close

अब आईएमई पे, फोन पे र कनेक्ट आईपीएसले सर्वसाधारणमा शेयर जारी गर्नुपर्ने

टेकपाना टेकपाना

असार १, २०७७ १८:३५

अब आईएमई पे, फोन पे र कनेक्ट आईपीएसले सर्वसाधारणमा शेयर जारी गर्नुपर्ने

काठमाडौं । भुक्तानी सेवा प्रदायक (पीएसपी) तथा भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) कम्पनीहरुले पनि अब सर्वसाधारणका लागि सेयर (आईपीओ) जारी गर्नुपर्ने भएको छ । भुक्तानी तथा फर्छ्यौट विनियमावली २०७७ जारी गर्दै नियामक नेपाल राष्ट्र बैंकले पब्लिक कम्पनीको रुपमा दर्ता भएका पीएसपी तथा पीएसओले कम्तिमा २० प्रतिशत साधारण शेयर जारी गर्नुपर्ने व्यवस्था गरेको हो ।

यससँगै पब्लिक कम्पनीको रुपमा दर्ता भएको भुक्तानी सेवा प्रदायक कम्पनी आईएमई डिजिटल सोलुसन लिमिटेड, फोन पे र कनेक्ट आईपीएसले आईपीओ जारी गर्नुपर्ने भएको छ । विनियमावली अनुसार कम्पनी स्थापना भएको तीन वर्षपछि सर्वसाधारणमा शेयर जारी गर्नुपर्ने हुन्छ ।

त्यस्तै अब पीएसपी तथा पीएसओ कम्पनीहरुले सञ्चालक समिति समेत गठन गर्नुपर्ने छ । विनियमावली अनुसार अनिवार्य रुपमा तीनदेखि सात सदस्य रहेको सञ्चालक समिति गठन गर्नुपर्ने हुन्छ ।

सञ्चालक समिति गठन भइसकेपछि समिति अध्यक्षले डेपुटी गभर्नर अथवा भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक समक्ष सपथ ग्रहण गर्नुपर्ने व्यवस्था समेत गरिएको छ ।

साथै यस्ता कम्पनीको सञ्चालक तथा प्रमुख कार्यकारीको योग्यता पनि राष्ट्र बैंकले नै निर्धारण गरिदिएको छ । जसअनुसार सञ्चालक समितिका एक तिहाई सदस्यले अर्थशास्त्र वा वाणीज्य, व्यवस्थापन वा जनप्रशासन वा कम्प्युटर इञ्जिनियरिङ वा कम्प्युटर साइन्स वा वाणीज्य कानूनमा स्नातक तह उत्तीर्ण गरेको हुनेपर्ने छ ।

त्यस्ता सदस्यको बैंकिङ, सूचना प्रविधि वा भुक्तानी सेवाको क्षेत्रमा कम्तिमा तीन वर्षको अनुभव हुनेपर्ने समेत उल्लेख छ । राष्ट्र बैंकका अनुसार हाल नेपालमा राष्ट्र बैंकबाट सञ्चालनको अनुमति लिएका भुक्तानी सेवा प्रदाय कम्पनीको संख्या १४ पुगेको छ भने नौ वटा भुक्तानी प्रणाली सञ्चालक रहेका छन् ।

प्राइभेट कम्पनीको रुपमा दर्ता भएका पीएसपी तथा पीएसओले कम्पनी ऐन अनुसार पब्लिक कम्पनीमा रुपान्तरण गरी सर्वसाधारणमा शेयर जारी गर्न सक्ने राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक रेवतिप्रसाद नेपालले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०