close

गूगलले प्ले स्टोरबाट हटायो, भाइरल बनेको ‘रिमुभ चाइना एप’

टेकपाना टेकपाना

जेठ २१, २०७७ १३:२७

गूगलले प्ले स्टोरबाट हटायो, भाइरल बनेको ‘रिमुभ चाइना एप’

काठमाडौं । गूगलले भारतमा केही दिनदेखि चर्चामा रहेको ‘रिमुभ चाइना एप’ लाई आफ्नो प्ले स्टोरबाट हटाइदिएको छ । भारतमा बढ्दै गएको चिनियाँ विरोधी भावनाको प्रतिक बन्दै गएको यो एप विवादमा आएपछि गूगलले हटाएको हो ।

उक्त चीनमा बनेका एपलाई पहिचान गरी मोबाइलबाट हटाउन मद्दत गर्ने उक्त एप केही दिनयता निकै भाइरल बनिरहेको थियो । छोटो अवधिमै यो एप ५० लाख भन्दाबढी डाउनलोड भइसकेको थियो ।

मंगलबार दिउँसोसम्म भारतको प्ले स्टोरमा नम्बर वान एपको रुपमा रहेको यो एपका डेभलपरहरुले इन्स्टल गरेको स्मार्टफोनमा रहेका चिनियाँ एपलाई पहिचान गरी दुई हप्ताभित्र हटाउने दाबी गरेका थिए ।

तर कतिपय प्रयोगकर्ताले उक्त एपले चिनियाँ स्मार्टफोनमा प्री इन्स्टल एपहरु पहिचान गर्न नसक्ने गुनासो गरिरहेका थिए । त्यतिमात्रै नभएर यो एपले प्ले स्टोर वा अन्य थर्ड पार्टी स्टोरबाट इन्स्टल भएका एपको हकमा मात्रै काम गर्नसक्ने गुनासा आएका थिए ।

प्रयोगकर्ताबाट आएका गुनासोका आधारमा डेभलपरहरुले एपमा सुधार गर्ने काम भइरहेको समेत जनाएका थिए । उनीहरुले कुनै पनि एप कुन देशमा बनेको हो भनेर पत्ता लगाउनका लागि यो एपको डिजाइन गरिएको बताउँदै आएका थिए ।

सुरुवाती समयमा शैक्षिक प्रयोजनका लागि बनाइएको भनिएको यो एपले सबै फोन र मुलुकमा समान रुपमा काम गर्न नसक्ने देखिएको थियो । यो एप प्रयोगका लागि कुनै अकाउन्ट समेत आवश्य थिएन ।

एपले प्रयोगकर्ताको फोनबाट विभिन्न किसिमका डेटाहरु संकलन गरी त्यसका आधारमा जानकारी दिने जनाइएको थियो । एपले तपाईंको फोनको एन्ड्रोइड भर्सन, एप फिचरमा तपाईंले कति पटक क्लिक गर्नुभयो, तपाईंको डिभाइसको भाषा, तपाईंले प्रयोग गरिरहनु भएको एपको भर्सन कोड र फोनमा तपाईंले बिताउने समय जस्ता डेटाहरु संकलन गर्ने जनाइएको थियो ।

उक्त एप डेभलप गर्ने डेभलपरहरु पनि नयाँ थिए । रिमूभ चाइना उनीहरुले प्लेस्टोरमा राखेको एउटै मात्र एप हो । उनीहरुको वेबसाइटको डोमेन नेम हेर्दा यो २४ दिन पुरानो र मे ८ तारिखदेखि लाइभ भएको देखिन्छ ।

उक्त एपलाई भारतीय स्टार्टअप कम्पनी वान टच एपल्याबले तयार गरेको हो । एपलाई कम्पनीले गत मे १७ मा गूगल प्ले स्टोरमा सार्वजनिक गरेको थियो ।

गूगल प्ले स्टोरले आफ्नो नीतिमा टेकेर यो एप हटाइएको जनाएको छ । गूगलले तोकेको शर्तमा कुनै पनि एपलाई अन्य एपको कार्य तथा सञ्चालनमा अवरोध पुर्‍याउने अधिकार हुँदैन ।

त्यसैका अधारमा गूगलले यो एप हटाएको हो । तर, प्ले स्टोरबाट यो एप हटाएसँगै भारतमा गूगलको समेत विरोध सुरु भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१