close

माइक्रोसफ्ट टिम्सको सामना गर्न अमेजन र स्ल्याकको सहकार्य

टेकपाना टेकपाना

जेठ २४, २०७७ १०:३७

माइक्रोसफ्ट टिम्सको सामना गर्न अमेजन र स्ल्याकको सहकार्य

एजेन्सी । स्ल्याक र अमेजनले आफ्नो साँझेदारी अझ गहिरो बनाएका छन् । यससँगै स्ल्याकले आफ्नो भिडियो तथा अडियो कलिङ सुधार गर्न अमेजन वेब सर्भिस-एडब्लूएसमा माइग्रेट हुनेछ ।

यसैगरी अमेजनका सम्पूर्ण कर्मचारीहरुले अब कार्यस्थलमा सम्पर्क माध्यमका लागि स्ल्याकमा पहुँच पाउने छन् । स्ल्याकका ८ लाख ४० हजार कर्मचारी मध्ये कतिले स्ल्याकमा पहुँच पाउनेछन् भन्ने यकिन भने भइसकेको छैन ।

हाल स्ल्याकको सबैभन्दा ठूलो इन्टरप्राइज ग्राहक आईबीएम हो । जसका तीन लाख ५० हजार कर्मचारीले स्ल्याक प्रयोग गर्दै आएका छन् । मूख्यतः स्ल्याक र अमेजनले आपसी साँझेदारीमार्फत माइक्रोसफ्टको टिम्स एपसँग प्रतिस्पर्धा गर्नेछन् ।

कोल्याब्रेसन टूलको रुपमा रहेको स्ल्याकले पछिल्लो समय माइक्रोसफ्टको टिम्सका कारण कडा चुनौतिको सामना गर्नुपरेको छ । जसकै कारण अमेजनसँगको यो नयाँ साझेदारी सम्भव भएको हो ।

कोरोनाभाइरसको महामारीसँगै रिमोट सञ्चार टूलको रुपमा विद्यालय तथा कम्पनीहरुमा माइक्रोसफ्टको टिम्स र स्ल्याकको प्रयोग बढेको छ । लकडाउनको अवधिमा विश्वले वर्क फ्रम होमको अभ्यास गरिरहँदा सबै भिडियो कन्फ्रेन्सिङ एपहरुले तिब्ररुपमा वृद्धि हासिल गरिरहेका छन् ।

तर स्ल्याकको हालै सार्वजनिक पहिलो चौमासिक आय प्रतिवदेनमा कम्पनीको गति पुरानै दरमा अघि बढिरहेको देखिएको छ । उक्त प्रतिवेदन सार्वजनिक भएको केही घण्टापछि नै कम्पनीको शेयर १५ भन्दा धेरैले घटेको थियो । 

अमेजन र स्ल्याकको सहकार्यको इतिहास पुरानै हो । २०१४ मा सार्वजनिक भएयता स्ल्याकले आफ्नो सेवा अमेजनकै वेब सर्भिस पूर्वाधारमा सञ्चालन गर्दै आइरहेको छ । महामारीको समयमा बढेको मागलाई धान्नका लागि पनि स्ल्याकले एडब्लूएसकै सहायता लिँदै आएको छ । 

यस्तै स्ल्याकको क्लाउडका लागि समेत अर्को छुट्टै नयाँ सम्झौताका लागि संवाद अगाडि बढेको छ ।  बिहीबारको एउटा फाइलिङ अनुसार स्ल्याकले अबको पाँच वर्षसम्मका लागि एडब्लूएसलाई ४२ करोड ५० लाख डलर तिर्नुपर्ने हुन्छ । 

अमेजनका केही कर्मचारीहरुले यसअघि नै स्ल्याक प्रयोग गरिरहेका थिए । तर नयाँ सम्झौता पश्चात अमेजनका सम्पूर्ण कर्मचारीहरुले अब स्ल्याकमा एक्सेस पाउनेछन् । अमेजन अमेरिकाको दोस्रो ठूलो निजी रोजगारदाता कम्पनी हो । जसमा आठ लाख ४० हजार कर्मचारीहरु कार्यरत छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०