close

टेलिकमका ४४ लाख बढी मोबाइल प्रयोगकर्ता घटे ! यस्तो छ, वास्तविकता

टेकपाना टेकपाना

जेठ ३२, २०७७ १७:२६

टेलिकमका ४४ लाख बढी मोबाइल प्रयोगकर्ता घटे ! यस्तो छ, वास्तविकता

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमका प्रयोगकर्ता तीन महिनाको अवधिमा ४४ लाख २३ हजार ६७१ संख्याले घटेको देखिएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको फागुनसम्मको तथ्याङ्कमा यस्तो देखिएको हो ।

नियामकको तथ्याङ्क अनुसार गत मंसिरमा दुई करोड १४ लाख ५३ हजार रहेका टेलिकमका जीएसएम मोबाइल प्रयोगकर्ता फागुनमा भने केवल एक करोड ७० लाख २९ हजार ९६९ मात्रै देखिन्छ । जसअनुसार कम्पनीका ग्राहक पुसमा ७९ हजार १८५, माघमा १५ लाख १९ हजार १६९ र फागुनमा २८ लाख ३५ हजार ३१७ संख्यामा घटेका छन् ।

यसरी जीएसएम मोबाइल प्रयोगकर्ताको संख्यामा ठूलो गिरावट आउँदा समग्र नेपालकै मोबाइल तथा टेलिफोन सेवाको पहुँच समेत खुम्चिएको छ । मंसिरमा १४५.२८ प्रतिशत रहेको नेपालको मोबाइल तथा टेलिफोन पहुँच फागुनसम्ममा घटेर १२९.७९ प्रतिशतमा सीमित भएको छ ।

यसबाट टेलिकमको बजार हिस्सामा समेत उल्लेखनीय परिवर्तन देखिएको छ । मंसिरमा पीएसटीएन, डब्लूएलएल, भिस्याट, सीडीएमए र जीएसएम गरी दुई करोड ३९ लाख २४ हजार ६७९ कूल ग्राहक संख्याका साथ कम्पनीको बजार हिस्सा ५५.८० प्रतिशत रहेको थियो ।

तर फागुनसम्म आइपुग्दा एक करोड ९४ लाख ९६ हजार २८१ कूल ग्राहक संख्याका साथ टेलिकमको बजार हिस्सा ५०.२८ प्रतिशतमा सीमित भएको छ । यद्यपी चैतमा भने एक करोड ७१ लाख ३९ हजार १६१ ग्राहक संख्या पुर्‍याएको कम्पनीको बजार हिस्सा समेत केही सुधार भएको छ । जसअनुसार चैत मसान्तसम्म आईपुग्दा टेलिकमको बजार हिस्सा ५०.६९ प्रतिशत पुगेको छ ।

तर वास्तवमा टेलिकमका प्रयोगकर्ता यति धेरै संख्यामा घटेको भने होइन । केही समययता पुराना निष्कृय रहेका सिम कार्ड समेत गणना हुँदै आएकोमा पछिल्लो समय त्यस्ता सिमहरु रेकर्डबाट अलग्याउँदा अर्थात तथ्याङ्क अध्यावधिक गराउँदा यस्तो देखिन पुगेको कम्पनीका सहप्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए ।

यद्यपी नियामक नेपाल दूरसञ्चार प्राधिकरणले छ महिनाभन्दा लामो समयदेखि निष्कृय रहेका सिमकार्डहरुलाई आफ्नो ग्राहक संख्याबाट हटाउन यस अघि नै परिपत्र गरिसकेको हो । तर केही समय अपडेट नहुँदा पुराना नम्बर थुप्रिएको हुनसक्ने सहप्रवक्ता भण्डारीले बताए ।

‘यसको अर्थ सुरुदेखिकै निष्कृय सिमलाई समेत आफ्नो ग्राकको रुपमा गणना गर्दै आएको भने होइन,’ उनले भने, ‘विद्यमान नम्बर रेञ्जमा रहेका प्रयोगमा नआइसकेका नम्बरहरु सकिने अवस्था आएपछि पुराना निष्कृय नम्बरहरुलाई रिसाइकल समेत गरिएको छ ।’

कम्पनीसँग जीएसएम प्रिपेड मोबाइलका लागि ९८४०, ९८४१, ९८४२, ९८४३, ९८४४, ९८४५, ९८४६, ९८४७, ९८४८, ९८४९, ९८६०, ९८६१, ९८६२, ९८६३, ९८६४, ९८६५, ९८६६, ९८६७, ९८६८, र ९८६९ बाट सुरु हुने नम्बर रेञ्ज रहेका छन् । यस्तै पोस्टपेडका लागि कम्पनीले आफूसँग भएको नम्बर रेञ्जबाट ९८५१, ९८५२, ९८५८, ९८५०… लगायतका नम्बर वितरण गर्दै आएको छ ।

यस किसिमका विद्यमान रेञ्जमा उपलब्ध नम्बरहरु प्रयोगमा समाप्त हुन थालेपछि कम्पनीले अब पुराना तथा निष्कृय नम्बर नै वितरण गर्ने भएको हो । त्यसो त कम्पनीले यस अघि समेत पुराना प्रयोगमा आइसकेका नम्बरहरु ग्राहकलाई वितरण नगरेको भने होइन ।

सह प्रवक्ता भण्डारी यस अघि निकै लामो समयदेखि निष्कृय नम्बरहरु मात्रै नयाँ ग्राहकहरुलाई वितरण गरिएको बताउँछन् । ‘अब भने ६ महिनाभन्दा लामो समयदेखि निष्कृय रहेका जुनसुकै नम्बरहरु नयाँ प्रयोगकर्तालाई दिन सकिने भन्ने कुरा हो,’ उन्छन्, ‘सीडीएमएका लागि भने अहिले नै पुराना नम्बर रिसाइकल गर्नुपर्ने अवस्था आइसकेको छैन ।’

टेलिकमको ग्राहक संख्यामा भारी गिरावट देखिँदा निजी दूरसञ्चार कम्पनी एनसेल र स्मार्ट सेलको बजार हिस्सामा सुधार देखिएको छ । गत मंसिरमा कूल ग्राहक संख्या एक करोड ६८ लाख ७० हजार ७९१ ग्राहकका साथ ३९.३४ प्रतिशत बजार हिस्सा रहेको एनसेलको चेत मसान्तसम्म आइपुग्दा कूल ग्राहक संख्या एक करोड ६९ लाख ६१ हजार ९८ रहेको छ । जुन कूल बजार हिस्साको ४३.८५ प्रतिशत हो ।

त्यस्तै मंसिरमा २० लाख ७९ हजार ९९२ ग्राहक संख्या रहेको स्मार्ट टेलिकमका चैत मसान्तसम्म आइपुग्दा २१ लाख सात हजार ९१२ पुगेका छन् । जसबाट कम्पनीको बजार हिस्सा समेत ४.८५ प्रतिशतबाट बढेर ५.४५ प्रतिशत पुगेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०