close

सरकारी उपेक्षामा नेपालमै विकसित मौसम मापन प्रविधि

टेकपाना टेकपाना

जेठ १८, २०७७ १०:४१

सरकारी उपेक्षामा नेपालमै विकसित मौसम मापन प्रविधि

काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा कृषि क्षेत्रले सबैभन्दा बढी प्राथामिकता पाएको छ । कृषिमा आधुनिकीरण गर्ने योजना सरकारको छ ।

नेपालको प्रमुख पेसाको रुपमा रहेको कृषि पछिल्ला वर्षहरुमा भने पछि पर्दै गएको छ । जसको विकासका लागि आधुनिकीकरण अनिवार्य जस्तै छ ।

कोरोनाको महामारीले सिर्जना गरेको आर्थिक र रोजगारीको चुनौतीलाई समाधान गर्न पनि यो क्षेत्रको उत्थान आवश्यक भएको छ ।

त्यसैले पनि सरकाले कृषकलाई बजार, बिऊ बिजन, आधुनिक प्रविधिको उपलब्धता लगायतका विषय बजेटमा समेटेको हुनुपर्छ । ता कि नेपालको प्रमुख पेसाको रुपमा रहेको कृषिबाट आउँदा दिनमा राम्रो प्रतिफल लिन सकियोस् ।

तर, त्यसका लागि व्यवहारिक कृषि प्रविधिको विकल्प नभएको टेक्नोलोजी सेल्सका संस्थापक राम रिमाल बताउँछन् । उनी भन्छन्, ‘अहिलेको अवस्थामा हामीसँग वैज्ञानिक कृषिको लागि आवश्यक सामान्य तथ्यांक समेत छैन । कुन ठाउँको हावापानी कस्तो छ, कुन स्थानमा कुन बाली राम्रो हुन्छ भन्ने प्रमाणीक जानकारी नै छैन ।’

यस्तोमा कृषि आधुनिकीरण निकै चुनौतीपूर्ण कार्य भएको उनी बताउँछन् । यद्यपी पछिल्ला केही वर्षमा माटोको बारेमा कृषकलाई थाहा हुन थालेको छ । तर कृषि आधुनिकीकरणका लागि लामो अन्तरालको तथ्याङ्क आवश्यक हुने रिमालको बुझाई छ ।

एग्रो मेटेरोलोजिकल विज्ञका अनुसार कुन स्थानमा कुन बाली राम्रो हुन्छ भनेर प्रस्ताव गर्न ३० बर्षसम्मको डेटा आवश्यक पर्छ । तर हामीसँग अहिले माटोको र मौसमको कुनै त्यस्तो तथ्याङ्क नै नभएको रिमाल बताउँछन् ।

जल तथा मौसम विज्ञान विभागले नेपालभर जम्मा दुई सय ८२ वटा स्टेसन जडान गरको थियो । त्यसमध्ये कतिपयले काम नै नगरेको बताइन्छ ।

रिमाल भन्छन्, ‘कृषिको आधुनिकीकरण गर्ने हो भने मौसमी तथ्यांक संकलन गर्ने स्टेसनहरु हरेक स्थानीय तहमा जडान हुन आवश्यक छ । जसको मद्दतले एग्रो मेटेरोलोजिकल विज्ञले सम्बन्धित ठाउँमा कस्तो बाली लगाउन उपयुक्त हुन्छ भन्ने कुराको उपयुक्त सुझाव दिन सक्छन् ।’

यस्तो किसिमको डेटाको अभावलाई ध्यानमा राखेर रिमालको अग्रसरतामा नेपालमै एग्रो मेटेरोलोजिकल तथ्याङ्क संकलन तथा विश्लेषण गर्न सक्ने सफ्टवेयर सहितको वेदर मनिटरिङ स्टेसन (मौसम मापन केन्द्र) विकास गरिएको छ ।

दुई वर्ष अघि नै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिस्ठान (नास्ट) मा परीक्षण सम्पन्न भइसकेको यो प्रविधि प्रयोगमा सरकारले भने कुनै चासो देखाएको छैन ।

यो स्टेसनले माटो परीक्षण गर्ने, मौसमको जानकारी राख्ने लगायतका काम गर्न सक्छ । जसको आधारमा सरकारले आगामी वर्षहरुमा कृषिमा वैज्ञानिक रुपमा योजना तर्जुमा गर्न सक्छ । यदि सरकाले विश्वास गर्ने हो भने गाउँ–गाउँमा यस्तो प्रविधि जडान गर्न आफूहरु सक्षम रहेको रिमाल बताउँछन् ।

मौसमको डेटा संकलन गर्न हाल यसमा सात वटा सेन्सर प्रयोग गरिएका छन् । कम्पनील दुई नयाँ सेन्सर समेत यसमा थप गर्ने कार्य अगाडि बढाएको छ ।

यसमा हरेक मिनेटको तापक्रम, हावाको बहाव तथा गति, हावाको झोक्का, एक वर्गमिटरमा उत्पादन गर्न सकिने ऊर्जा, अल्ट्रा भ्वाइलेट इन्डेक्स, हावाको चाप मापन गर्न सक्ने छुट्टा छुट्टै सेन्सर प्रयोग गरिएका छन् ।

अब त्यसमा हावामा रहेको धुलोको कण तथा प्रदुषणको मात्रा र माटोको चिस्यान मापन गर्न सक्ने सेन्सर समेत थप्ने काम भइरहेको छ । यसरी संकलित डेटा स्टोरेजका लागि स्टेसनमै मेमोरी कार्ड प्रयोग गर्न मिल्ने सुविधा पनि छ ।

जसबाट वर्षौंसम्म डेटा संकलन गर्न सकिने रिमाल बताउँछन् । यसमा राखिएको थ्रीजी जीएसएम मोड्युलमार्फत लगातार रुपमा केन्द्रीय सर्भरमा डेटा संकलन हुने गरी व्यवस्था मिलाउन सकिने उनको भनाई छ ।

‘यसका लागि फोरजी नेटवर्कमा आधारित प्रविधि समेत प्रयोग गर्न सकिन्छ,’ उनले भने, ‘सर्भरमा प्राप्त भएको डेटा विश्लेषण गर्न सहज हुने गरी ग्राफमै देखाउने व्यवस्था मिलाउन पनि सकिन्छ ।’

टेक्नोलोजी सेल्सले परीक्षण प्रयोगका लागि दश थान स्टेसन नास्टलाई उपलब्ध गराएको थियो । जसमध्ये एउटा स्टेसन नास्टमै सञ्चालनमा छ । बाँकी दुई वटा स्टेसन रिमालले आफ्नै घरमा जडान गरेका छन् भने एउटा नेपालटार स्थित स्कूलमा राखिएको छ ।

व्यवसायीक रुपमै यो प्रविधि प्रयोग गर्न सकिने रिमाल बताउँछन् । उनी भन्छन्, ‘नयाँ उद्योग स्थापना गर्न, कृषि बाली निर्धारण गर्न, सोलार प्लाण्ट कहाँ राख्ने भन्ने तय गर्न, वायू ऊर्जा स्टेसनहरु राख्न उपयुक्त स्थान पहिचान गर्न लगायत प्रयोजनका लागि यो प्रविधि प्रयोगमा ल्याउन सकिन्छ ।

तर सरकारले भने यसमा कुनै चाँसो नै नदेखाएको गुनासो रिमालको छ । प्रति स्टेसन एक लाख ८० हजार रुपैयाँमै केन्द्रीय स्तरको सर्भर सहित नौ वटा सेन्टर युक्त स्टेसन राख्न सकिने उनले बताए । ‘सबै स्थानीय तहमा राख्दा अझ सस्तोमै उपलब्ध गराउन सकिन्छ ,’ उनले भने ।

यस्ता स्टेसनमा ३६ घण्टाको मौसम पूर्वानुमान गर्न सकिने पनि छ । यसरी संकलित डेटा अध्ययन अनुसन्धानमा समेत प्रयोग गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१