close

भारतीय टेलिकममा ओइरिँदै अमेरिकी लगानी, एयरटेलमा २ खर्ब ४० अर्ब लगानी गर्दै अमेजन

टेकपाना टेकपाना

जेठ २३, २०७७ ११:३८

भारतीय टेलिकममा ओइरिँदै अमेरिकी लगानी, एयरटेलमा २ खर्ब ४० अर्ब लगानी गर्दै अमेजन

काठमाडौं । अमेरिकी दिग्गज आईटी कम्पनीहरु एकपछि अर्को गर्दै भारतीय टेलिकम क्षेत्रमा लगानी गरिरहेका छन् । टेलिकम कम्पनी रिलायन्स जियोको ९.९ प्रतिशत शेयर स्वामित्व खरीद गरी भारतीय टेलिकम बजारमा फेसबुकले प्रवेश गरेसँगै अहिले लगानीको लहर नै छाएको छ ।

पछिल्लो सूचना अनुसार अब अमेजन पनि भारती टेलिकम कम्पनीमार्फत भारत प्रवेश गर्दैछ । त्यसका लागि अमेजनले २ अर्ब डलर अर्थात २ खर्ब ४० अर्ब रुपैयाँ लगानीमा पाँच प्रतिशत शेयर खरिद गर्नेछ ।

यो प्रक्रिया अहिले छलफलकै क्रममा रहेको रोयटर्सले जनाएको छ । यसअघि आएका खबर अनुसार गूगलले भारतीय दूरसञ्चार कम्पनी भोडाफोन आइडियाको पाँच प्रतिशत शेयर खरिद गर्ने तयारी गरिरहेको छ ।

गूगलले उक्त पाँच प्रतिशत शेयरका लागि ११ करोड अमेरिकी डलर लगानी गर्ने बताइएको छ ।फाइनाइन्सियल टाइम्सका अनुसार साढे तीन वर्ष पुरानो दूरसञ्चार कम्पनी रिलायन्स जियोमा समेत गूगलले लगानीका लागि इच्छा देखाएको थियो ।

त्यसका लागि गूगलले रिलायन्स जियोसँग वार्ता पनि गरेको थियो । वितेका केही हप्ता अघि फेसबुक सहित अमेरिकी प्राइभेसी इक्युटी फर्म सिल्भर लेक, केकेआर, जनरल अटलान्टिक तथा भिस्टाले पनि जियोमा कूल १० अर्ब ३० करोड डलरको लगानी गरिसकेका छन् ।

फेसबुकको लगानी सँगै गूगल जियोमा लगानी गर्ने योजनाबाट पछि हटेको थियो । अब उसले भोडाफोनमा लगानी गर्ने तयारी गरिरहेको छ । भोडाफोन आइडिया भारतको दोस्रो ठूलो दूरसञ्चार कम्पनी हो ।

यस्तै माइक्रोसफ्टले पनि रियलायन्स जियोमा दुई अर्ब डलरको लगानी गर्ने तयारी गरिरहेको छ । ३८ करोड ८० लाखभन्दा धेरै प्रयोगकर्ता रहेको भारतको सबैभन्दा ठूलो दूरसञ्चार सेवाप्रदायक रियलायन्स जियोमा माइक्रोसफ्टले लगानी गर्न देखाएको विषय करिब एक महिनादेखि चर्चामा छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१