close

‘सामाजिक सञ्जाल कोरोना महामारीजस्तै भयो’ : सञ्चारमन्त्री

टेकपाना टेकपाना

जेठ २७, २०७७ १३:२१

‘सामाजिक सञ्जाल कोरोना महामारीजस्तै भयो’ : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सामाजिक सञ्जाललाई कोरोना भाइरस महामारीसँग दाँजेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत बजेट छलफलमा सञ्चार मन्त्रालयका तर्फबाट जवाफ दिदैं उनले सामाजिक सञ्जालको दुरुपयोगलाई महामारीको संज्ञा दिएका हुन् ।

‘एक हिसाबले हेर्दा सामाजिक सञ्जाल कोरोना महामारी जस्तै भएको छ । कसलाई संक्रमण हुन्छ, त्यसको टुंगो छैन ।’ उनले भने, ‘तर एउटा कुरा के हो भने स्वस्थ मान्छे चाहीं यो संक्रमणबाट संक्रमित भएपनि स्वस्थ भएर निस्कन सक्छ, उसले रोगलाई परास्त गर्न सक्छ ।’

जसरी कोरोना स्वस्थ मान्छेले पराजित गर्न सक्छ सामाजिक सञ्जालका माध्यमबाट गरिने दूष्प्रचारहरुलाई पनि स्वस्थ मान्छेले पराजित गर्न सक्ने उनको भनाई थियो ।

बजेटपछि खासगरी विद्युतीय सवारी र चकलेटको भन्सार दरमा भएको हेरफेर पछि अर्थमन्त्रीसमेत रहेका खतिवडालाई स्वार्थ समुहको हितमा काम गरेको भन्दै सामाजिक सञ्जालमा आरोप लाग्दै आएको छ ।

मन्त्री खतिवडाले सूचना प्रविधिले ल्याएको विकासलाई रोकेर हैन त्यसलाई व्यवस्थित गरेर अगाडि बढ्नेमा सरकार स्पष्ट रहेको पनि बताएका छन् । ‘अपराध भयो भनेर रोकेर हैन व्यवस्थित गर्ने कुरा हो यसतर्फ सरकारले ध्यान दिन्छ’ उनले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०