close

सम्पदा क्षेत्रमा फ्री वाईफाई विस्तार गर्दै प्राधिकरण

टेकपाना टेकपाना

जेठ २०, २०७७ १९:११

सम्पदा क्षेत्रमा फ्री वाईफाई विस्तार गर्दै प्राधिकरण

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालका विभिन्न सम्पदाहरुलाई फ्री वाइफाई जोनको रुपमा विकास गर्ने भएको छ । नियामकले त्यस्ता क्षेत्रमा फ्री वाईफाई उपलब्ध उद्देश्यका साथ मंगलबार राष्ट्रिय रुपमा प्रस्ताव आह्वान गरेको हो ।

प्राधिकरणले यसअघि गत अक्टुबरमा पूर्वी क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रमा २०७७ भित्र तीब्र गतिको इन्टरनेट सहितको निःशूल्क वाईफाई सेवा दिन परियोजना अघि बढाएको थियो । उक्त परियोजामा एउटा मात्रै पस्ताव परेको र त्यो पनि तोकिएको मापदण्ड अनुरुप नभएपछि उक्त प्रक्रिया नै रद्द हुन पुगेको थियो ।

त्यसबेला प्राधिकरणले मुलुकका ४१ वटा धार्मिक तथा पर्यटकीय क्षेत्रमा फ्री वाईफाई विस्तार गर्ने कार्यक्रम अगाडि बढाएको थियो । विभिन्न तीन प्याकेजमा अगाडि बढाइएको उक्त परियोजनामा प्याकेज ‘ए’ अन्तर्गतको अन्नपूर्ण सर्किट र मुक्तिनाथ मन्दीर, प्याकेज ‘बी’ अन्तर्गतको सगरमाथा आधारशिविर र प्याकेज सीमा जानकी तथा पाथिभरा मन्दीर लगायतका क्षेत्रलाई समेटिएको थियो ।

जसमा प्याकेज ‘ए’ अन्तर्गतको अन्नपूर्ण सर्किटको परियोजनका लागि यसअघि नै पुनः प्रस्ताव माग भइसकेको छ । प्याकेज ‘बि’ अन्तर्गतको जानकी मन्दीर, पाथिभरा मन्दीर, हलेसी महादेव मन्दीर, बराहा क्षेत्र, गुरुद्धार, जामे मस्जिद, पञ्च कस्मिरीमा वाईर्फाइ जडानका लागि भने पुनः प्रक्रिया अघि बढाइएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

अर्यालका अनुसार यसका लागि प्राधिकरणले आफ्नो आन्तरिक कोषको रकम परिचालन गर्नेछ । जसमा इन्टरनेट सेवा प्रदायकले मात्रै सहभागीता जनाउन पाउनेछन् । सहभागी हुनका लागि कम्पनीहरुले विगत १० वर्षमा कम्तिमा तीन वर्ष २ करोड रुपैयाँको वार्षिक कारोबार गरेको हुनुपर्नेछ ।

त्यस्तै ग्रामीण क्षेत्रमा विगत एक वर्षमा कम्तिमा १०० लाइन फिक्स्ड इन्टरनेट विस्तार भएको हुनेपर्ने प्रावधान पनि राखिएको छ । त्यस्तै सय किलोमिटर फाइबर नेटवर्क सञ्चालन गरेको अनुभव हुनुपर्ने लगायतका शर्त समेत राखिएको अर्यालले बताए ।

त्यस्तो कम्पनीले अन्य कम्पनीसँगको सहकार्य (जेभी) को रुपमा पनि प्रस्ताव दायर गर्न पाउनेछ । कम्पनी छनौट भएको मितिले छ महिना भित्र काम सम्पन्न गर्ने नियामकको लक्ष छ ।

त्यसमा सम्झौता भएको चार महिनाभित्र ५० प्रतिशत काम र थप दुई महिनामा बाँकी ५० प्रतिशत काम सम्पन्न गर्नुपर्नेछ । यसका लागि बिड सेक्युरीटी रकम ७ लाख २० हजार जम्मा गर्नु पर्नेछ ।

सामान्यतया अनुमानित लागतको २.५ प्रतिशत बिड सेक्युरीटी राख्नु पर्ने भएकाले यसको लागत अनुमान २ करोड ८८ लाख रुपैयाँ हुन सक्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१