close

नुवाकोट, रसुवा, काभ्रे र सिन्धुपाल्चोकमा टेलिकमको निःशूल्क इन्टरनेट थप २ महिनासम्म

टेकपाना टेकपाना

असार २, २०७७ १७:५०

नुवाकोट, रसुवा, काभ्रे र सिन्धुपाल्चोकमा टेलिकमको निःशूल्क इन्टरनेट थप २ महिनासम्म

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकमले) भूकम्प प्रभावित चार जिल्लामा थप दुई महिनासम्म निःशूल्क इन्टरनेट उपलब्ध गराउने निर्णय गरेको छ ।

ग्रामिण दूरसञ्चार कोषको रकम परिचालन गरी भूकम्प प्रभावित जिल्लामा ब्रोडब्याण्ड इन्टरनेट विस्तार गर्ने गरी २१ वैशाख २०७४ मा नेपाल दूरसञ्चार प्राधिकरण र टेलिकमबीच सम्झौता भएको थियो । जसअनुसार टेलिकमले नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका ७६० स्थानमा निःशूल्क रुपमा दुई वर्षसम्मका लागि ब्रोडब्यान्ड इन्टरनेट जडान तथा मर्मतसम्भार सेवा दिनुपर्ने थियो ।

उक्त सम्झौताअनुसार टेलिकमले २०७६ चैत २३ गतेसम्म निःशूल्क रुपमा इन्टरनेट सेवा उपलब्ध गराउनुपर्ने थियो । तर, ती स्थानमा नेपाल सरकारले कोभिड–१९ सँग सम्बन्धित क्वारेन्टाइन स्थल बनाएकाले प्राधिकरणको अनुरोधमा चैत्र २३ गतेदेखि दुई महिनासम्मका लागि सेवा थप गरेको थियो ।

थप गरिएको दुई महिनापछि भने ती स्थानमा निःशूल्क रुपमा इन्टरनेट उपलब्ध गराउने कार्य बन्द गरिएको थियो । तर, प्राधिकरणले हालको अवस्थालाई मध्यनजर गर्दै पुनः निःशूल्क सेवालाई जारी राख्न निर्देशन दिएसँगै टेलिकमले थप दुई महिनासम्म निःशूल्क इन्टरनेट उपलब्ध गराउने निर्णय लिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१