close

रोबोटले खोस्यो माइक्रोसफ्टका २७ जना पत्रकारको जागिर

टेकपाना टेकपाना

जेठ १९, २०७७ ११:५३

रोबोटले खोस्यो माइक्रोसफ्टका २७ जना पत्रकारको जागिर

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) युक्त रोबोटले मानिसको रोजगारी खोस्न सक्छ कि सक्दैन भन्ने कुरा लामो समयदेखि चर्चाको विषय बन्दै आएको छ । यसैबीच एआईले पत्रकारको जागिर खोसेको घटना सार्वजनिक भएको छ ।

माइक्रोसफ्टको एमएसएन वेबसाइट र एज ब्राउजरको न्युज होम पेजममा काम गरिरहेका पत्रकारलाई एआईले विस्थापित गरिदिएको हो । माइक्रोसफ्टले एआईमार्फत समाचार छनोट गर्ने, संकलन गर्ने र सम्पादन गर्ने निर्णय लिँदै उक्त विभागमा कार्यरत पत्रकारलाई बर्खास्त गरेको छ ।

गार्जियनको रिपोर्ट अनुसार माइक्रोसफ्ट पीए मिडियाद्धारा राखिएका करीब २७ जना पत्रकारहरुलाई आगामी एक महिनामा जागिर गुमाउने बताएको थियो । कम्पनीले गएको मंगलबार ती पत्रकारहरुको स्थान रोबोटले लिने भएसँगै उनीहरूको आवश्यकता नपर्ने उल्लेख गरेको थियो ।

माइक्रोसफ्टमा कार्यरत कर्मचारीले कम्पनीको छोटो सूचनाकै भरमा पीए मिडियासँग भएको सम्झौता खारेज गर्दै आफ्नो ठाउँमा रोबट राखिएको बताएका छन् ।

उक्त टिममा काम गर्ने एक पत्रकारले भनेका छन्, ‘मैले आफ्नो सारा समय कसरी अटोमेसन तथा एआईले हाम्रो जागिर खोस्न सक्छ भनेर पढिरहेको थिएँ । र आज म यहाँ छु, एआईले मेरो जागिर खोसिदिएको छ ।’

उनले सम्पादकीय नियम पालन गर्दै समाचार सम्पादन गर्न सक्नु रोबोटका लागि पनि चुनौतीको विषय भएको बताएका छन् । उक्त स्थानमा काम गर्ने पत्रकारले फिल्डमा गएर रोपोर्टिङ गरी नयाँ समाचार लेख्ने गर्दैनन् ।

उनीहरुको काम सम्पादकीय नियममा रहेर अन्य कम्पनीमा प्रकाशित समाचार छनौट गर्ने, सम्पादन गर्ने र कम्पनीको फर्म्याटमा मिलाएर प्रकाशित गर्ने हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१