close

अटो रिन्युका नाममा लगातार ग्राहकको ब्यालेन्स काट्दै एनसेल, २ वर्षदेखिको निर्देशन समेत अवज्ञा

रन्जन कोइराला रन्जन कोइराला

जेठ २६, २०७७ १५:५८

अटो रिन्युका नाममा लगातार ग्राहकको ब्यालेन्स काट्दै एनसेल, २ वर्षदेखिको निर्देशन समेत अवज्ञा

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नियामक नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अवज्ञा गर्दै ग्राहकलाई स्वतः एक्टिभ तथा अटो रिन्युमा आफ्नो प्याक बिक्रीलाई निरन्तरता दिएको पाइएको छ । एनसेलले ‘मेरो प्लान अन्तर्गत’ मासिक र साप्ताहिक रुपमा रिन्यु हुने ‘रिकरिङ प्याक’ अर्थात पुन स्वतः सब्स्क्राइब हुने डेटा प्याक वेबसाइटमै राखेर बिक्रीलाई सुचारु राखेको हो ।

एनसेलले अटो रिन्यु हुने मेरो प्लान अन्तर्गत मासिक पाँच वटा र साप्ताहिक दुई वटा त्यस्ता प्याकहरु उपलब्ध गराउँदै आएको भेटिएको छ ।

प्लानको बारेमा जानकारी दिँदै एनसेलले यसलाई ‘अटो रिन्यू’ हुने सेवा भनेर व्याख्या गरेको छ । वेवसाइटमा उल्लेख गरेको भएता पनि मोबाइलमा प्याक लिँदा कम्पनीले प्रयोगकर्तालाई यस विषयमा जानकारी दिने गरेको पाइँदैन ।

एकजना प्रयोगकर्ताले आइतबार बेलुका भिडियो सन्देशमार्फत एनसेलले आफ्नो दुई जीबी डेटा प्याक अटो रिन्यु गर्दै आफ्नो ९५.७७ रुपैयाँ ब्यालेन्स काटेको गुनासो गरे ।

आफूले एक पटकका लागि प्याक लिएको भए पनि त्यसपछिका हप्ताहरुमा आफै अटो रिन्यु हुँदै ९५.७७ का दरले ब्यालेन्स काट्दै आएको उनले बताए । एनसेलले ग्राहकलाई थाहै नदिई विभिन्न सेवा सुचारु गर्ने तथा प्याक अटो रिन्यु गर्ने नाममा ब्यालेन्स काट्ने गरेको विषयमा टेकपानाले निरन्तर समाचार प्रकाशित गर्न थालेपछि यस किसिमका दर्जनौं गुनासाहरु प्राप्त हुन थालेका छन् ।

यस विषयप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको प्राधिकरण अध्यक्ष पुरुषोत्तम खनाल भनाई छ । टेकपानासँगको कुराकानीमा उनले भने, ‘यस विषयमा हामी अध्ययन गर्दैछौं ।’ एनसेलले अटो रिन्युको नाममा ठगेको भन्दै प्राधिकरणमा उजुरी समेत परेको र यसको अध्ययनको प्रक्रिया अघि बढिसकेको अध्यक्ष खनालले जानकारी दिए ।

उनले सेवा प्रदायकले प्रमोसनल ट्यारिफ लागु गर्न सक्ने र एनसेलले त्यसै अन्तर्गत रहेर उक्त प्याक ल्याएको हुनसक्ने बताए ।

उनले भने, ‘तर, अटो रिन्युको विषयमा हामीले दुई वर्ष अघि नै बन्द गर्न निर्देशन दिइसकेका हौं । यसरी सेवाप्रदायकहरुले अटो रिन्यु हुने गरी कुनै पनि प्याक बिक्री गर्न पाउँदैनन् । ट्यारिफ गाइडलाइन परिमार्जन गरेर भए पनि यस्तो कार्यलाई रोकेरै छाड्छौं ।’

प्राधिकरणले दुई वर्ष अघि नै एनसेललाई कुनै पनि सेवाको अटो रिन्यु गर्ने कार्य बन्द गर्न निर्देशन दिएको थियो । २०७५ साल असोज १५ गते एनसेलको नाममा पत्र काट्दै प्राधिकरणले भ्यालू एडेड सर्भिस (भास) अन्तर्गतका सेवाहरुका साथै अन्य सेवा उपभोक्ताले प्रयोग गर्दा अटो रिन्यु हुने गरेको पाइएपछि तत्कालै बन्द गर्न भनेको थियो ।

उक्त निर्देशनको आधारमा एनसेललाई १५ दिन अघिमात्रै कारबाही गर्ने निर्णय प्राधिकरण बोर्डबाट भएको छ । प्राधिकरणले अटो रिन्यू गरेको भन्दै एनसेललाई ५० हजार जरिवाना गर्ने निर्णय गरेको हो ।

साथै अब उपरान्त त्यस्ता कार्य नगर्न निर्देशन दिने प्राधिकरणको यो निर्णय तेस्रो पटक हो । एक महिना अघि मात्र पनि एनसेलले ग्राहकलाई जानकारी नै नदिई दैनिक १५ रुपैंयाभन्दा बढी ब्यालेन्स काटिरहेको विषयमा टेकपानाले समाचार प्रकाशित गरेको थियो ।

जसमा कम्पनीले ह्वावे गेम कन्टेन्ट र विजनेस ह्याण्डलिङ शूल्कको नाममा दैनिक १५ रुपैयाँ ३२ पैसासम्म ब्यालेन्स काटिएको देखिएको थियो । टेकपानामा समाचार प्रकाशित भएसँगै नियामकले छानविन सुरु गर्‍यो ।

छानविनका क्रममा ग्राहकलाई थाहै नदिई सब्स्क्राइब नै नगरिएको सेवा अटो रिन्यु गरिरहेको भन्दै अध्ययन टोलीले तत्काल उक्त कार्य बन्द गर्न एनसेललाई आदेश दिएको थियो । तीन पटक एउटै निर्देशन प्राप्त हुँदा समेत एनसेलले उक्त कार्य बन्द गरेको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०