close

गैरकानूनी कारोबारमा ‘खल्ती’ प्रयोग नगर्न कम्पनीको आग्रह, शङ्‌कास्पद अकाउण्ट ब्लक गरियो

टेकपाना टेकपाना

जेठ २५, २०७७ १२:४७

गैरकानूनी कारोबारमा ‘खल्ती’ प्रयोग नगर्न कम्पनीको आग्रह, शङ्‌कास्पद अकाउण्ट ब्लक गरियो

काठमाडौं । गैरकानूनी कार्यको भुक्तानीमा खल्ती डिजिटल वालेटको प्रयोग हुने गरेको भन्दै कम्पनीले त्यस्ता कार्य तत्काल रोक्न आग्रह गरेको छ । कम्पनीले नेपालमा दर्ता भएका मर्चेन्टमार्फत गैरकानूनी रुपमा विदेशी कम्पनीलाई भुक्तानी गरिरहेको पाइएको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।

आइतबार सार्वजनिक सूचना जारी गर्दै खल्तीले विशेषगरी गेमरहरुलाई यस्ता कार्य नगर्न आग्रह गरेको छ । ‘हामी प्रयोगकर्तालाई माया गर्छाैं, विशेषगरी नेपालमा रहेका गेमर कम्युनिटीलाई,’ खल्तीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘कम्पनीको पनि कानूनी दायरा हुन्छ, स्वीकृति नलिई विदेश पैसा पठाउने कार्य गैरकानूनी हो । त्यसैले हामीले यस्ता कार्य नगर्न हाम्रा मचेन्टहरुलाई समेत सेचत गराइरहेका छौं ।’

कम्पनीले नेपाल राष्ट्र बैंकको स्वीकृति नलिई डलर भुक्तानी गर्नु सरकारी कानून विपरित हुने स्पष्ट पार्दै अनलाइन खेल, बाजी, बेटिङ तथा अन्य कुनै पनि कार्य तत्काललाई रोक्न आग्रह गरेको छ । साथै हाललाई त्यस्ता अकाउण्ट खल्तीबाट पूर्णरुपमा हटाइएको कम्पनीले जनाएको छ ।

कम्पनीले यस्ता भुक्तानीका लागि कानूनी उपाय सम्भव भएसम्म चाँडै उपलब्ध गराउन समेत आफू लाग्ने बताएको छ । यसअघि यस्तै घटानालाई लिएर ई–सेवाले शुक्रबार सूचना जारी गरी यस्ता कार्य रोक्न निर्देशन दिइसकेको छ । भने, ईसेवाले समेत त्यस्ता अकाउण्ट बन्द गरिसकेको जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०