close

नेपालमा साओमीको पहिलो फाइभजी स्मार्टफोन सार्वजनिक, यस्तो छ फिचर अनि मूल्य

टेकपाना टेकपाना

जेठ १८, २०७७ १४:८

नेपालमा साओमीको पहिलो फाइभजी स्मार्टफोन सार्वजनिक, यस्तो छ फिचर अनि मूल्य

काठमाडौं । नेपाली स्मार्टफोन बजारमा रुचाइएको ब्राण्ड साओमीले नेपालका लागि पहिलो फाइभजी स्मार्टफोन एमआई टेन सार्वजनिक गरेको छ । सन् २०२० को अन्त्यसँगै फोरजी फोन उत्पादन बन्द गर्ने योजना बनाएको कम्पनीले फाइभजी फोनको बजारिकरण गरिरहेको छ ।

जसका कारण फाइभजी नेटवर्कको उपलब्धता नहुँदा नहुँदै पनि कम्पनीले नेपालमा पहिलो फाइभजी स्मार्टफोनको रुपमा एमआई टेन सार्वजनिक गरेको हो । कोरोनाभाइरसका कारण सरकारले लागु गरेको लकडाउनलाई मध्यनजर गर्दै कम्पनीले भर्चुअल इभेन्टमार्फत फोन सार्वजनिक गरेको छ ।

शनिबार भएको उक्त कार्यक्रममार्फत कम्पनीले एमआई सिरिजमा एमआई नोट टेन लाइट र एमआई टेन सार्वजनिक गरेको हो । फाइभजी स्मार्टफोनको रुपमा सार्वजनिक भएको एमआई टेनमा क्वालकम स्न्यापड्रागन ८६५ प्रोसेसर प्रयोग गरिएको छ ।

१०८ मेगापिक्सेल सहितको क्वाड (चार ओटा) क्यामेरा सेटअप रहेको यो फोनमा १२३ डिग्री एफओभीका साथै १३ मेगापिक्सेलको अल्ट्रा–वाइड एंगल लेन्स समेत प्रयोग भएको छ । फोनबाट एटकेसम्मको भिडियो रेकर्डिङ गर्न सकिन्छ ।

१२८ र २५६ जीबी रोम गरी दुई अप्सनमा उपलब्ध फोनमा आठ जीबी र्‍याम रहेको छ । फोनलाई तात्न नदिन लिक्विड कूल २.० राखिएको छ । ६.६७ इञ्च थ्रीडी कर्भ्ड एमोलेड एज टु एज डट डिस्प्ले रहेको फोनमा गोरिला ग्लास फाइभ प्रयोग गरिएको छ । जसले फोनलाई मजबूत बनाएको छ ।

४,७८० एमएएच क्षमताको ब्याट्री रहेको फोनमा ३० वाट तारयुक्त चार्जिंग र विश्वको सबैभन्दा छिटो ३० वाटको वायरलेस चार्जिंग सिस्टम रहेको छ । यो फोनले रिभर्स वायरलेस चार्जलाई पनि सपोर्ट गर्ने कम्पनीले जनाएको छ ।

शनिबार नै सार्वजनिक भएको एमआई नोट टेन लाइटमा ६४ मेगापिक्सेल क्वाड क्यामेरा सेटअप रहेको छ ।

क्वालकम स्न्यापड्रागन ७३० जीएसओसी प्रयोग गरिएको फोनमा ६.४७ इञ्च थ्रीडी कर्भ्ड एमोलेड डिस्प्ले र पछाडिको भागमा थ्रीडी कर्भ्ड ग्लास प्रयोग भएको छ । फोनको अगाडि र पछाडि कोर्निङ गोरिला ग्लास फाइभले सुरक्षित पारिएको छ ।

उत्कृष्ट फोटो तथा भिडियोका लागि फोनमा आईएमएक्स ६८६ सेन्सर, ९६० एफपीएस स्लो मोशन क्याप्चर, फोरके भिडियो शूटिंग र भ्लग मोड जस्ता फिचर रहेका छन् । ५२६० एमएएच ब्याट्री क्षमताका साथ आएको फोनमा ३० वाट फास्ट चार्जर उपलब्ध छ ।

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले एमआई नोट टेन लाइट प्रिमियम डिस्प्ले, भर्सटाइल क्वाड क्यामेरा, ३० वाट फास्ट चार्जिंग सिस्टम र उच्च ब्याट्री क्षमताको उत्कृष्ट भएको बताए । उनले भने, ‘एमआई टेनका साथ हामीले नेपाली उपभोक्ताका लागि प्रिमियम स्मार्टफोन अनुभवलाई नयाँ परिभाषा दिने प्रयास गरेका छौं ।’

मूल्य र उपलब्धता

ट्वीलाइट ग्रे र कोरल ग्रिनमा ८ जीबी प्लस २५६ जीबी भेरियन्टको एमआई टेन ८९ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ । त्यस्तै उपलब्ध एमआई नोट टेन लाइट मिडनाइट ब्ल्याक, ग्लेसियर ह्वाइट र नेबुला पर्पल गरी तीन कलरमा उपलब्ध छ । ६ जीबी प्लस १२८ जीबी भेरियन्टमा उपलब्ध यो फोनको बजार मूल्य ४४ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

दुवै फोन खरीदका लागि अफलाइन स्टोर, रिटेल पार्टनर र अनलाइन पार्टनर डराज डट कम डट एनपी र सस्तो डिलमा छिटै उपलब्ध हुने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१