close

नेपाल र नेपालीको नयाँ ‘ठेगाना’

रन्जन कोइराला रन्जन कोइराला

जेठ २४, २०७७ १५:८

नेपाल र नेपालीको नयाँ ‘ठेगाना’

काठमाडौं । सबैका आ–आफ्नै व्यक्तिगत अनुभव र भोगाई हुन्छन् । तिनै भोगाई र अनुभवले मान्छेको जीवनमा ठूलो परिवर्तन ल्याएका अनेकौं उदाहरण छन् । 

नेपाली समाजमा रुचाइएको म्यासेजिङ एप भाइबरको कथा पनि एक भोगाई नै थियो । टाल्मोन मार्कोले आफ्नी प्रेमिकालाई भेट्न जाँदाको घण्टौंको यात्रालाई छोट्याउन भाइबरको सुरुवात गरेका थिए ।

त्यस्तै उबरका संस्थापक ग्यारेट क्याम्पले भाडामा आठ सय डलर तिर्दाको नमिठो अनुभवलाई अवसरमा परिणत गरेर आज अर्बौं डलरको मालिक बनेका छन् । 

यसैगरी आफ्नै भोगाईबाट जन्मिएका नेपाली प्रडक्ट पनि थुप्रै छन् । जसको ज्वलन्त एउटा उदाहरण हो ‘ठेगाना सर्भिस’ । ठेगाना अर्थात नेपालीको डिजिटल नक्सा । 

पाटनका गल्लीहरु सहज हुन्थे र विशाल केसीले सहजै आफ्नो साथीको कार्यालय फेला पार्न सकेको भए सायद आज ‘ठेगाना’ बन्ने थिएन होला ।

अमेरिकाको लामो बसाईंपछि नेपाल फर्किएका केसीले पाटनका गल्लीहरु त्यस अघि पछ्याएका थिएनन् । साथीले दिएको लोकेसनका आधारमा उनी पाटन हानिए । पाटनका त्यी गल्ली छिचोल्दै साथीको अफिस पुग्नु उनका लागि महाभारत सावित भयो ।

केसी सम्झिँदै भन्छन्, ‘म स्थानीयलाई साथीको अफिसको लोकेसन देखाउँदै अघि बढेको थिँए । तर, पनि जानुपर्ने ठेगानामा पुग्न सकिनँ । साथीलाई उल्टै आफू उभिएको ठेगाना दिएर पिक अप गर्न बोलाउनु पर्‍यो ।’ 

साथीको अफिस पुग्नुपर्ने त्यो यात्रा त सकियो । तर, मनमा भने नयाँ यात्राको नापनक्सा कोरिन थाल्यो । साथीको अफिसबाट फर्किए पछिका केही महिना तिनै बिराना गल्ली सजिलै पहिल्याउने माध्यको खोजिमा बिते । 

केसी सम्झिन्छन्, ‘म सोच्थें, डिजिटल रुपमा नेपालको नक्साङ्कन गर्न सकियोस् । ता कि एउटा डिजिटल नम्बरलाई औंल्याएर सहज रुपमा गन्तव्यमा पुग्न सकियोस् ।’ 

ठेगानाका संस्थापक विशाल केसी

तर, काठमाडौंमा सबै गल्लीको छुट्टै नाम समेत थिएन । सरकारले पनि यसमा खासै काम गरेको पाइँदैन । झन्डै आठ महिना लामो दिमाग खियाईपछि बल्ल उनले आफ्नो मनको यात्राले ‘ठेगाना’ पहिल्याउने ठाउँमा पुर्‍यायो । जुन कोडमा आधारित युनिक लोकेसन थियो ।

यो सन् २०१९ अप्रिलको कुरा हो । कोडमा आधारित म्यापिङ सिस्टम नेपालका लागि नयाँ भएता पनि विश्व परिवेशमा भने नौलो विषय थिएन । केसीले अध्ययनका क्रममा केन्या, मंगोलिया जस्ता देशमा यसको प्रयोग भएको पाए । 

त्यहाँ पनि काठमाडौंका गल्लीको अलमल जस्तै समस्या हल गर्न यसको प्रयोग भएको थियो । त्यसैले केसी स्वयम् यसलाई युनिक मान्दैनन् । 

जे भए पनि उनको टिमले नेपालमा यसको सुरुवात गर्‍यो । त्यसका लागि नेपालको भूभागलाई ९ बाई ९ मिटर दरले नाप्दा ८५ करोड ८० लाख कोड तयार भए । हरेक ठाउँलाई युनिक बनाउन अक्षर र अंक सहित नौ वटा नम्बर प्रदान गरियो । 

उदाहरणको लागि गोश्वारा हुलाक सुन्धारा, काठमाडौंको ठेगाना बुझाउन ‘केटीएम–पी८२७५६’ दिइयो । जसमा सुरुका तीन अक्षरले सम्बन्धित जिल्ला जनाउँछ भने बाँकी छ वटा नम्बरले तोकिएको स्थान । माथिको ठेगानामा केटीएमको अर्थ काठमाडौं जिल्ला र बाँकीले गोश्वारा हुलाकको विद्युतीय ठेगाना जनाउँछ ।

‘ठेगाना’ले यसरी नै नेपालका हरेक स्थानलाई युनिक नम्बर दिएको छ । यतिसम्म कि, डाडाँका चुचुरोदेखि त्रिशुली नदीको मध्यभागसम्मको आफ्नै ठेगाना छ । केसी चाहन्थे यसले भविष्यमा आउने समस्याको समेत हल गर्न सकोस् ।

त्यसैले हाल कुनै ठाउँमा घर छैन, बाटो घटो पुगेको छैन भने पनि त्यो ठाउँको डिजिटल ठेगाना अहिले नै तयार भइसकेको छ । साथै प्रयोगकर्तालाई आफ्नो ठेगानाको नाम आफूले चाहेजस्तै गरी राख्न सकिने सुविधा पनि यसमा उपलब्ध छ ।

कसैलाई आफ्नो ठेगानाको लागि क्यूआर कोड आवश्यक छ भने यसमा आवश्यक जानकारी राखेर तयार पार्न सकिन्छ । हाल ‘ठेगाना’ प्रयोग गर्नेको संख्या १५ सय नाघिसकेको केसी बताउँछन् । उनका अनुसार १६ हजारभन्दा बढी घरको समेत डिजिटल ठेगाना तयार भइसकेको छ । 

इन्टरनेटबिना अफलाइनमा समेत काम गर्ने ‘ठेगाना एप’ले हरेक मोडमा निर्देशन दिँदै गन्तव्यसम्मको बाटो देखाउन सक्छ । हरेक यात्रुलाई बाटो देखाएर उनीहरुको यात्रालाई सहज बनाउने केसीको धोको छ ।

उनी भन्छन्, ‘यसको उद्देश्य डेलिभरी सेवा प्राप्त गर्न, आपतकालीन सेवासुविधा लिन, बैंक खातामा ठेगाना दर्ता गराउन, पैदल यात्रा तथा सवारीसाधनबाट एक ठाउँबाट अर्को स्थानमा पुग्न सहज बनाउनु पनि हो ।’

यसले वित्तीय संस्थाहरुलाई हालको केवाईसी नियम पालना गर्न परेको कठिनाईबाट समेत मुक्ति दिलाउन सक्छ ।  प्राकृतिक प्रकोपको समयमा छिटो र सरल रुपमा राहत उद्धार कार्यका लागि यो उपयोगी हुनसक्ने देखिन्छ । यसरी ठेगाना तयार पार्ने क्रममा ठेगानाको टिमलाई गूगल म्याप जस्तै भएको भन्नेहरु नआएका होइनन् । 

केसीले भने यसलाई सही प्रश्न र गलत जवाफको रुपमा बुझेका छन् । उनी आफ्नो बुझाई प्रस्ट्याउँदै अगाडि भन्छन्, ‘किन भने, गूगल र एप्पल म्यापले नेपालमा जहाँ छाडेका थिए, हामीले त्यहीँबाट फेरी सुरु गरेका थियौं । पक्कै पनि हाम्रो सिस्टमको ब्याकमा चल्ने गूगल म्याप नै हो । ठेगानाबाट गूगललाई प्रतिस्थापन गर्ने योजना हाम्रो होइन ।’

गूगलमा सर्च गरेर तपाईंको घर देखिँदैन । तर ‘ठेगाना’ले सर्चबाट हरेक घर फेला पार्न सम्भव बनाएको छ । केसी गूगल जस्तो ठूलो कम्पनीलाई प्रतिस्थापन गर्ने कुरा आफ्नो क्षमता र उद्देश्यभन्दा बाहिरको ठान्छन् ।

वास्तवमा ‘ठेगाना’ले गूगल म्यापलाई नै सदुपयोग गरेर नेपाल र नेपालीको समस्या समाधान गर्ने लोकल प्रडक्ट बनाएको हो । प्रडक्ट तयार भए पनि अब हरेक मानिसहरुलाई उनीहरुको ठेगानाको महत्व बुझाउने विषय उनीहरुका लागि चुनौती बनेर खडा भएको छ । 

कुनै निश्चित ठाउँबाट यता वा उता भनेर लोकेसन भन्नुपर्ने बाध्यताबाट मुक्ति दिलाउने योजना केसीको टिमले बनाएको छ । अहिले उनको टिम ‘ठेगाना’को बजारीकरणमा जुटेको छ । साथै दीगो रुपमा परियोजनालाई टिकाउने र अगाडि बढाउने स्रोतको विकल्पमा ‘ठेगाना’ लागिपरेको  छ।

कम्पनीमा अहिले आठ जना कार्यरत छन् । सरकारी निकायमा कोडमा आधारित ठेगानालाई विकल्पको रुपमा प्रयोग गर्न उनीहरु दौडधुमै छन् । तर सरकारी निकायहरु भने उही पुरानो म्याट्रिक्स सिस्टमबाट माथि उठ्न सकेको छैन । 

म्याट्रिक सिस्टम भनेको निश्चित गल्लीलाई छुट्टै नामकरण गरेर त्यसैका आधारमा बाटो तल/माथि रहेका घर र स्थानलाई ठेगाना दिने प्रणाली हो । तर, नेपालमा सबै गल्लीको नामाकरण समेत भइसकेको छैन ।

केसी यस्तो परिपाटीले डिजिटल नेपालको परिकल्पना असम्भव देख्छन् । उनी भन्छन्, ‘डिजिटल नेपालको परिकल्पनालाई साकार पार्न ठेगाना एउटा राम्रो टूल हुनसक्छ ।’

‘ठेगाना’ को आधारमा सरकारले हुलाकलाई सक्रिय बनाएर राम्रो आम्दानी गर्न सक्ने सम्भावना छ । एप निर्माण गर्नुको पछाडिको केसीको मक्सद पनि यही थियो ।

‘म चाहन्थेँ, नेपालमा मरेको हुलाक सेवा यही ठेगानाले फेरी जाग्न सकोस्,’ केसी भन्छन्, ‘दोस्रो हामी ‘ठेगाना’लाई सेवाको रुपमा प्रयोगमा ल्याउन सकिन्छ भनेर निजी क्षेत्रसँग सहकार्य गरिरहेका छौं ।’

अबको बजार अनलाइनमा आधारित हुने निश्चित छ । अनलाइन शपिङ, अनलाइन कारोबार विस्तार हुने क्रम सुरु भइसकेको छ । सस्तोमा सामान डेलिभरीका लागि तोकिएकै स्थानमा पुर्‍याउने सजिलो माध्यम ‘ठेगाना’ बन्न सक्छ ।

यसलाई प्रयोगमा ल्याउने हो भने ग्राहकले आफ्नो लोकेसन दिँदा डेलिभरीका लागि पुग्नेले पटक पटक सम्पर्क गर्नुपर्ने अहिलेको बाध्यता हट्ने निश्चित छ । 

जसले सस्तो र छिटो रुपमा समाधानको काम गर्न सक्छ । त्यसो त ‘ठेगाना’ले अनलाइन सर्भिस डेलिभरी गर्ने कम्पनीहरुसँग सहकार्य गर्ने तयारी समेत थालिसकेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०