close

एन्ड्रोइड इलाभेनको बेटा भर्सन सार्वजनिक, यी फोनमा हुँदैछ उपलब्ध

टेकपाना टेकपाना

जेठ ३१, २०७७ १०:३५

एन्ड्रोइड इलाभेनको बेटा भर्सन सार्वजनिक, यी फोनमा हुँदैछ उपलब्ध

एजेन्सी । गूगलले बिहीबारमात्रै अपरेटिङ सिस्टम एन्ड्रोइड ११ को बेटा भर्सन सार्वजनिक गरेको छ । एप्लिकेसन डेभलपर र स्मार्टफोन निर्माताहरूले यूजर इन्टरफेस परीक्षण गर्न सक्ने गरी एन्ड्रोइड ११ को बेटा भर्सन ल्याइएको हो ।

धेरै स्मार्टफोन ब्राण्डले एन्ड्रोइड ११ को बेटाभर्सन आफ्ना प्रयोगकर्तालाई समेत उपलब्ध गराउने भएका छन् । गूगलले सार्वजनिक गरेको ओएस एन्ड्रोइड ११ मा वान टाइम लोकेसन एक्सेस, माइक्रोफोन र क्यामेरा डेटा एक्सेस, फास्ट शेयर जस्ता नयाँ फीचरहरू समावेश रहेका छन् ।

विशेषगरी एन्ड्रोइड ११ को बेटा भर्समा प्रयोगकर्तामैत्री, गोपनीयता र सहज नियन्त्रणलाई प्राथामिकता दिइएको उल्लेख छ । कम्पनीले कन्भर्सेसन, बबल्स र अटो रीसेटमा गरी यसलाई तीन फरक भागमा विभाजन गरेको छ ।

कन्भर्सेसन अर्थात एन्ड्रोइड ११ मा म्यासेजिङ एपमा नोटिफिकेसन र कन्भर्सेसन गरी दुई ट्याव उपलब्ध हुनेछन् । जसमा नोटिफिकेसनहरू एउटा ट्याबमा र म्यासेज अर्को ट्याबमा देख्न सकिन्छ ।

त्यस्तै बबल्स एन्ड्रोइड ११ को अर्को फिचर हो । यसलाई गूगलको आफ्नै म्यासेजिङ फिचरको रुपमा पनि हेरिएको छ । यसले तपाईंको मोबाइलमा भएका म्यासेजिङ एपको म्यासेजमा पहुँच प्रदान गर्ने जनाइएको छ ।

त्यस्तै अटो रीसेट सुविधा समेत नयाँ भर्सनमा थप गरिएको छ । यसको अर्थ एन्ड्रोइड ११ प्रयोगकर्ताले स्वतः रिसेटको सुविधा प्रयोग गर्न सक्छन् । प्रयोगकर्ताले कुनै एपमा टाइम सेट गरेर तोकिएको समयमा अटो रिसेट गर्न सक्ने जनाइएको छ ।

यस्ता नयाँ फिचर सहित सार्वाजनिक भएको एन्ड्रोइड ११ को बेटा भर्सन गूगलले आफ्ना डिभाइसहरु पिक्सेल टू, पिक्सेल टू एक्सएल, पिक्सेल थ्री, पिक्सेल थ्री एक्सएल, पिक्सेल थ्री ए, पिक्सेल थ्री ए एक्सएल, पिक्सेल फोर र पिक्सेल फोर एक्सएलमा उपलब्ध गराएको छ ।

त्यसबाहेक विभिन्न अन्य स्मार्टफोन निर्माता कम्पनीले पनि यो भर्सन आफ्ना प्रयोगकर्तालाई उपलब्ध गराउने जनाएका छन् ।

विशेष गरी हाल एन्ड्रोइड १० मा आधारित फोनमा यो भर्सन उपलब्ध हुनसक्ने अनुमान गरिएको भएतापनि कम्पनीहरुले सीमिति मोडेलमा मात्रै प्रयोग गर्न दिने देखिएको छ ।

हालसम्म ओप्पोको ओप्पो एक्स टू र एक्स टू प्रो, रियलमीको एक्स फिफ्टी प्रो, साओमीको एमआई टेन र एमआई टेन प्रो, पोको ब्राण्डको पोको एफ टू प्रो, वानप्लसको वानप्लस एट सिरिजका फोनमा यो नयाँ भर्सन उपलब्ध गराउने उल्लेख छ ।

त्यस्तै नोकिया, एलजी लगायतका ब्राण्डले पनि आफ्ना प्रयोगकर्तालाई एन्ड्रोइड ११ को बेटा भर्सन उपलब्ध गराउने जनाएका छन् । यी ब्राण्डका कुन फोनमा उपलब्ध यो सुविधा उपलब्ध हुन्छ भन्ने विषयमा भने जानकारी बाहिर आइसकेको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०