close

मोबाइलको गुणस्तर कमजोर रहेका स्थानमा नयाँ टावर थपिने

टेकपाना टेकपाना

असार ३, २०७७ १४:२५

मोबाइलको गुणस्तर कमजोर रहेका स्थानमा नयाँ टावर थपिने

काठमाडौं । अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले मोबाइल तथा दूरसञ्चार सेवाको गुणस्तर कमजोर रहेका स्थानमा नयाँ टावर थप गरिने बताएका छन् । आगामी आर्थिक वर्षको बजेटको विषयमा राष्ट्रिय सभामा जारी छलफलका क्रममा बोल्दै मन्त्री खतिवडाले यस्तो बताएका हुन् ।

खासगरी कर्णाली प्रदेश र सुदूपश्चिम प्रदेशका दार्चुला, मुगु, डोल्पादेखि नजिकैको गोरखा लगायत कमजोर दूरसञ्चार सेवा रहेका स्थानमा सेवाको गुणस्तर वृद्धिका लागि आवश्यक काम गरिने मन्त्री खतिवडाको भनाई छ ।

‘त्यसका लागि हाल मोबाइल सेवाको गुणस्तर कमजोर भएका स्थानहरुमा सर्वेक्षण गरेर टावर निर्माणको कार्य भइरहेको छ,’ उनले भने, ‘अहिले लकडाउनका कारण टावर निर्माणको काममा केही समस्या आएको छ । तर पनि आगामी आर्थिक वर्षमा देशभर फोरजी सेवा पुर्‍याउने गरी काम भइरहेको छ ।’

परियोजना सम्पन्न हुँदा मुलुकभर गुणस्तरीय फोरजी सेवा उपलब्ध हुने भन्दै खतिवडाले दुई वर्षभित्र मुलुकका सबै स्थानमा ब्रोडब्याण्ड इन्टरनेट सेवा पुर्‍याउने गरी सरकारले काम अघि बढाएको बताए ।

उनले भने, ‘यी सबै कुरा डिजिटल नेपालको फ्रेमवर्कको कार्यान्वयनका लागि पनि आधारभूत शर्त हुन् । हामी डिजिटल सरकार र ईकमर्शको कुरा गरिरहेका छौं ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१