close

आईटी ल्याब अनुगमन गर्दै प्राधिकरण, छनोट भयो कम्पनी

टेकपाना टेकपाना

जेठ २७, २०७७ १५:२५

आईटी ल्याब अनुगमन गर्दै प्राधिकरण, छनोट भयो कम्पनी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले देशभरका ९३० विद्यालयमा आईटी ल्याब स्थापना गर्न सुरु गरेको कार्यक्रम अनुगमनका लागि कम्पनी छनोट भएको छ । प्राधिकरणले अन्तिम चरणमा ट्रेनिङ सेन्टर नेपाल, एभरेस्ट टेलिकम एण्ड आईटी सोल्युसन र माइक्रोटेक इनर्जीको जेभीलाई छनोट गरी मङ्गलबार आशयपत्र माग गरेको छ ।

प्राधिकरणले आईटी ल्याब स्थापना, सामानको आपूर्ति, तथा सञ्चालनका लागि यस अघि नै करीब ३ अर्ब ५० करोड रुपैयाँमा म्याक्स इन्टरनेशनल, ओम्नी बिजनेस र नेपा हिमा ट्रेडलिङ्कको सयुक्त्त जेभीसँग ठेक्का सम्झौता गरिसकेको छ ।

सोही परियोजनाको निरीक्षण, मूल्याङ्कन तथा प्रमाणीकरणका लागि प्राधिकरणले अहिले माइक्रोटेक इनर्जीको जेभीलाई छनोट गरेको हो । प्राधिकरणले उक्त कम्पनीसँग ३ करोड ७३ लाख रुपैयाँमा सम्झौता गर्न लागेको हो ।

यसअघि प्राधिकरणले परामर्शदाताको ठेक्का दिन आह्वान गरिएको टेण्डरमा निवेदन दिने ११ कम्पनीबाट पहिलो चरणमा ६ कम्पनी छनोट गरेको थियो । जसमा सिभिल इन्फोमेटिक्स एण्ड सोलुसन, टोटल म्यानेजमेन्ट सर्भिस र स्मार्ट म्यानेजमेन्ट एण्ड रिसर्च टिम प्राइभेट लिमिटेडको जेभी रहेको थियो ।

यसैगरी एक्जिक्युटिभ कन्सल्टिङ इन्जिनियरिङ एण्ड प्लानर, महारुद्र गु्रप र आईटीईसीओ नेपालको जेभी, जियोकम इन्टरनेश्नल, ड्राइस सोल्युसन्स, इन्भाइरोनमेन्ट एण्ड रिसोर्स म्यानेजमेनट कन्सल्ट्यान्टको जेभी, ट्रेनिङ सेन्टर नेपाल, एभरेस्ट टेलिकम एण्ड आईटी सोल्युसन र माइक्रोटेक इनर्जीको जेभी, महाकाली मेची टेक्नोलोजीज एण्ड सप्लायर्स र पवन ढुवानी सर्भिसको जेभी, एमएच ग्रुप अफ टेक्नोलोजी एण्ड सप्लायर्स र कुमार श्रेष्ठ निर्मल सेवाको जेभी रहेका थिए ।

त्यसमध्ये आर्थिक र प्राविधिक रुपले सबल हुँदै ट्रेनिङ सेन्टर नेपाल, एभरेस्ट टेलिकम एण्ड आईटी सोलुसन र माइक्रोटेक इनर्जीको जेभी अन्तीम चरणको लागि छनोट भएको प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले बताएका छन् ।

अर्यालका अनुसार उक्त कम्पनीले आईटी ल्याब परियोजना अन्तर्गत देशभरीका ९३० विद्यालयहरुमा कम्प्युटर, प्रोजेक्टर, प्रिन्टर, सर्भिलेन्स सिस्टम, स्वीच र सोलार सिस्टम सहितका ल्याबको अनुगमन गर्नेछ । परामर्शदाता कम्पनीले दुई वर्ष सम्म तीन चरणमा उक्त परियोजनाको निरीक्षण, मूल्याङ्कन तथा प्रमाणीकरणको काम गर्ने अर्यालले बताए ।

उक्त परियोजा सम्झौता भएको मितिले ६ महिनामा काम सम्पन्न गर्ने लक्ष्यका साथ भदौ २४ गते प्राधिकरणले म्याक्स इन्टरनेशनलसँग सम्झौता गरेको थियो । फागुन अन्तिममा सकिनु पर्ने उक्त काम कोरोनाका कराण भन्दै तीन महिना समय थप गरिएको थियो ।

तर, अझै पनि विद्यालय खुल्ने कुनै वातावरण नदेखिएसँगै प्राधिकरणले उक्त परियोजना विद्यालय खुलेको मितिले ४५ दिनभित्र सक्नु पर्ने भनी समय दिएको अर्यालले बताएका छन् । उनका अनुसार हालसम्म उक्त परियोजना अन्तर्गत ६ सयभन्दा बढी विद्यालयमा ल्याब स्थापनाको काम सम्पन्न भइसकेको प्रतिवेदन आएको छ । अब परामर्शदातासँग सझौता भएपछी उक्त कार्यको अनुगमन गरिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०