close

मोबाइल र इन्टरनेटसँगै सामाजिक सञ्जालको गुणस्तर नाप्ने नियामकको योजना

टेकपाना टेकपाना

जेठ २१, २०७७ ११:९

मोबाइल र इन्टरनेटसँगै सामाजिक सञ्जालको गुणस्तर नाप्ने नियामकको योजना

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल तथा इन्टरनेटको गुणस्तर मापनका लागि आवश्य सिस्टम जडान गर्ने भएको छ । मंगलबार अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान गर्दै नियामकले यस्तो तयारी थालेको हो ।

प्राधिकरणका अनुसार दूरसञ्चार सेवाको गुणस्तर मापनका लागि स्वचालित प्रणाली (क्यूओएसएमएस) राख्ने योजना रहेको छ । जसबाट ओटीटी (भाइबर, म्यासेञ्जर, ह्वाट्सएप लगायत) सेवा प्रदायकको समेत गुणस्तर मापन गर्ने योजना रहेको उल्लेख छ ।

यद्यपी प्राधिकरणले यो परियोजना यस अघि नै अगाडि बढाएको थियो । २०७६ असोज अन्तिममा पहिलो पटक दूरसञ्चार सेवाको गुणस्तर अध्ययनका लागि स्वचालित गुणस्तर मापन प्रणाली जडान गर्न टेन्डर आह्वान गरिएको थियो ।

त्यसमा उल्लेखित मापदण्ड परिमार्जित गर्दै प्राधिकरणले कात्तिक २१ गते पुनः टेन्डर आह्वान गरेको छ । जसमा ६ वटा कम्पनीले प्रस्ताव पेस गरेका थिए ।

तर, प्राधिकरणले तोकेको अनुभव कुनै पनि प्रस्तावकमा नभएपछि फागुनमा उक्त टेण्डर प्रक्रिया नै रद्द भएको थियो । राष्ट्रिय रुपमा गरिएको टेण्डरमा अनुभव र मापदण्ड पुरा गर्न सक्ने कम्पनी फेला नपरेपछि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान गरिको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए ।

‘प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनी तथा इन्टरनेट सेवा प्रदायकले दिइरहेका सेवाको गुणस्तर मापनका लागि आवश्यक उपकरण तथा सफ्टवेयरका लागि टेण्डर आह्वान गरिएको छ,’ प्रवक्ता अर्यालले भने, ‘नयाँ प्रणालीले सेवा प्रदायक कम्पनीहरुको सेवा सुधारका लागि अनुगमनलाई प्रभावकारी बनाउन सहयोग पुग्ने आशा लिएका छौं।’

त्यसमा ओटीटी सेवा प्रदायकको सेवाको गुणस्तर समेत मापन गर्न मिल्ने सिस्टम हुनुपर्ने मापदण्ड राखिएको अर्यालले बताए । प्राधिकरणले माग गरेको प्रस्तावमा बेसिक भ्वाइस कल टेस्ट, टु जी, थ्रिजी, फोरजी, वाईफाई, ईमेलमा आधारित टेष्ट, एफटीटीएच, एचटीटीपीडीएल, यूल सर्भिस लगायतको परीक्षण गर्न सक्ने प्रणाली राखिने बताइएको छ ।

साथै आगामी दिनमा फाइभजी सेवाको गुणस्तर मापनका लागि समेत काम गर्न सक्ने प्रणाली हुनुपर्ने विषय समेत राखिएको छ । त्यति मात्र नभएर जीपीआरएस, यूएमटीएस, एलटीई सर्भिस, एसएमएस/एमएमएस टेस्ट, आईटीयूको मापदण्ड अनुसार भ्वाइस तथा भिडियो सर्भिसको टेस्ट, वेब ब्राउजिङ टेस्ट, ओटीटी सर्भिस एपको परीक्षण गर्न सक्ने हुनुपर्ने भनिएको छ ।

यसका लागि प्राधिकरणले बिड सेक्युरीटी रकम ३२ हजार अमेरिकी डलर राखेको छ । उक्त बिड सेक्युरीटीलाई आधार मानेर हर्ने हो भने यो परियोजनाको अनुमानित लागत १२ लाख अमेरिकी डलर अर्थात १५ करोड ४० लाख रुपैयाँ रहेको देखिन्छ । सामान्यतया बिड सेक्युरिटी रकम अनुमानित लागतको २.५ प्रतिशत राख्ने प्रचलन छ ।

यसमा सहभागी हुनकालागि विगत तिन वर्षभित्र एउटै सम्झौतामा ७ लाख अमेरिकी डलर बराबरको सामान सप्लाई गरेको अनुभव हुनेपर्ने छ । साथै प्रयोगमा ल्याईने प्रविधि फाइभजीलाई समेत सर्पोट गर्न सक्ने हुने पर्ने उल्लेख गरिएको छ । भने, छनोट भएको कम्पनीले तीन महिनसम्म प्राधिकरणलाई आवश्यक टेक्नीकल सपोर्ट उपलब्ध गराउनुका साथै तालिम प्रदान गर्नुपर्ने लगाएतका सर्त राखिएका छन् ।

यदि यसअघि टेलिकम सेवा प्रदायकलाई टेलिकम नेटवर्क सिस्टम र टेलिकम बिलिङ सिस्टम उपलब्ध गराएको भएमा त्यस्ता कम्पनीले यसमा सहभागी हुन पाउने छैनन् । भने, प्रस्ताव पेस गर्ने कम्पनीका वार्षिक कारोबार १८ लाख डलर भन्दा बढी हुनुपर्ने उल्लेख गरिएको छ ।

अर्यालका अनुसार पछिल्लो समय प्राधिकरणबाट भएको अध्ययनले सेवा प्रदायक कम्पनीहरु सेवाको गुणस्तर कायम राख्न असफल रहेको देखिन्छ । प्राधिकरणले गत मार्चमा भक्तपुर, पोखरा, पृथ्वी राजमार्ग र बाग्लुङमा ड्राइभ टेष्टमार्फत सेवा प्रदायकको गुणस्तर मापन गरेको थियो ।

त्यसमा सबै सेवा प्रदायक इन्टरनेट तथा कलको मापदण्ड पुरा गर्न असमर्थन भएका थिए । त्यसैले पनि उक्त टेस्टलाई व्यवस्थित गर्नकालागि यो परियोजना अघि बढाइएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१