close

ट्रम्प र ट्वीटरको लडाईले यसरी जेलिदैछ सिलिकन भ्याली

टेकपाना टेकपाना

जेठ १९, २०७७ १०:२८

ट्रम्प र ट्वीटरको लडाईले यसरी जेलिदैछ सिलिकन भ्याली

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्वीटको फ्याक्ट चेक गर्ने ट्वीटरको निर्णयले अहिले सिलिकन भ्याल्लीका ठूला खेलाडीहरुलाई नचहदा नचाहदैं वासिङटनसँगको राजनीतिक लडाँइमा होमिनुपर्ने अवस्थामा पुर्‍याएको छ ।

राष्ट्रपति ट्रम्प र गूगल, फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जालबीचको यो लडाईले सोचेभन्दा छिटो यी कम्पनीहरुको लोभलाग्दो व्यवसायलाई भताभुङ्ग पारिरहेको छ ।

आफ्नो लोभलाग्दो व्यवसायलाई संरक्षण गर्ने कानूनी प्रावधानको बचाउका लागि फेसबुक र गूगल अहिले लबिङ गरिरहेका छन् । यसै हप्तादेखि यी कम्पनीहरुको यो बचाउको नीति तीब्ररुपमा देखिन थालेको छ ।

फेसबुकले यसै हप्ता राजनीतिक अभिव्यक्तिलाई कसरी लिनुपर्छ भन्ने विषयमा ट्वीटर र आफ्नो धारणा फरक भएको ट्रम्पलाई स्पष्टिकरण दिएको छ ।

कोरोनाको महामारी, बढ्दो बेरोजगारी र जातीय दंगाले पिल्सिएको अमेरिकी राष्ट्रपतिय चुनावको पूर्वसन्ध्यामा उत्पन्न अभिव्यक्ति स्वतन्त्रतामाथि उठेको विवादमा प्रविधि क्षेत्रले नचाहँदा नचाहँदै होमिनु परेको छ । यसबाहेक उसँग अन्य विकल्प छैन ।

यसैहप्ता उत्पन्न ट्रम्प-ट्वीटरक विवादमा धारणा सार्वजनिक गर्ने धेरै प्रविधि उद्योग व्यापार समूहमध्ये एउटा नेट च्वाइसका जनरल काउन्सलर तथा उपाध्यक्ष कार्ल जाबो भन्छन्, ‘बेल्टवेभित्रको विवाद अहिले राष्ट्रव्यापि भइसकेको छ ।

यसर्थमा अनलाइन वाक् स्वतन्त्रताको वकालत गर्नेहरुले राष्ट्रिय प्रतिक्रियाको तयारी गर्नुपर्ने आवश्यकता भएको छ ।’ नेट च्वाइसमा फेसबुक, ट्वीटर, गूगल तथा अन्य धेरै ठूला अनलाइन कम्पनीहरु सदस्य रहेका छन् ।

यसै हप्ता ट्रम्प र ट्वीटरबीच विवाद उत्पन्न भएपछि, नेटच्वाइसले अमेरिकी जनताहरु समक्ष २५ वर्ष पुरानो सञ्चार कानूनको व्यवस्थालाई लिएर अमेरिकी राष्ट्रपति ट्रम्प गलत भएको कुरा अघि सारिरहेको छ । 

ट्वीटर, गूगल तथा फेसबुक र अन्य कम्पनीहरुको प्रतिनिधिमुलक संस्था इन्टरनेट असोसिएसनले विभिन्न भिडियोहरु रिलिज गर्दै यो लडाईको केन्द्रमा इन्टरनेटको आफ्नो दायीत्व रक्षा निर्भर रहेको तर्क गरिरहेको छ ।

कम्प्युटर एण्ड कम्युनिकेसन इन्डस्ट्री एसोसिएसनले ट्रम्पको यो कदमले आफ्ना सदस्य कम्पनीहरुमाथि पर्ने असरलाई ध्यानमा राखेको छ ।

यस्तै कञ्जुमर टेक असोसिएसनले सिनेटको जुडिसरी तथा कमर्स कमिटी, साथै प्रविधि तथा व्यवसाय केन्द्रीत वैठकहरुमा उक्त विषयमा दबाव दिने अपेक्षा गरिएको छ । तर यसै हप्ता फेसबुकका सीईओ मार्क जुकरवर्गले उक्त विवादबाट बाहिरिने नियत देखाएका छन् ।

सीईओ जुकरवर्गले गत हप्ताको मध्यतिर फक्स न्युज च्यानलमा सामाजिक सञ्जालले सत्यतथ्यको निर्धारकको रुपमा काम गर्न नहुने भन्दै विवादित राजनीतिक वक्तव्यमा ट्वीटर र आफ्नो विचार एउटै नभएको धारणा व्यक्त गरेका थिए । 

सामाजिक सञ्जालहरुको यो विभाजनको फाइदा उठाउन राष्ट्रपति ट्रम्पले ढिलाई गरेनन् । राष्ट्रपति ट्रम्पले शुक्रबार ट्वीट गर्दै लेखेका छन्, ‘@फेसबुकका सीईओ मार्क जुकरवर्गले आज ट्वीटरको आलोचना गरेका छन् ।’ 

ट्रम्पले बिहीबार कम्युनिकेसन डिसेन्सी एक्टको सेक्सन २३० लाई मर्माहित तुल्याउने लक्ष्यका साथ कार्यकारी निर्देशनमा हस्ताक्षर गरे । १९९६ को उक्त कानूनले प्रयोगकर्ताले उत्पादन गर्ने सामग्रीका लागि प्लेटफर्म प्रदायक कम्पनीलाई जिम्मेवार ठहरिनबाट बचाउँदै आएको थियो । 

ट्रम्पको उक्त निर्देशनले सरकारी संस्थाहरुलाई उक्त कानूनको पुनःव्याख्या गर्न आह्वान गरेको छ । ता कि राजनीतिक रुपमा पूर्वाग्रही पाइएका सामग्रीहरुका लागि ती कम्पनीहरुलाई दण्ड दिन सकियोस् । 

साथै ट्रम्पले अमेरिकी कंग्रेसलाई उक्त सेक्सन २३० लाई खारेज गर्न वा संसोधनका लागि प्रस्ताव पारित गर्न पनि दबाव दिएका छन् । अमेरिकी सरकारको यो कदमले कम्पनीहरुको व्यवसायिक मोडललाई असर पुर्‍याउने देखिन्छ । 

तर अमेरिकी सरकारको धम्कीलाई प्रविधि उद्योगले कहिल्यै पनि एउटै अर्थमा लिएको छैन । डेटा प्राइभेसीको मामिलामा फेसबुकले आलोचनाको आगो बेहोरिरहँदा बाँकी सिलिकन भ्याली खुशी थियो ।

गूगल एन्टी ट्रस्टको मामिलामा प्रताडित हुँदा सिलिकन भ्यालीले कुनै प्रतिक्रिया नै जनाएन । अहिले ट्वीटरले राष्ट्रपति ट्रम्पबाट मुक्काको मुक्का खाईरहँदा सिलिकन भ्यालीमा ऐक्यवद्धता देखिनुको साटो बाँकी प्रविधि विश्वले शान्तीको स्वाश फेर्ने माैका पाएको ठानेका छन् ।

ट्वीटरका कारणले उत्पन्न भएको लडाईभित्र आफूहरु पनि विस्तारै फस्दै गइरहेको उनीहरुलाई छनक पनि छैन ।

एजेन्सीको सहयोगमा । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१