close

सस्तोडिलमा थपियो १२ करोड लगानी, राजधानी बाहिर सेवा विस्तार गर्दै

टेकपाना टेकपाना

असार ३, २०७७ १२:३७

सस्तोडिलमा थपियो १२ करोड लगानी, राजधानी बाहिर सेवा विस्तार गर्दै

काठमाडौं । नेपालको इकमर्स कम्पनी सस्तोडिलमा १२ करोड रुपैयाँभन्दा बढी लगानी थप भएको छ । डोल्मा इम्प्याक्ट फण्डले सस्तो डिलमा उक्त लगानी गर्ने भएको हो ।

हाल सस्तो डिल आन्तरिक शेयरधनीका साथै अन्य क्षेत्रबाट समेत लगानी जुटाउनेक्रममा रहेको छ । सोही अनुरुप डोल्मा इम्प्याक्ट फण्डबाट उक्त लगानी संकलन गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।

उक्त लगानी अबको १८ महिनामा कम्पनीको वार्षिक आम्दानी एक अर्ब रुपैयाँ पुर्‍याउने लक्ष्य हाँसिल गर्ने योजनामा प्रयोग गरिने बताइएको छ ।

डोल्मा इम्प्याक्ट फण्ड नेपालको पहिलो अन्तर्राष्ट्रिय निजी इक्विटी लगानीकर्ता हो । फण्ड सस्तोडिलमा पहिलेदेखि नै एक शेयरधनीको रुपमा रहेको थियो ।

फण्डले सस्तोडिलमा लगानी वृद्धि गर्नका लागि अन्य सेयरधनीहरुसँगै एउटा महत्वपूर्ण लगानीलाई अनुमोदन गरेको कम्पनीले जनाएको छ । सन् २०११ मा स्थापित सस्तोडिल नेपालको लोकप्रिय अनलाइन शपिङ प्लेटफर्म हो ।

कोभिड–१९ को प्रभाव पर्नुभन्दा अगाडि कम्पनीको वृद्धि ३०० प्रतिशतको हाराहारीमा रहेको सस्तोडिलका निर्देशक तथा सीईओ अमुन थापा बताउँछन् । लकडाउनको क्रममा नयाँ ग्राहकहरुको संख्या झन् धेरै बढ्दै गएको उनको भनाई छ ।

थापा भन्छन्, ‘सरकारको नीति अनुसारमा लकडाउनमा ग्राहकका लागि आवश्यक सामग्री पुर्‍याउन हामीले सरकारको एक हिस्सा भएर काम गरेका थियौं । अहिले लकडाउन सहज हुँदै गइरहेको बेला पहिलेभन्दा माग झन् बढ्दै गएको छ । नयाँ लगानीसँगै हामी हाम्रो सेवालाई उपत्यका बाहिरका जिल्लामा समेत तीव्ररुपमा विस्तार गर्ने दिशामा अगाडि बढ्दै छौं ।’

‘आउँदो दिनमा हामीले अन्य कम्पनीसँग पनि साझेदार गर्ने योजना बनाएको छौं,’ उनले भने, ‘यसै क्रममा विदेशी कम्पनीसँगको सहकार्य पनि अघि बढेको छ । उक्त सहकार्य सम्भव भएमा नेपालको इकमर्स क्षेत्रको लागि ‘गेम चेन्जर’ को रुपमा स्थापित हुनेछ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१