close

नेपालहुँदै दक्षिण एसिया जोड्ने डेटा गेट-वे बनाउँदै चीन, तिब्बतमा विश्वकै शक्तिशाली डेटा सेन्टर

टेकपाना टेकपाना

जेठ २७, २०७७ १८:५५

नेपालहुँदै दक्षिण एसिया जोड्ने डेटा गेट-वे बनाउँदै चीन, तिब्बतमा विश्वकै शक्तिशाली डेटा सेन्टर

काठमाडौं । छिमेकी राष्ट्र चीनले दक्षिण एसिया क्षेत्रमा डेटाको शक्ति आदान प्रदान गर तिब्बतमा विश्वकै शक्तिशाली डेटा सेन्टर तयार पारेको छ । चीनले तिब्बतमा ६ लाख ४५ हजार वर्ग मिटर क्षेत्रफलमा डेटा सेन्टरको पहिलो चरणको काम सम्पन्न गरेको हो ।  

तिब्बतको राजधानी ल्हासा सहरको पठारमा उक्त क्लाउड कम्प्युटिङ तथा डेटा सेन्टर निर्माण थालिएको हो । निजी प्रविधि कम्पनी निङ्गसुवान टेक्नोलोजीले उक्त भौतिक पूर्वाधार निर्माणको काम गरिरहेको छ । 

सो पूर्वाधारको पहिलो चरणको निर्माण कार्य सम्पन्न भएसँगै परीक्षण सञ्चालन समेत सुरु भएको छ । चीनका लागि राष्ट्रिय सुरक्षाको दृष्टिले संवेदनशील मानिने तिब्बत क्षेत्र अहिले बेल्ट एण्ड रोड इनिसिएटिभ्स अन्तर्गत दक्षिण एसिया छिर्ने सेतु बनेको छ । 

बेइजिङमा डेटा कन्ट्रोल सेन्टर तथा नानजियाङमा अनुसन्धान टोली रहेको तिब्बतमा आधारित निङस्वाङ कम्पनीले बीआरआईको हिस्साको रुपमा रहेका नेपाल सहित भारत, बंगलादेश र अन्य मुलुकहरुसँग चीनको व्यापार तथा लगानीका क्रियाकलापहरु बढ्ने सम्भावनाबीच त्यस्तो डिजिटल पूर्वाधार निर्माण गर्न थालेको हो । 

चीनले नेपाल हुँदै दक्षिण एसियाली मुलुक जोड्ने डेटा गेट-वे बनाउने योजना अगाडि सारेको छ । तिब्बतमा बन्दै गरेको डेटा सेन्टरले दक्षिण एसिया क्षेत्रमा डेटा प्रशारणलाई सहयोग गर्न बलियो आईटी पूर्वाधारको रुपमा काम गर्ने निङ्गसुवानका महाप्रबन्धक हु साओले बताएका छन् ।

उच्च तापक्रम तथा विद्युत आपूर्तिमा समस्या हुने हुँदा दक्षिण एसियाली क्षेत्रका केही भूभागमा डेटा सेन्टर सञ्चालन गर्न महंगो पर्दछ ।

तर तिब्बतको न्यून तापक्रम र अनूकल मौसमले सर्भरलाई सधैं शितल राख्न मद्दत पुग्ने हुँदा डेटा सेन्टरका लागि सबैभन्दा उपयुक्त मानिएको छ । 

ल्हासामा डेटा सेन्टर स्थापना गर्ने कार्य २०१७ देखि नै सुरु भएको हो । यो परियजना अबको पाँचदेखि छ वर्षसम्ममा पूर्ण रुपमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यो परियोजनाको कूल लागत १२ अर्ब युआन अर्थात् करीब दुई खर्ब दुई अर्ब रुपैयाँ रहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले लेखेको छ । 

यो डेटा सेन्टर पूर्ण रुपमा सञ्चालनमा आएपछि त्यसले वार्षिक १० अर्ब युआन अर्थात एक खर्ब ७० अर्ब ४० करोड नेपाली रुपैयाँ आम्दानी गर्ने बताइएको छ । निर्माणमा चार लाख वर्ग मिटर क्षेत्रफलको डेटासेन्टर समावेश हुनेछ ।

उक्त परियोजनामा चिनियाँ कम्पनी अलिबाबाको समेत वित्तीय सम्बन्ध रहेको छ । २०१८ मा क्लाउड कम्प्युटिङको बजार बढाइरहेको अलिबाबाले निङ्गसुवानसँग तिब्बत क्षेत्रमा क्लाउड सेवा ल्याउने सम्झौता गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०