close

जूम निःशूल्क प्रयोग गर्नुहुन्छ ? त्यसो भए तपाईंका लागि निराशाजनक खबर छ

टेकपाना टेकपाना

जेठ २२, २०७७ १२:२१

जूम निःशूल्क प्रयोग गर्नुहुन्छ ? त्यसो भए तपाईंका लागि निराशाजनक खबर छ

काठमाडौं । निःशूल्क रुपमा जूमको प्रयोग गरी निजी अनलाइन बैठक गर्न चाहनुहुन्छ ? त्यसो भने तपाईंले त्यसका लागि पैसा तिर्नुपर्ने हुन्छ । यो मामिलामा जूमको जवाफ तपाईंलाई अनौठो लाग्न सक्छ । 

जूमले यसै साता भिडियो कललाई सुरक्षित बनाउन भन्दै इन्ड टु इन्ड इन्क्रिप्सन फिचर सार्वजनिक गर्‍यो । तर उसले यो फिचर निःशूल्क भर्सन प्रयोग गर्नेहरुलाई भने उपलब्ध नहुने बताएको छ ।

जोडिने व्यक्तिले मात्रै भिडियो तथा च्याटमा पहुँच बनाउन सक्ने विशेष सुरक्षायुक्त फिचर नै इन्ड टु इन्ड इन्क्रिप्सन हो । यस्तो फिचरले सेवाप्रदाय कम्पनी स्वयम् तथा अन्य तेस्रो पक्षले सञ्चार भएको भिडियो, अडियो, फोटो, डकुमेन्ट र म्यासेजमा आदिमा पहुँच राख्न सक्दैनन् ।

निःशूल्क रुपमा सेवा प्रयोग गर्न चाहने ग्राहकलाई इन्ड टु इन्ड इन्क्रिप्सन फिचर उपलब्ध नगराउनु पछिको कारण तपाईंलाई हास्यास्पद पनि लाग्न सक्छ । 

जूमले निःशूल्क भर्सन प्रयोग गर्नेहरुलाई इन्क्रिप्सन सुविधा नदिनुमा अपराध अनुसन्धानलाई सहयोग पुर्‍याउने आफ्नो योजना भएको तर्क दिएको छ ।

कम्पनीका सीईओ एरिक युआनले मंगलबार लगानीकर्ताको बैठकमा यो फिचर व्यवसायिक प्रयोगकर्तालाई अफरको रुपमा उपलब्ध गराइने बताएका छन् ।

उनले भनेका छन्, ‘अन्य प्रयोगकर्ताका लागि हामी यो सुविधा अहिले उपलब्ध गराउने छैनौं । किनभने यदि कसैले जूमको प्रयोग गलत तथा अपराधिक प्रयोजनमा लगाएको खण्डमा हामी स्थानीय कानून कार्यान्वयन गर्ने निकायहरुलाई छानबिन गर्न सहज होस् भन्ने चाहन्छौं ।

 जूम अहिले एउटा परिचित ब्राण्ड बनिसकेको छ । अनलाइन बैठक आयोजना गर्ने मात्र होइन, लकडाउनको समयमा सँगसँगै डिनर गर्न, जन्मदिन मनाउन, पार्टी आयोजना गर्न समेत यो एउटा उपयोगी माध्यम बनिरहेको छ । 

 जूमले सुरुवाती समयदेखि आफ्नो सेवा व्यवसाय लक्षित रहेको र अन्य साधारण प्रयोगकर्तालाई लक्षित गरेर नबनाइएको बताउँदै आएको छ । 

तर सहज र उपयोगी फिचरका कारण अहिले जूमको निःशूल्क प्रयोग गर्नेहरुको संख्या निकै धेरै छ । कोरोनाभाइरसको महामारीको समयमा जूमको अत्यधिक प्रयोग हुन थालेपछि यसको सुरक्षा कमजोरीको विषयले निकै चर्चा पाएको थियो ।

रोयटर्सको रिपोर्ट अनुसार जूमले उच्च सुरक्षा युक्त इन्ड इन्क्रिप्सन फिचर सशूल्क सेवा लिने ग्राहकलाई, केही विशेष समूह र गैर-नाफामुलक संस्थाहरुलाई मात्र उपलब्ध गराउनेछ । 

गैरकानूनी र दुर्व्यवहारजन्य गतिविधि तथा सामग्रीको नियन्त्रण र व्यक्तिगत गोपनीयताको रक्षा गर्ने विषय इन्टरनेट विश्वकै लागि लामो समयदेखि गहन विमर्शको रुपमा रहँदै आएको छ । 

अमेरिकन सिभिल लिबर्टिज युनियनका फेलो जोन क्यालसले जूमको यस किसिमको निर्णयलाई तल्लो तहको व्यवहारको संज्ञा दिएका छन् । जसले निःशूल्क रुपमा गरिने कललाई लागि संदीग्ध कलको रुपमा जोड्ने उनको तर्क छ ।

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१