरभित्र बसिरहँदा तपाईंलाई दिक्क लागिसक्यो होला । अझ घुम्नुपर्ने बानी परेकालाई त छट्पटि नै भएको हुनुपर्छ । त्यस्तै दिक्दारी हटाउन देश दुनियाँ घुमाउने नेपाली ट्राभल भ्लगरको जानकारी आज यहाँ पस्किँदै छौं । 

युट्युवको व्यापकतासँगै ट्राभल भ्लगिङ भिडियो विश्वभर नै प्रचलनमा छ । आफ्नो घुमघाम अनुभवसहित दर्शकलाई नयाँ ठाउँबारे जानकारी दिन भ्लगरहरु मेहनत गरिरहेका भेटिन्छन् । नेपालमा पनि त्यस्ता केही भ्लगरहरु छन्, जसले नेपालकै अनेक ठाउँहरुको रोमाञ्चक अनुभव समेटेर युट्युवमा अपलोड गरिरहेका हुन्छन् ।

त्यस्ता धेरै नेपाली भ्लगरहरुमध्ये हामीले आज यहाँ केही नेपाली भ्लगरहरु छनौट गरेका छौं, जसले नेपालका नयाँ नयाँ ठाउँहरुको जानकारीसहित उच्च गुणस्तरिय भिडियोमार्फत देश दुनियाँ घुमाइरहेका छन् । 

७. अनुप गुरुङ

युट्युवमा अनुप गुरुङका धेरै सब्स्क्राइबर छैनन् । तर उनका भिडियो नेपालको नयाँ स्वाद चखाउन पर्याप्त छन् । व्यवसायीक कायकर समेत रहेका गुरुङ आफ्नो भ्लगमा नेपालका नदीहरुमा कायकिङ गरिरहेका भेटिन्छन् ।

साहसिक पर्यटनमा रुची राख्नेले उनको भ्लग छुटाउनु हुँदैन । माउन्टेन बाइकिङदेखि अनेक किसिमका साहसिक गतिविधि उनको भ्लगमा देख्न सकिन्छ । उनको इस्ट टु वेस्ट नेपाल सिरिज छ, युट्युबमा ।

पछिल्लो समय लकडाउनकै क्रममा दैलेख पुगेका उनले कर्णाली नदी किनारमा बिताएका आफ्ना अनुभव सहितको सिरिज पोस्ट गरिरहेका छन् । उनको यो सिरिज निकै लोभ्याउने किसिमको छ । उनका भिडियोले संकटमा बाँच्न सिकाउँछन् । कायकिङकै क्रममा विदेश रहँदाको अनुभव पनि उनले आफ्नो भ्लगमा राखेका छन् । 

अनुप गुरुङका भ्लग हेर्न यहाँ क्लिक गर्नुहोस् । 

६. स्याम्मी टीभी

समृद्धी राईको भ्लग च्यानल हो स्याम्मी टिभी । समृद्धी साहसिक काम गर्न रुचाउँछिन् । आफ्नो भ्लगमा त्यस्तै साहसिक भिडियो राखेर दर्शकलाई फरक अनुभव गराउँछिन् ।

यात्राको लागि उत्प्रेरित गर्छिन् । यसबाहेक देशका विभिन्न ठाउँमा घुम्ने उद्देश्यले निस्किँदा उनी सकेसम्म त्यसको भ्लग बनाउँछिन् र दर्शकहरुलाई पनि त्यसको स्वाद चखाउँछिन् । 

समृद्धी राईको भ्लग हेर्न यहाँ क्लिक गर्नुहोस् ।

५. मिलन थापा 

मिलन थापा देशका अनेक ठाउँ घुम्छन् । अनि भिडियो बनाउँछन् । जस्तो अनुभव गर्छन् त्यस्तै देखाउँछन् । नेपालीहरुले प्रायः नाम सुनेका पर्यटकीय गन्तव्य उनको भिडियो कन्टेन्ट हुन् ।

पोट्रेट भिडियोमा दख्खल राख्ने उनी विगत एक वर्षयता युट्युवबाट दर्शकलाई देश घुमाइरहेका छन् । खप्तडदेखि तिनजुरेसम्मका ठाउँहरु उनको भ्लगमा देख्न सकिन्छ । 

मिलन थापाका भ्लग हेर्न यहाँ क्लिक गर्नुहोस् । 

४. पवन साम

पवन आफ्नो टिमसँग देश घुमिरहन्छन् । त्यहिं घुमघामलाई समेट्छन्, आफ्नो भ्लगमा । कहिले बाईक राइडिङमा उपत्यका नजिकका ठाउँ घुम्छन्, त कहिले देशभित्रै लामो यात्रामा निस्किन्छन् ।

आफूले यात्रा गरेको ठाउँको विवरण पनि उनी सकेसम्म भिडियोमा समेट्ने प्रयास गर्छन् । उनको टिमसँगको यात्रा तपाईंहरुलाई पक्कै बोर हुने छैन । 

पवन सामका भ्लग हेर्न यहाँ क्लिक गर्नुहोस् ।

३. घुमन्ते 

घुमन्ते घुम्नेहरुको समूह हो । जसले नेपालीहरु खासै नपुगेका र बाहिर नआएका ठाउँहरु खोज्ने र घुम्ने काम गर्छ । अपी हिमाल बेस क्याम्प, कञ्चनजङ्गा बेस क्याम्प, मिलेनियम ट्रेक, छिम्केश्वरी, सिक्लेस, दुधकुन्ड, मन्जुश्री ट्रेलजस्ता नयाँ नयाँ यात्रा घुमन्तेको भ्लगमा गर्न सकिन्छ ।

भिडियोमा उनीहरु निकै मेहनत गर्छन् । ठाउँहरुको सम्पूर्ण विवरणसहित यात्राबारे धेरै सूचना पाइन्छ घुमन्तेको भ्लगमा । नेपालको कला संस्कृति देखाउने काममा पनि यो समूह अगाडि छ । 

घुमन्तेको भ्लग हेर्न यहाँ क्लिक गर्नुहोस् । 

२. राईड विथ सागर

बाईकिङसहितको यात्रामा सोख छ भने राईड विथ सागर भ्लग उपयोगी हुन सक्छ । उनी नेपालभित्रका अफरोड यात्रादेखि लामो दूरीका ठाउँमा बाइकबाटै यात्रा गर्छन् । साहसिक यात्रामा रुचि राख्नेलाई उनको भ्लग अनुभव रमाइलो नै हुन्छ ।

साग्रको भ्लग हेर्न यहाँ क्लिक गर्नुहोस् ।

१. सिसन बानिया

सिसन नेपालकै चर्चित भ्लगर हुन् । नेपालमा ट्राभल भ्लगिङलाई व्यवसायीक रुपमा अगाडि ल्याउन उनको पनि योगदान छ । उनी त्यस्तो विशेष केही गर्दैनन्, तर भिडियोमा सानो सानो कुरा पनि सकेसम्म छुटाउँदैनन् ।

सहर बजारका खानपिनदेखि किनमेल, घरपरिवार पनि उनको भिडियोमा अटाउँछन् । उनी आफूलाई लागेका सामान्य कुरा पनि भिडियोमा बोल्छन्, जानकारी दिन्छन् । पछिल्लो समय उनले गरेको युरोप यात्राको भ्लग पनि निकै चर्चित बन्यो ।

उनको आफ्नो भिडियोमा प्रायः सबै विवरण समेट्छन् । जसले दर्शकलाई प्रष्ट बनाउँछ । उनका भ्लगमा भिडियो एडिटिङको सीप पनि देख्न पाइन्छ, जसले यात्रालाई विशेष बनाइरहेको हुन्छ । 

सिसन बानियाँको भ्लग हेर्न यहाँ क्लिक गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३