close

स्थानीय तहमा जोडिएको इन्टरनेट सुचारु राख्न प्राधिकरणको निर्देशन

टेकपाना टेकपाना

जेठ २९, २०७७ ११:५९

स्थानीय तहमा जोडिएको इन्टरनेट सुचारु राख्न प्राधिकरणको निर्देशन

काठमाडौं । ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी स्थानीय तहमा पुर्‍याइएको इन्टरनेट सेवा सुचारु राख्न नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको छ । बुधबार सूचना जारी गर्दै नियामकले सेवा प्रदायकलाई यस्तो निर्देशन दिएको हो ।

ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी इन्टरनेट सेवाप्रदायकमार्फत नगरपालिका तथा गाँउपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक विद्यालयहरुमा ब्रोडब्याण्ड इन्टरनेट पुर्‍याउने कार्य जारी छ । सम्बन्धित सेवाप्रदायकलाई परियोजना सम्पन्न भइसकेका क्षेत्रमा जडान गरिएको इन्टरनेट सेवा सुचारु राख्न भनिएको हो ।

प्राधिकरणका अनुसार हालसम्म उक्त परियोजना अन्तर्गत ४१ जिल्लामा शत प्रतिशत कार्य सम्पन्न भइसकेको छ । आठ जिल्लामा ५० प्रतिशत कार्य सकिएको छ । बाँकी जिल्लाहरुमा लकडाउन खुला भएपछि जडानको कार्यलाई निरन्तरता दिइने समेत प्राधिकरणले जनाएको छ ।

कोभिड–१९ को महामारीका कारण विभिन्न स्थानीय निकायहरुमा रहेका विद्यालय भवनहरु क्वारेन्टिन प्रयोजनका लागि प्रयोग भएको र स्थानीय निकायहरु तथा स्वास्थ्य निकायलाई सूचना आदान प्रदान गर्न इन्टरनेट सेवा आवश्यक हुने भएकोले ब्रोडब्याण्ड सेवा विस्तार भएका जिल्लामा निरन्तर सेवा दिनुपर्ने निर्देशनमा उल्लेख छ ।

साथै इन्टरनेट सेवा नरहेको भए सम्बन्धित सेवा प्रदाय अथवा प्राधिकरणमा जानकारी गराउन समेत प्राधिकरणले आग्रह गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०