close

अब भाइबरमा पनि २० जनासम्मको भिडियो कल, यसरी गर्नुहोस् प्रयोग

टेकपाना टेकपाना

जेठ २६, २०७७ १७:१९

अब भाइबरमा पनि २० जनासम्मको भिडियो कल, यसरी गर्नुहोस् प्रयोग

काठमाडौं । अब भाइबरमा २० जनासम्मको भिडियो कल गर्न सकिने भएको छ । कम्पनीले यस अघि ५ जनासम्म मात्रै भिडियो कलमा जोडिन सक्ने सीमिततालाई विस्तार गरेको हो ।

भाइबरले नेपालमा सुरु गरेको ग्रुप भिडियो कल नामक नयाँ सेवामा २० जनासम्मले एकसाथ असीमित कुराकानी गर्न सकिने जनाएको छ । भिडियो कलको बढ्दो माग भइरहेको सन्दर्भमा पछिल्लो समय म्यासेजिङ सर्भिसले समेत आफ्नो भिडियो कलको दायरा विस्तार गर्दै गएका छन् ।

भाइबरले सामाजिक दूरी कायम गर्न र मानिसहरुमाझ समूहगत भेटघाटमा रोक लागेको अहिलेको परिस्थितिमा अनलाइन कुराकानीलाई सहज बनाउन भिडियो कलको सुविधा विस्तार गरिएको बताएको छ ।

अनलाइन कुकिङ क्लास संचालन गर्ने सेफहरुदेखि योग अभ्यासको कक्षा लिइरहेका योग गुरुहरुसम्म, सामूहिक कार्य गर्ने सबैलाई सुरक्षित, प्रभावकारी भिडियो च्याट निर्विकल्प माध्यम बनेको छ ।

मोबाइल तथा डेस्कटप दुवैमा भाइबर एप मार्फत भाइबर ग्रुप कल गरी स्क्रीन सेयर तथा भिडियो लाइभ समेत गर्न सकिने बताइएको छ । ‘भाइबरको ग्रुप च्याटहरु र ग्रुप भ्वाइस कलहरुका साथै आमने सामने सञ्चारको यो नयाँ माध्यम ‘न्यू नर्मल’ सँग सामना गर्ने एक उत्तम तरिका हो,’ कम्पनीले भनेको छ ।

“हामी हाम्रा प्रयोगकर्ताहरुलाई बढीमा २० जनासम्म रहने गरी भिडियो कलमा सहभागी गराउने सुविधा सुरु गर्न पाउँदा अत्यन्तै उत्साहित भएका छौं र यसलाई हामी चाँडै थप विस्तार गर्ने दिशामा अग्रसर छौं,’ भाइबरका सिओओ अफिर एयालले भनेका छन्, ‘भाइबरले एक महत्वपूर्ण उद्देश्यका साथ समाजलाई सेवा प्रवाह गर्दै आएको छ । अब त्यसमा पहिलेभन्दा अझ धेरै प्रयोकर्ताहरुलाई सञ्चार गर्न मिल्ने भएको छ । हाम्रो जीवनमा भिडियो छलफल पहिले भन्दा अझ ज्यादा हुनेछ, यसैले हामीले यो नयाँ फिचर सुरु गरेका हौं । प्रयोगकर्ताहरुलाई वास्तवमा नजिक ल्याउने र आमने–सामने मिटिङ गर्ने अरु कुनै विकल्प छैन ।’

यसरी गर्नुहोस् प्रयोग

भाइबरमा ग्रुप भिडियो कल सुरु गर्न अत्यन्त सजिलो छ । केवल स्क्रीनको माथिल्लो छेऊमा भएको नयाँ ‘भिडियो’ बटन दबाएर नयाँ कल आयोजना गर्न वा चाल भिडियो कलमा थप सहभागीहरुलाई जोड्न मिल्छ ।

ग्रुप भिडियो कलमा सहभागी सबैलाई भिडियो लाइभ गर्ने सुविधा समेत रहेको छ । कलको दौरान आफ्नो स्क्रीनमा निश्चित व्यक्तिको भिडियो तथा स्क्रीन पिन गर्न सकिन्छ ।

साथै प्रयोगकर्ताहरुले आफ्नो भिडियो बन्द गर्न र आफैलाई म्यूट राख्न पनि पाउँछन् । यसमा अन्य कोही सहभागी म्यूट रहेको वा उनीहरुको भिडियो बन्द भएको पनि देख्न सकिन्छ ।

यहाँ क्लिक गरेर पनि तपाईंले भिडियो कल आयोजना गर्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०