close

गूगलको हस्तक्षेपपछि व्युतियो टिकटकको रेटिङ

टेकपाना टेकपाना

जेठ १८, २०७७ १३:३४

गूगलको हस्तक्षेपपछि व्युतियो टिकटकको रेटिङ

काठमाडौं । भारतका एकजना लोकप्रिय टिकटक सेलिब्रेटीले एसिड आक्रमणलाई प्रोत्साहन गर्ने किसिमको सामग्री अपलोड गरेपछि टिकटकले व्यापक आलोचना खेप्दै आइरहेको छ ।

टिकटकलाई बन्द गराैं, प्रतिबन्ध लगाऔं जस्ता ह्यास ट्यागसहितका पोस्टहरु विगत तीन हप्तासम्म लगातार रुपमा ट्वीटर ट्रेण्डिङमा रहे । 

प्रयोगकर्ताहरुले घरेलु हिंसा, बाल दूर्व्यवहार, महिलालाई वस्तुकरण गर्ने, पशु हत्या, लैंगिकता तथा जातीवादलाई प्रोत्साहन गर्ने किसिमका विभिन्न सामग्रीहरु बनाउने र शेयर गर्ने गरेका छन् ।

यस्ता सामग्रीहरु माथि प्रतिबन्ध लगाउन नसकेकै कारण कराेडाैं भारतीय प्रयोगकर्ताहरले टिकटकलाई अहिले गूगल प्ले स्टोरमा वान स्टार रेटिङ दिने अभियान नै चलाए । यस किसिमको प्रतिक्रिया टिकटकका लागि घातक सावित भएको छ । 

उक्त एपको समग्र ग्लोबल रेटिङ अघिल्लो महिना ४.५ रहेकोमा १.२ मा झर्‍यो । तर गूगलले भने यसबीच रेटिङमा हस्तक्षेप गरेको छ ।

गूगलका प्रवक्ताले टिकटकप्रति लाखौं प्रयोगकर्ताले गरेको नकरात्मक कमेन्ट, रिभ्यू र रेटिङलाई हटाइदिएको बताएका छन् । यसले गर्दा टिकटकको रेटिङलाई थोरै माथि उठ्न मद्दत गरेको छ । अहिले टिकटकको ग्लोबल रेटिङ १.२ बाट बढेर ४.४ पुगेको छ । 

मोबाइल इन्साइट कम्पनी एपटोपियाका अनुसार एपप्रतिको प्रयोगकर्ताहरुको सन्तुष्टिको रेटिङ ८६ प्रतिशतबाट घटेर ३९ प्रतिशत पुगेको थियो । एप माथि प्रतिशोध उत्पन्न हुने कुरा भारतमा नौलो भने होइन ।

यसअघि स्नापच्याटका सहसंस्थापकको वक्तव्यले धेरै भारतीय प्रयोगकर्ताहरुलाई आक्रोशित बनाएपछि धेरैले उक्त एप डिलिट गरेका थिए । त्यसपश्चात उक्त एपले पनि कमजोर रेटिङको सामना गर्नुपरेको थियो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१