close

एनसेलले ग्राहकबाट ३२ करोड बढी ठगी गरेको पुष्टी, कम्पनी कारबाहीमा

रन्जन कोइराला रन्जन कोइराला

जेठ २०, २०७७ १३:२३

एनसेलले ग्राहकबाट ३२ करोड बढी ठगी गरेको पुष्टी, कम्पनी कारबाहीमा

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाप्रदायक कम्पनी एनसेललाई अनधिकृत रुपमा विभिन्न भ्यालु एडेड सर्भिस (भास) सञ्चालनमा ल्याएको भन्दै जरिवाना गर्ने निर्णय गरेको छ । प्राधिकरणबाट स्वीकृती नलिएरै भासको नाममा ग्राहक ठगेको ठहर गर्दै नियामकले विभिन्न शीर्षकमा कूल साढे १० लाख रुपैयाँ जरिवाना गर्ने निर्णय लिएको हो ।

एनसेललाई कारबाही गर्ने विषयमा अघिल्लो सोमबार बसेको प्राधिकरण बोर्ड बैठकले निर्णय गरेको भएता पनि हिजो सोमबार बसेको बैठकमा हस्ताक्षर हस्ताक्षर भएको अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।

‘सोमबार बसेको बोर्डले एनसेललाई कारबाही गर्ने निर्णयमा हस्ताक्षर गरेको छ,’ उनले भने, ‘एनसेलले प्राधिकरणबाट स्वीकृत नै नलिएर कतिपय भास सञ्चालन गरेको पाइयो । त्यसै आधारमा बोर्डले एनसेललाई कारबाही गर्ने निर्णय गरेको हो ।’

प्राधिकरणको छानविनका क्रममा एनसेलले अनुमतिपत्रको शर्त विपरित काम गरेको, अनुमति नलिएरै ‘लभ डिटेक्टर’ र ‘भ्वाईस म्याजिक नामक’ नामक भ्यालू एडेड सर्भिस (भास) सञ्चालनमा ल्याएको पाइएको थियो ।

अनुमतिपत्रले तोकेको शर्त उलंघन गर्दै एनसेलले विभिन्न सेवा अफर समेत सञ्चालनमा ल्याएको पाइएको छ । जसमा होली अफर, भ्यालेन्टाइन अफर, शिवरात्री अफर लगायत रहेका छन् ।

नियामकको बोर्डले दूरसञ्चार ऐन, २०५३ को दफा ४७ अनुसार कम्पनीलाई अधिकतम रकम ५ लाख रुपैयाँ जरिवाना गरेको हो । उक्त दफाको दुई नम्बर बुँदामा ऐन बमोजिम अनुमति अलिई वा अनुमतिपत्रमा उल्लिखित शर्तको पालना नगरी दुरसञ्चार सेवा सञ्चालन गरेमा प्राधिकरणले पाँच लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।

याे पनि पढ्नुहाेस् : जरिवाना थोरै हुँदा नियामकको निर्देशन नै मान्दैन एनसेल

ऐनको सोही व्यवस्थालाई आधार बनाएर प्राधिकरण बोर्डले लभ डिटेक्टर र भ्वाईस म्याजिक नाम भासको प्रकरणमा समेत कारबाही गरेको छ । करीब दुई वर्ष अघि एनसेलले नियामकको अनुमति बिना लभ डिटेक्टर सेवा सञ्चालनमा ल्याएको थियो ।

प्राधिकरणबाट एनसेलले उक्त सेवा सञ्चालनका लागि स्विकृती नै नलिएको र उक्त सेवाले विकृति ल्याउने भन्दै तत्कालै रोक्न निर्देशन समेत दिएको थियो । उक्त निर्देशनपछि सेवा रोकिएको भएता पनि त्यसमार्फत एनसेलले ग्राहकबाट १४ करोड रुपैयाँभन्दा बढी रकम असुल गरेको पाइएको छ ।

त्यस्तै नियामकबाट स्विकृति नै नलिई एनसेलले सञ्चालनमा ल्याएको अर्को सेवा ‘भ्वाईस म्याजिक’ मार्फत कम्पनीले ग्राहकबाट झण्डै १८ करोड रुपैयाँ आम्दानी गरेको अध्ययनले देखाएको थियो ।

कानून विपरित रुपमा स्विकृति नै नलिई सेवा सञ्चालन गरी ग्राहकबाट ३२ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्राधिकरणले यी दुवै सेवाको नाममा एनसेललाई पाँच/पाँच लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो ।

त्यस्तै दुई वर्ष अघि देखिएको अटो रिन्युको नाममा ग्राहकबाट रकम अशुलेको अर्को आरोपमा प्राधिकरणले कम्पनीलाई थप ५० हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ ।

कम्पनीले सञ्चालनमा ल्याएको भास ग्राहको मोबाइलमा स्वचालित रुपमा सुरु हुने र स्वचालित रुपमै नवीकरण समेत हुने गरेको नियामकको छानविनबाट देखिएको छ । कारबाहीसँगै प्राधिकरणले यस्ता भासको अटो रिन्यू हुने समस्यलाई तत्कालै हल गर्न समेत निर्देशन दिने निर्णय गरेको अध्यक्ष खनालले बताए ।

तर, अटो रिन्यूको नाममा कम्पनीले ग्राहक ठगी गर्ने कार्य अझै जारी नै राखेको छ । पछिल्लो केही हप्तादेखि एनसेलले ग्राहकबाट विभन्नि सेवाको नाममा थाहा नै नदिइ पैसा काट्दै आएको पाइएको छ ।

त्यस्ता सेवा ग्राहकलाई थाहै नदिई एक्टिभ गर्ने र अटो रिन्यूको नाममा ग्राहको ब्यालेन्स रत्याइ रहने समस्या आएसँगै प्राधिकरण त्यस उपर छुट्टै छानविन अगाडि बढाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१