close

अनलाइनबाटै कर्मचारी सञ्चय कोषको १० लाखसम्मको सापटी, आवेदन दिन यसो गर्नुहोस्

टेकपाना टेकपाना

जेठ १४, २०७७ १६:४९

अनलाइनबाटै कर्मचारी सञ्चय कोषको १० लाखसम्मको सापटी, आवेदन दिन यसो गर्नुहोस्

काठमाडौं । कर्मचारी सञ्चय कोषले अनलाइनबाटै विशेष सापटी सेवा सुरु गरेको छ । कोरोना भाइरसको महामारी तथा लकडाउनको असहज अवस्थालाई मध्यनजर गर्दै कोषले आइतबारदेखि अनलाइन सेवा सुरु गरेको हो ।

सञ्चयकर्तालाई सरल, सहज र प्रभावकारी रुपमा सेवा उपलब्ध गराउन अनलाइन विशेष सापटी सेवा सुरु गरिएको कोषले जनाएको छ । अनलाइन सापटी माग गर्न अनिवार्य रुपम सञ्चयकर्ता र सम्बन्धित कार्यालयको केवाईसी अद्यावधिक भएको हुनुपर्नेछ ।

अद्यावधिक नहुने कार्यालयहरुले अनलाइनबाटै केवाई अद्यावधिक गर्न सक्ने सञ्चय कोषले जनाएको छ । कोषले सम्बन्धित सञ्चयकर्ता र कार्यालयलाई उपलब्ध गराएको युजरनेम र पासवर्ड प्रयोग गरी बैंक खाता मार्फत कारोबार गर्न स्वीकृति दिनुपर्ने हुन्छ ।

कोषका अनुसार सञ्चयकर्ताले अनलाईन प्रणालीबाट हाललाई न्यूनतम २० हजाररुपैयाँदेखि अधिकतम १० लाख रुपैयाँसम्मको सापटी माग गर्न सक्नेछन् ।

अनलाइनबाट सापटी माग गर्ने तरिका

  • यहाँ क्लिक गरी आफ्नो युजरनेम र पासवर्डको प्रयोग गरी लगईन गर्नु होस् ।
  • लग ईन पश्चात अनलाइन स्पेसल लोन मेनु मार्फत विशेष सापटीका लागि आवेदन प्रक्रिया सुरु गुर्नुहोस् ।
  • अनलाईन आवेदन दिँदा कोषमा अद्यावधिक रहेको केवाईसी विवरणमा भएअनुसारकै मोबाइल नम्बर, बैंकको विवरण, नागरिकता जारी मिति, जन्म मिति, कोष कट्टी सुरु मिति लगायतका व्यक्तिगत विवरण भर्नुहोस् ।
  • अफिस केवाईसी विवरणमा रहेका तीन जना आधिकारिक कर्मचारीहरु मध्ये १ जनाको नाम, कोषको परिचयपत्र नम्बर, मोबाइल नम्बर र कार्यालयको कोड नम्बर राख्नुहोस् ।
  • अब तोकिएको सापटी रकमको सीमामा रही लिन चाहेको सापटी रकम उल्लेख गर्नुहोस् ।
  • सम्बन्धित कार्यालयबाट प्रमाणित भएको विशेष सापटी आवेदन फाराम अपलोड गर्नुहोस् ।
  • भरेको उल्लिखित विवरणहरुको आधारमा टोकन सिर्जना गर्नुहास् र मोबाईलमा प्राप्त टोकन नम्बर राखी आवेदन दिनुहोस् ।
  • सञ्चयकर्ताले विशेष सापटीका लागि दिएको आवेदनलाई सम्वन्धित कार्यालयले प्रमाणित वा सिफारिस गर्नेछ । यति भइसकेपछि कोषले नियमानुसार स्वीकृत गरी सम्बन्धित सञ्चयकर्ताको वैंक खातामा सिधैं रकम जम्मा गरिदिनेछ । अनलाईन प्रणालीबाट गरेको कारोवारको सूचना सञ्चयकर्ताको मोबाइलमै प्राप्त हुनेछ ।
  • यसका साथै, सञ्चयकर्ताले अनलाइन स्पेसल लोन मेनुमा गई स्पेसल लोन ट्र्याकरमार्फत सापटी प्रक्रियाको अवस्थाको जानकारी समेत लिन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१